काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

आवरण

सिन्धुपाल्चोकको हिन्दी बजारबाट उदाएका नारायण पौडेल परिवारको अवैध व्यापार र त्रासको स्थलगत रिपोर्ट

१० भाद्र २०८२
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ फुल्पिङकट्टीस्थित हिन्दी बजारमा रहेको पौडेल दाजुभाइको पुर्ख्यौली घर।
अ+
अ-

सिन्धुपाल्चोक। प्रहरीले ४ चैत २०८१ मा काठमाडौंको टोखा नगरपालिका-२ झोरबाट ना७ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लियो। ट्रकबाट २५ करोड ३४ लाखभन्दा बढी रुपैयाँ बराबर अमेरिकी डलर र युरो बरामद भयो। ट्रकसँगै चालक कुसाङ लामा समातिए। उनले उक्त गाडी टोखा-३ ग्रिनल्यान्डस्थित सिन्धु मटेरियल्स प्रालिको गोदामबाट हिँडाएका थिए। त्यस गोदामका सञ्चालकमध्ये एक हुन्, नारायण पौडेल। गोदाम आसपासमै रहेका पौडेल डलर र युरो बरामदपछि तत्काल मोबाइल बन्द गरी सम्पर्कविहीन भए।

राजस्व अनुसन्धान विभागले २ वैशाख २०८२ मा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा विदेशी विनिमय कसुरसम्बन्धी मुद्दा चलायो। न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले त्यसको भोलिपल्ट चालकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो। पौडेल तीन महिना सम्पर्कविहीन भएर एकैचोटि अदालत पुगे। जिल्ला अदालत काठमाडौंले उनलाई गएको ३२ असारमा  ३५ लाख रुपैयाँ धरौटीमा छोड्यो।

विभागका उपनिर्देशक बद्रीकुमार कार्कीका अनुसार चालक भरिया मात्र हुन्। मालिक पौडेल रहेको अनुसन्धानले देखाउँछ। “उनीहरूबीच गोदामबाट ट्रक छुटेपछि पनि अन्तिमपटक कुराकानी भएको कल विवरण अनुसन्धानको मिसिलमा छ। उनी (चालक)सँग बयान लिँदा डलर र युरोका मालिक नारायण हुन् भने,” कार्की भन्छन्।

पौडेल तस्करी आरोपमा मुछिएको यो पहिलो होइन। र, उनी एक्ला पनि होइनन्। उनीसहित चार दाजुभाइकै नाम गैरकानूनी कार्यमा अढाई दशकदेखि पटक-पटक जोडिँदै आएको छ। पाँच भाइमध्ये जेठा ध्रुव, माइँला (निधन भइसकेकाे), साइँला नारायण, काइँला  बच्चु र कान्छा राजकुमार हुन्।

जसको कथा सुरू हुन्छ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ फुल्पिङकट्टीस्थित हिन्दी बजारबाट।

काठमाडौंमा तस्करी, सिन्धुपाल्चोकमा थरथरी

विदेशी मुद्राको अवैध ओसारपसार प्रकरणमा पौडेल फरार रहेको अवस्थामा नेपालन्युजको टोली स्थलगत रिपोर्टिङमा जाँदा चार भाइको साम्राज्य देखियो। नेपालन्युजको सम्पर्कमा आएका स्थानीयवासी कोही पनि यी दाजुभाइको गैरकानूनी कार्यविरुद्ध औपचारिक रूपमा बोल्न तयार भएनन्। थाहा नपाएर होइन, डरले। “उनीहरूबारे स्पष्ट कसैले भन्न चाहँदैन,” फुल्पिङकट्टीका धेरैले भने।

स्थानीयवासीको बुझाइमा यी दाजुभाइले राजनीतिक संरक्षण पाइरहेका छन्। हुन पनि उनीहरू फरक-फरक राजनीतिक दलमा देखिन्छन्। जेठा ध्रुव एमालेमा छन्। माइला बच्चु कांग्रेसमा देखिए पनि जता सहज त्यतै उनको झुकाव रहन्छ। साइँला नारायण र कान्छा राजकुमार एमालेदेखि कांग्रेस हुँदै माओवादीमा पुगेका छन्। उनीहरू माओवादी सिन्धुपाल्चोकका नेता-कार्यकर्ताका रूपमा चिनिन्छन्।

