काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

खानेपानीको पाइप फुटेर मिसियो दूषित पानी, संक्रमितको संख्या बढ्न सक्ने चेतावनी

८ भाद्र २०८२
वीरगन्जस्थित वीरगन्ज हेल्थ केयरमा बिरामीलाई भुइँमा सुताएर हैजाको उपचार हुँदै। तस्बिरहरू : जियालाल साह/नेपालन्युज।
अ+
अ-

पर्सा। वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा हैजा (कोलेरा)को संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। हैजा फैलिएसँगै अस्पतालहरूमा बिरामीको चाप ह्वात्तै बढेको छ।

महानगरपालिकाका वडा नम्बर ३, ११, १२ र १३ मा अहिलेसम्म ४२ जनामा हैजाको पुष्टि भइसकेको जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिएका छन्। उनका अनुसार हालसम्म अस्पतालमा भर्ना भएका एक सय २९ जनामध्ये ४२ जनामा हैजा पुष्टि भएको हो।

नारायणी अस्पतालमा भर्ना भएका ३३ जनामध्ये १८ मा हैजा पोजेटिभ रिपोर्ट आएको छ भने तराई हस्पिटलमा भर्ना भएका ३५ मध्ये १२ जना, नेसनल मेडिकल कलेजमा भर्ना भएका ३४ मध्ये पाँच जनामा हैजा देखिएको छ। त्यसैगरी अली अर्थो सेन्टरमा चार जना भर्ना भएका मध्ये दुई तथा नारायणी सेन्ट्रलमा भर्ना भएका पाँचमध्ये दुई जना र भवानी हस्पिटलमा दुई जनामा हैजा पुष्टि भएको छ।

सूर्या हस्पिटलमा भर्ना भएका एक जना र वीरगन्ज हेल्थ केयर हस्पिटलमा भर्ना भएका १४ जनाको भने रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य अधिकृत ठाकुरले बताए।

यी बाहेक झाडापखाला र हैजाको शंका लागेका गरी हाल तीन सयभन्दा बढी बिरामी विभिन्न अस्पतालमा उपचाररत रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। बेडको अभाव हुँदा बिरामीलाई भुइँमै राखेर उपचार गर्नु परेको विभिन्न अस्पतालका प्रशासनहरूले जानकारी दिएका छन्।

बढ्न सक्छ जोखिम

बिरामीहरूले नेपाल खानेपानी संस्थानले वितरण गर्ने खानेपानीको पाइप फुटेर दूषित पानी मिसिएको र सोही पानी प्रयोग गरेको बताएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए। वीरगन्जका धेरै टोलमा नालासँगै खानेपानीको पाइप जडान गरिएको, जथाभावी डीप बोरिङ गरिएको र त्यसरी प्राप्त हुने दूषित पानी प्रयोग भएकाले संक्रमण अझै व्यापक हुन सक्ने सिंहले बताए।

खानेपानीमन्त्री प्रदीप यादवले भने शनिबार नै वीरगन्ज पुगेर नारायणी अस्पताल, तराई हस्पिटल र वीरगन्ज हेल्थ केयरलगायतका अस्पतालहरूमा उपचाररत बिरामीहरूको अवस्थाबारे जानकारी लिएका छन्। उनले खानेपानीको स्रोत, सरसफाइ तथा ढल व्यवस्थापनको अवस्था प्रत्यक्ष अवलोकन गरेर त्यसका तत्कालै सुधारको काम थाल्ने आश्वासन दिएका छन्।