गत वैशाखमा भएको नौबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै महासंघ पुनः सडक आन्दोलनमा उत्रिए
काठमाडौँ। विद्यालय शिक्षा विधेयक–२०८० मा आफ्ना माग नसमेटिएको भन्दै नेपाल शिक्षक महासंघले आज (भदौ ९)देखि देशव्यापी आन्दोलन सुरु गरेको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयकले शिक्षकको सेवा सुविधा, स्थायित्व र अधिकार कमजोर बनाएको आरोप लगाए । गत वैशाखमा भएको नौबुँदे सहमति कार्यान्वयन नभएकाले पुनः आन्दोलन गर्नुपरेको उनले बताए ।
महासंघले ०७५, ०७८, ०८० र २०८१/८२ मा भएका सहमति कार्यान्वयन गर्नुपर्ने, अस्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धा प्रणाली कायम गर्नुपर्ने (हालको ६०–४० को सट्टा), आवधिक बढुवा, अध्यापन अनुमतिपत्र नवीकरण, विद्यालय कर्मचारीको तलब–पद समायोजन, बालकक्षा शिक्षकको सेवा सुविधा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकलाई राहत र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण नगर्नुपर्ने माग राखेको छ ।
आन्दोलनको पहिलो चरणमा प्रधानमन्त्री, शिक्षामन्त्री र दलका सचेतकलाई ध्यानाकर्षण गराइनेछ । भदौ ११ देखि २० सम्म देशभर धर्ना कार्यक्रम र भदौ २१ देखि अवरोध तथा विरोध प्रदर्शन गरिने महासंघले जनाएको छ ।