कांग्रेसका स्थानीय एक नेता भन्छन्, “तपाईं जान्न चाहनुहुन्छ भने बुझ्नुहोस्- यो तस्करी धन्दा होइन, यो राजनीतिक फ्रेन्चाइजी हो, हाम्रै पार्टीबाट निर्वाचित जिल्लाका माननीयको इसाराबिना उनीहरू धन्दामा आँटै गर्दैनन्”

“गैरकानूनी धन्दामा सबैजसो पार्टीको संरक्षण चाहिन्छ। त्यसैले सबै पार्टीमा पौडेल दाजुभाइले हात हाले,” फुल्पिङकट्टीका एक चियावाला फुस्फुसाए, “उनीहरूलाई चुनौती दिन आएको भोलिपल्ट भोटेकोशीमा एम्बुलेन्स ठीक पार्नुपर्छ।”

एक स्थानीय नेताका अनुसार उनीहरूको धन्दाविरूद्ध स्थानीय प्रशासनसमेत बोल्दैन। प्रहरीले बेला-बेला आफ्नो काम गर्छ। तर, उनीहरूका ट्रक जति पटक रोकिन्छन् त्यति नै पटक उच्च तह र नेताबाट फोन आउँछ। “तपाईं जान्न चाहनुहुन्छ भने बुझ्नुहोस्- यो तस्करी धन्दा होइन, यो राजनीतिक फ्रेन्चाइजी हो”, कांग्रेसका स्थानीय एक नेताले भने, “हाम्रै पार्टीबाट निर्वाचित जिल्लाका माननीयको इसाराबिना उनीहरू धन्दामा आँटै गर्दैनन्।”

चार भाइको नेटवर्क तातोपानी, काठमाडौं, तराई हुँदै भारत र सिंगापुरसम्म फैलिएको दाबी उनले गरे। “कोभिड-१९ को बेला त नारायणले सिंगापुरमा बसेर समेत चन्दनका ससाना टुक्रा खासा छिराउँथे”, उनी भन्छन्, “अहिले पनि ससाना पिस जान्छन्।”

भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा पौडेल दाजुभाइलाई आफूले चिनेको तर उनीहरूको भित्री व्यवसायबारे विस्तृत जानकारी नरहेको बताउँछन्। “फरक-फरक राजनीतिक पार्टीमा हुनुहुन्छ। व्यवसाय गर्नुहुन्छ भन्नुहुन्छ तर उहाँहरूले के गर्नुहुन्छ, त्यसको भित्री कथा मलाई थाहा छैन”, उनी भन्छन्, “उहाँहरू गाउँतिर त्यति बस्नु पनि हुन्न।”

स्थानीय प्रशासनले भोटेकोशी क्षेत्रका व्यक्तिका गैरकानूनी क्रियाकलापका घटना आफ्नो जानकारीमा लिएको छ। तर, उनीहरूका अन्य गतिविधि थाहा नभएको प्रमुख जिल्ला अधिकारी किरण थापा बताउँछन्। “राजस्व चुहावटको कुरा राजस्व अनुसन्धान विभागले हेर्छ। हामीकहाँ आइपुग्दैन। प्रहरीलाई थाहा हुन्छ। पक्राउ परेका बखतमा जानकारी थाहा हुन्छ”, उनी भन्छन्, “कार्यक्षेत्रको हिसाबले मैले भन्दा त्यस्ता गैरकानूनी कार्य रोक्न प्रहरी र सशस्त्र प्रहरीलाई हामीले निर्देशन दिएकै हुन्छौं।”

पौडेल दाजुभाइले २०५१-५२ सालतिर तातोपानी नाकामा रोल कपडाको व्यापार सुरू गरे। आफूले सबैभन्दा पहिले कपडाको व्यापार थालेको जेठा दाइ ध्रुव सुनाउँछन्। त्यसपछि २०५६ सालमा ऊनको व्यापारमा छिरे। त्यही वर्ष मंसिरमा नाका छलेर माथिल्लो बाटो (लामोसाँघुबाट जिरी) हुँदै ऊन ल्याउँदा भन्सारले नारायण र बच्चुलाई समात्यो। बरामद सामान दुई करोड रुपैयाँजतिको थियो। उनीहरू भन्सार तिरेको कागजात मिलाएर उम्किए।

