काठमाडौं। यस वर्ष धान रोपाइँ घटेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतबारसम्म गत वर्षको तुलनामा ३.६४ प्रतिशत कम रोपाइँ भएको हो।
गत वर्ष यही समयमा मुलुकभर ९८.५४ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९४.९ प्रतिशत भएको विभागले जनाएको छ। विभागको तथ्याङ्कअनुसार मुलुकमा धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ७६ हजार ४६६ हेक्टर रहेकामा हालसम्म १३ लाख ६ हजार २९३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल क्षेत्रफलको ९३.३ प्रतिशत हो।
कोशी प्रदेशमा गत वर्ष शत् प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९७.२४ प्रतिशत रोपाइँ भएको छ। यसैगरी, मधेश प्रदेशमा गत वर्ष ९७ प्रतिशत रोपाइँ भएकामा यस वर्ष भने ८६.३५ प्रतिशत मात्रै रोपाइँ भएको छ।
बागमती प्रदेशमा गत वर्ष ९९ प्रतिशत रोपाइँ भएको थियो। यो वर्ष ९७.२७ प्रतिशत मात्र भएको छ। गण्डकी प्रदेशमा गत वर्ष ९८ प्रतिशत रोपाइँ भएकामा यो वर्ष ९६.६३ प्रतिशत भएको छ। लुम्बिनी प्रदेशमा गत वर्ष ९८ प्रतिशत रोपाइँ भएको थियो भने यो वर्ष ९८.३७ प्रतिशत भएको विभागले जनाएको छ।
यस्तै कर्णाली प्रदेशमा गत वर्ष ९९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९९.७२ प्रतिशत भएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशमा गत वर्ष शत् प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९९.७२ प्रतिशत भएको छ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले यस वर्ष समयमा नै वर्षा हुन नसक्दा धान रोपाइँ कम भएको जानकारी दिए। “वर्षा कम हुँदा मधेश प्रदेशमा अझ ढिलो गरी रोपाइँ सम्पन्न भयो। वर्षा पर्याप्त नहुँदा रोपिसकेको धानलाई सिँचाइ सुविधा पुगेको छैन। यसले यस वर्ष धान उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ,” उनले भने।
मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो। २०८० सालको तुलनामा गत वर्ष ४.०४ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको थियो। २०८१ सालमा कोशी प्रदेशमा १४ लाख ६६ हजार ५१८ मेट्रिक टन, मधेश प्रदेशमा १४ लाख ८० हजार ८३० मेट्रिक टन, बागमती प्रदेशमा चार लाख ९८ हजार ६३२ मेट्रिक टन, गण्डकी प्रदेशमा तीन लाख ७९ हजार ३२ मेट्रिक टन, लुम्बिनी प्रदेशमा १३ लाख ६४ हजार ३१ मेट्रिक टन, कर्णाली प्रदेशमा एक लाख ३० हजार १९१ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ३६ हजार २१२ मेट्रिक टन धान उत्पादन भएको थियो।