उनीहरू तातोपानी नाकाबाट ट्रकमा आधा मात्र ऊन ल्याउँथे। ती ट्रक भन्सार जाँचपास भई हिन्दी बजारमा रोकिन्थे। भन्सारले ट्रकमा सिल लगाउने चलन थिएन। खासाबाट स्यालाङकट्टीको बाटो हुँदै अवैध तवरले आउने सामान पनि हिन्दी बजारमा उनीहरूकै गोदाममा झर्थ्यो। त्यो सामान जाँचपास भएर आएका गाडीमा हाल्थे। तब ‘फुल लोडेड’ ट्रक काठमाडौंतर्फ गुड्थे। त्यस बेलाका जानकार भन्छन्, “करोडौं-करोडौंको ऊन ल्याउँथे। बढीजसो गैरकानूनी बाटोबाट हिन्दी बजारमा झार्थे।”

बच्चु आफूहरूले व्यवसाय गरेको स्वीकार गर्छन्। तर, त्यसमा लगाइएका आक्षेप सबै सत्य नभएको दाबी उनी गर्छन्। “मैले गलत काम गरेको छैन। गलत गर्नेलाई कानूनले कारबाही गर्छ। मैले गलत गरेको भए कानूनले कारबाही पक्कै गर्छ। आरोप लगाउनेहरूले के-के विषयमा लगाउँछन् सफाइ दिँदै हिँडेर सकिँदैन”, उनी भन्छन्, “म आफ्नो काम गर्दै आएको छु। खुला हिँडेको छु।”

अनि गाविस अध्यक्ष बने ध्रुव

यो २०५४ साल जेठको कुरा हो। स्थानीय निर्वाचन हुँदै थियो। फुल्पिङकट्टीमा एमालेबाट पौडेल दाजुभाइमध्ये जेठा ध्रुव र कांग्रेसबाट देवीबहादुर बुढाथोकी गाविस अध्यक्ष पदमा उठे। बुढाथोकी नातामा ध्रुवकै भाइ पर्ने हुन्।

तीन भाइले जेठो दाइलाई जिताउन साम-दामदेखि सबै बन्दोबस्त मिलाए। आफ्नै पार्टीका नेता बामदेव गौतम गृहमन्त्री भएको बेला सत्ता-शक्तिको सहारामा त्रासको वातावरण बनाएर परिणाम आफ्नो पक्षमा पार्न भरपूर तयारी गरे।

बुढाथोकी विपक्षीको तयारी बुझ्न १२ जेठको साँझ हिन्दी बजार पुगे। त्यो साँझ उनलाई नारायणले खुकुरी प्रहार गरे। बुढाथोकीको देब्रे हात काटियो। खुकुरीको चोट सहन नसकेर उनी थुचुक्क बसे। नारायण र राजकुमार मिली उनलाई गाडीमा हालेर सखुवा बजार पुर्‍याए। राजकुमारले त्यहाँ छुरा प्रहार गरे। रगतको भल बगिरहँदा फेरि गाडीमा हालेर गाथीतर्फ लगे।

“मलाई मार्न खोज्दा गाथीकै एमालेहरूले विरोध गरे। भोलि चुनाव छ, आज विपक्षी उम्मेदवारलाई एमालेजनकै बीचमा मार्ने? यस्तो मारकाटबाट एमाले उम्मेदवारले चुनाव जित्छ? यस्तो अपराध त सहन सकिन्न नि!”, उनले निकटस्थसँग भन्ने गरेका छन्, “त्यहाँ मेरो फुपाजू पनि हुनुहुन्थ्यो। उहाँले मलाई बचाउन खोज्नुभयो।”

पौडेल दाजुभाइले प्रशासनलाई मुठ्ठीमा राखेकै थिए। माओवादीसँग नजिकिएपछि झन् सजिलो भयो। उनीहरूको नाम २०६२ सालदेखि रक्तचन्दन तस्करीमा जोडियो। भारतबाट ओसारेर चिनियाँलाई बुझाउन थालेको कुरा बाहिरिन थाल्यो।

त्यो समूहमा कर्तव्य ज्यान मुद्दामा १४ वर्ष जेल बसेर छुटेका तेन्जिङ शेर्पासमेत थिए। गाडीमा भरुवा बन्दुक राखिएको थियो। “मलाई मार्न उनलाई पाँच लाख रुपैयाँ सुपारी दिइएको रहेछ”, उनले सुनाउने गरेका छन्।

एमाले कार्यकर्ता नै आफ्नो पक्षमा उभिँदा जोगिएका बुढाथोकीको हात र गर्धनमा साधारण पट्टी फुपाजूले लगाइदिए। उनलाई भोलिपल्ट उपचारका लागि बाह्रबिसे अस्पताल हुँदै काठमाडौंको ओम अस्पताल लगियो। १३ जेठको निर्वाचन रोकियो। नयाँ मिति २३ गते तोकियो। उपचारका टाँका नखोलिँदै बुढाथोकी मतदानस्थलमा पुग्नुपर्‍यो। मतदान भयो। ध्रुवले ८६ मतान्तरले हराए।

“त्यो हार थिएन। मेरो हालत देखेपछि मनोवैज्ञानिक रूपमा मतदातामा भरिएको त्रास ब्यालेटमा पोखिएको थियो”, उनी भन्ने गर्छन्, “मार्ने खेल मतदानस्थलमा हुने त्रासमा रहेका मतदाताले हतियार बर्सिन दिएनन्। त्यसैले त म अहिलेसम्म जीवित छु।”

ध्रुव भने त्यसबेला बुढाथोकीमाथि आक्रमण नै नभएको दाबी गर्छन्। “म चुनावी माहोल बुझ्न वडा नम्बर ८ मा गएको थिएँ। देवीबहादुर हाम्रै आफन्त हुन्। जाँडभट्टीमा भाइ (राजकुमार र नारायण)को भेटघाट भएछ। सामान्य भनाभन र ठेलाठेल भएको हो”, उनी भन्छन्, “राति घरमा आउँदा श्रीमतीले यस्तो भएछ भनेर सुनाइन्। भाइहरूले आक्रमण गरेकै होइनन्।”

बुढाथोकी त्यो घटना सुनाएर आफ्नो जीवनलाई थप संकटमा पार्न चाहँदैनन्। थप आइलाग्ने विघ्नप्रति उनी सचेत छन्। “घर बनाउँदा, गाडी फेर्दा बिटो-बिटो पैसा मान्यलाई बुझाएपछि पौडेल दाजुभाइले इसारामै काम फत्ते गर्छन्”, उनीनिकट व्यक्ति भन्छन्, “२०५६ सालदेखि जितिरहनुभएका हाम्रा मान्यको संगठन छैन। चुनाव जित्न खल्ती कोट्याउन पर्दैन। पौडेल दाजुभाइलाई कन्याउनै परेन।”

सिन्धुपाल्चोकबाट निर्वाचित कांग्रेस सांसद (हाल निलम्बित) मोहनबहादुर बस्नेत यो आरोप अस्वीकार गर्छन्। “पौडेल परिवारमा को कुन दलमा छन्? यो खुलस्त नै छ। नेपाली कांग्रेसले कसैलाई संरक्षण गरेको छैन”, उनी भन्छन्, “गाउँपालिका अध्यक्षको टिकट दुई-दुई पटक कुन दलबाट लिएर लडे? त्यसबाट नै देखिन्छ। उनीहरू माओवादीसँग निकट मात्र हैन, संलग्न नै छन् भन्ने त्यसबाट नै देखिन्छ नि।”

जता शक्ति, उतै भक्ति

पौडेल दाजुभाइ २०५८ सालमा आइपुग्दा माओवादीसँग नजिकिनुपर्ने अवस्थामा पुगे। उक्त दल जतिबेला सशस्त्र संघर्षमा थियो। माओवादी कार्यकर्ताले चन्दा माग्दै गाउँका हुने-खाने र व्यापारीलाई तर्साउँथे। आफ्नो धन्दामा दखल दिने छनक पाएपछि दाजुभाइले माओवादीसँग सम्बन्ध नबनाई धर पाएनन्। उक्त दलबाट अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको कमान्ड सम्हाल्थे।

माओवादीलाई त्यसबेला हतियार चाहिएको थियो भने पौडेल दाजुभाइलाई धन्दा। ऊनभित्र लुकाएर हतियार ल्याएको आरोप उनीहरूलाई लाग्यो। जसले २०६१ सालसम्म हतियार ओसारी दिएको भन्ने गरिन्छ। बन्दुक र गोलाबारी सहजै पाउन थालेपछि माओवादीले पौडेल दाजुभाइको धन्दालाई सहयोग गरिदिए।

पौडेल दाजुभाइले युद्धताका हतियार ल्याएर दिएको आरोप सत्य नरहेको दाबी गर्छन्, सिन्धुपाल्चोकबाट निर्वाचित माओवादी सांसद माधव सापकोटा। “जगजाहेर छ, हामीले चीनबाट हतियार ल्याउँथ्यौं। हतियार लिन गएका हाम्रा तीन कार्यकर्तालाई चीनले मृत्युदण्डको सजाय सुनाएको थियो”, उनी भन्छन्, “पछि अध्यक्ष कमरेड प्रचण्डले चीनका राष्ट्रपतिसँग कुरा गरेर उहाँहरूलाई जिउँदै नेपाल ल्याइएको हो। नारायण हाम्रा पार्टीका सदस्य हिजो पनि होइनन्, आज पनि छैनन्। उनीहरूले हतियार दिए भन्ने कुरा बेकारको कुरा हो।” राजकुमार माओवादीबाट पालिकामा उठ्दा नारायणले सघाएको उनको भनाइ छ।

सापकोटा उनीहरूको तस्करी धन्दाविरुद्ध संसद्‌मा पहिलो पटक बोल्ने व्यक्ति आफू नै रहेको बताउँछन्। “नारायण त्यति धेरै पैसा लिएर हिँड्न सक्ने मान्छे होइनन्। मालिक नेपाली होइनन्। तेस्रो मुलुकबाट ल्याएर अर्को मुलुक लगिँदै थियो”, उनी भन्छन्, “यति धेरै मुद्रा (२५ करोड)को गैरकानूनी कारोबारमा राज्यले गम्भीर अनुसन्धान गरोस्। यसमा उपल्लो तहको मालिक छ।”

रक्तचन्दन तस्करीमा मुछिएको बेला

पौडेल दाजुभाइले प्रशासनलाई मुठ्ठीमा राखेकै थिए। माओवादीसँग नजिकिएपछि झन् सजिलो भयो। उनीहरूको नाम २०६२ सालदेखि रक्तचन्दन तस्करीमा जोडियो। भारतबाट ओसारेर चिनियाँलाई बुझाउन थालेको कुरा बाहिरिन थाल्यो। जानकारका अनुसार ट्रकमा फ्लस बटन बनाई पाँच-दस फिटका मुढा ल्याएर हिन्दी बजारमा झार्थे। त्यसपछि सेलाङकट्टीको बाटो हुँदै खासा कटाउँथे। “रक्तचन्दन लिन बस नै लिएर जान्थे भन्नेसम्म सुनियो”, बाह्रबिसेका अर्का कांग्रेस नेता भन्छन्।

२०६२/६३ को जनआन्दोलनमा सडक ठप्प भयो। “पौडेल दाजुभाइका रोकिएका सामानधारी २०-२५ ट्रक त माओवादीले स्कर्टिङ गरी रातारात सिन्धुपाल्चोकबाट काभ्रे हुँदै काठमाडौं पुर्‍याएको कतै छिपेको छैन”, ती नेताको दाबी छ।

रक्तचन्दन चीन पठाउँदा २०६४ सालमा त्यसविरुद्ध भोटेकोशीका बासिन्दा नै उत्रिए। उनीहरूले हिन्दी बजार अगाडि तातोपानीतर्फको सडकमै सुतेर अवरोध गरे। प्रहरी-प्रशासन त्यो अवरोध हटाउन पुगेन। नारायणले गोली चलाए। एक युवा घाइते भए।

“जब ट्रकहरू नाका कटे, गोली चलेर सन्नाटा छाएको वातावरणमा प्रहरी पुग्यो”, त्यो घटनाका एक प्रत्यक्षदर्शी भन्छन्, “गोली लागेर घाइते भएका युवा निको भएपछि पौडेलहरूकै भरिया बनेको देखें।”

२०६६-६७ सालतिरको कुरा हो। यी दाजुभाइले खासामा चार टिप चन्दनका ट्रक लिएर चिनियाँलाई जिम्मा लगाए। चिनियाँले हिसाब-किताब मिलाउन बाँकी छँदै ट्रक गायब पारिदिए। उनीहरू तब तर्सिए। त्यताको सम्बन्ध बिग्रिएपछि प्रहरी-प्रशासनसँग सेटिङ मिलाउन थाले। सेटिङ मिल्दा चन्दन सजिलै कट्थ्यो। नमिल्दा लफडा हुन्थ्यो।

भदौ २०६९ को कुरा हो। सिन्धुपाल्चोकमा डीएसपी प्रताप गुरुङ थिए। उनी नेतृत्वको टोलीले फुल्पिङकट्टी नारायणस्थानको जंगलमा चन्दन भण्डारण गरेको सूचना पछ्याउँदै उक्त स्थान घेरा हाल्यो। रक्तचन्दन लोड गरिरहेको अवस्थामा बा२ख ८८६७ नम्बरको गाडीसहित ६ मुढा बरामद भयो। प्रहरी पुनः अघि बढ्ने क्रममा स्यालाङकट्टीमा भरिया समूहसँग जम्काभेट भयो। चन्दन ओसारपसार गरिरहेकाहरूसहित करिब ५० जनाले भाला र खुकुरी देखाउँदै ढुंगामुढा गरे। प्रहरीले चलाएको गोली लागी चन्दनका भरिया विवेक श्रेष्ठको घटनास्थलमै ज्यान गयो। चन्दन भरिया र ओसारपसार गरिरहेकाहरू भागे। करिब १ हजार ५ सय किलोबराबर ७१ मुढा चन्दन बरामद भयो।

त्यस प्रकरणमा ध्रुवको नाम जोडियो। उनी पक्राउ परे। तर, उनीविरूद्ध चन्दनको अवैध कारोबारमा नभई हातहतियार तथा खरखजाना मुद्दा चलाइयो। जुन जिल्ला प्रशासन कार्यालयले हेर्थ्यो। उनी ३० हजार रुपैयाँ धरौटी बुझाएर १५ दिनमा छुटे।

भोटेकोशी गाउँपालिका-४ फुल्पिङकट्टीस्थित हिन्दी बजार । तस्बिर : खिलानाथ ढकाल/नेपालन्युज

“त्यो घटना भएको दिन म गाउँमै थिएँ। एक जना लार्चातिरको इन्स्पेक्टर थिए। रातमा घटना भएछ। मैले भोलिपल्ट मात्रै थाहा पाएँ। चौताराबाटै प्रहरी आएर बसेका रहेछन्। एक जना मान्छे मरेको पनि रहेछ। प्रहरीले रक्तचन्दन गाडीमा राखेर लग्यो”, ध्रुव भन्छन्, “म ठेक्कापट्टामा लागेको मान्छे। बागलुङमा काम थियो। त्यो घटना घटेको तीन दिनपछि गाउँबाट बागलुङ हिँडें।”

बागलुङबाट फर्किंदा दशैं बिदाको अघिल्लो दिन आफूलाई पक्राउ गरिएको उनको भनाइ छ। “बन्देउमा आइपुगेपछि केही कुरा बुझ्नु छ भनी डीएसपीले चौतारा बोलाएपछि गएँ”, उनी भन्छन्, “डीएसपीले डीआईजी साबको आदेश पालना गरेको हुँ भने। भोलिपल्ट मलाई हातहतियार तथा खरखजाना मुद्दामा सीडीओ कार्यालय पेस गरियो।”

जिल्ला प्रशासनले प्रारम्भिक चरणमा ३० हजार धरौटीमा रिहा गरेको उनी सुनाउँछन्। “सीडीओमा दुई-चार तारिख बोकें। पछि सीडीओले गलत आक्षेप लगाइएको रहेछ, सफाइ दिएको छु भन्नुभयो”, ध्रुव भन्छन्, “म न त्यस्तो काम गर्छु। भोटेकोशीका अधिकांश मान्छे चीन तरिसके। मैले त आजसम्म पासपोर्ट पनि बनाएको छैन। म तातोपानीका चिनियाँको व्यवहार सहन नसक्ने हुँ।”

आफूले गाविस अध्यक्ष चुनिएपछि २०५४ सालदेखि कपडा र ऊनको व्यापार छाडेको उनको भनाइ छ। “बीचको समयमा म गाविस अध्यक्ष भएँ। पछि म निर्माण व्यवसायमा हामफालेको मान्छे”, ध्रुव भन्छन्, “तर, मलाई व्यवसाय छोडेर निर्माणतिर लाग्दा पनि आरोप लगाइने गरियो। आरोप जे लगाए नि हुने रहेछ। प्रमाण चाहिएन।”

सिन्धुपाल्चोकमा २०६८ सालमा पोस्टिङ हुँदा भोटेकोशीमा चन्दनका मुढा घरपिच्छे भेटिने गरेको अनुभव सुनाउँछन्, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक वसन्त लामा। “मैले १०० क्विन्टलजति चन्दन समातें। घरघरै चन्दनका मुढा भेटिन्थे। कसले ओसार्थ्यो मान्छे भेटिनँ”, उनी भन्छन्।

हुन्डी कारोबार हुँदै सुनसम्म

भारतको राजनीतिमा २०७१ सालमा फेरबदल आयो। भाजपाले बहुमत ल्यायो। उक्त दलबाट नरेन्द्र मोदी प्रधानमन्त्री बने। उनले चन्दनमा कडाइ थाले। पौडेल दाजुभाइले थोरै परिमाणमा भए पनि चन्दन भित्र्याइरहे। “सानो-सानो परिमाणमा चन्दन चीन गइरह्यो”, बाह्रबिसेकै एक व्यवसायी  भन्छन्, “चन्दनको धन्दामा मन्दी आएपछि पौडेल दाजुभाइ डलरको हुन्डीमा केन्द्रित भए।”

उनीहरू चीनबाट ऊन आयात गर्ने भन्दै बैंकबाट एलसी (प्रतीतपत्र) खोल्थे। तर, ऊन ल्याउँदैनथे। ऊन ल्याएको कागजात बनाएर बैंकबाट डलर निकाल्थे। डलर हुन्डी गरी चीन-हङकङ पठाउँथे। त्यो डलर सुनमा परिणत भएर चीनका नाका हुँदै नेपाल भित्रिन्थ्यो। त्यो सुनको खपत नेपालमा थिएन, भारत पुग्थ्यो।

२०६७ सालको कुरा हो। नारायण ऊन ल्याएको कागजात बनाएर ४७ करोड डलर (नेपालीमा रूपान्तरित) हुन्डीमार्फत हङकङ पठाएको आरोपमा पक्राउ परेका थिए। उनी १५ महिना जेल बसेर छुटे। “डलर त थुप्रै थियो भनिन्छ। तर, ४७ करोड (नेपाली) मात्रै देखिएको प्रतिवेदन देखिएको आधारमा नारायण जेल परे”, ती व्यवसायी भन्छन्, “जेल परेर छुटेपछि पनि नारायणको धन्दा रोकिएन।”

राजकुमार २०७४ सालमा २२ किलो सुन तस्करीमा मुछिए। उनी त्यतिबेला भोटेकोशी गाउँपालिका अध्यक्ष थिए। टोखामा उनी बस्ने घरबाटै सुन बरामद भएको सुनाउँछन्, पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक पुष्कर कार्की।

राजकुमार एक लाख रुपैयाँ धरौटीमा छुटे। उनीविरुद्धको आरोप सामान्य थिएन। संगठित गिरोह नै खडा गरी सुनको गैरकानूनी ओसारपसार गरेको निष्कर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले निकालेको थियो। पेम्बा दोर्जेबाट १४ किलो, विष्णु गौतमबाट एक किलो बरामद भएको थियो। बाँकी सात किलो बेचिसकेको अनुसन्धानबाट खुलेको थियो।

१२ जनाको सञ्जाल तयार गरिँदा नेपाल, चीन र काठमाडौंको त्रिकोणभित्र बाँधिएको एउटा गम्भीर चक्रमा राजकुमार मुछिएका थिए। कार्कीका अनुसार विच्याटमा बोलिने भाषा नेपाली थिएन। कोड थियो। राजकुमारको आईडी थियो- आरआरआर। उनी चिनियाँ नागरिक गाम्फे भोटे र उनकी पत्नी छेतेनसँग प्रत्यक्ष संवादमा थिए। दोर्जेले राजकुमारलाई कति पोका सुन आएको हो? कसले लगेको हो? भनेर मेसेज गरेका थिए। भोइस मेसेजको फरेन्सिक रिपोर्टले राजकुमारकै आवाज मिलेको देखायो।

दोर्जे र गौतम अदालतबाट दोषी ठहरिए। दुई वर्ष कैद तोकियो। राजकुमार र अन्य १० जनाले सफाइ पाए। राजकुमारबारे न्यायालयले प्रमाण नपुगेको ठहर गर्‍यो। उनी २०७९ सालको चुनावमा माओवादीबाट भोटेकोशी गाउँपालिकामा उठे। कांग्रेसका शेर्पासँग पराजित भए।

नारायण र बच्चु २०७४ सालमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन प्रकरणमा जोडिए पनि मुद्दामा तानिएनन्। त्यसबारे नेपालन्युज ले धेरै पटक जिज्ञासा राख्दा राजकुमार छलिए। बच्चु जंगिए। “यो कानून नभएको देशमा जसले जे भने पनि भयो। पत्रकार त न्यायाधीश भइगए। जे लेखे भो”, उनले आक्रोश पोखे।

डलर र युरो तस्करी प्रकरणको लहरो कहाँसम्म?

प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको ना७ख १६५२ नम्बरको ट्रकमा चालक बस्ने सिटभन्दा माथि ‘फ्लस बटन’ थियो। त्यो खोल्दा डलर र युरो बिटा-बिटा खसे। चालक लामाले त्यो गाडी चीनबाट आयात गरिएका कपडा लिन रसुवा जाँदै गरेको बताए। उनी साँझ ६ बजे ट्रक लिएर गोदाममा पुगेका थिए। त्यस बेलासम्म गोदामभित्रै थिए नारायण। नारायणसँगै थिए उनका लेखापाल/चालक हरिबहादुर भण्डारी। जहाँ अर्का व्यक्ति पनि थिए। नारायणले चिनाए, ‘यो मेरो केटो हो।’

लामा ती मान्छेबारे बयानमा बोल्नै सकेनन्। ‘ती व्यक्ति को हुन् मैले चिनिनँ। नारायण सोध्दै थिए- ए केटा काम सकियो?’, उनले बयानमा भनेका छन्।

उनले गोदामबाट रसुवा हिँड्नुअघि ट्रक चार ठाउँ डुलाइसकेका रहेछन् – चन्द्रागिरिको ग्यारेज, ठिमीको सर्भिस सेन्टर, नयाँपाटीको पार्किङ अनि जोरपाटी शंकर अस्पतालनजिक। त्यसरी ट्रक सबै परिपञ्चबाट सजिलोसँग रसुवा हिँडाइएको थियो। सुन ल्याउन डलर-युरो लगिएको आशंका थियो। तर, सूचना चुहियो। पक्राउपछि लामाले भनेका थिए, ‘पैसा कहाँबाट आयो भन्ने थाहा छैन। तर नारायणकै हो। कालो वर्णका को थिए? चिन्नै सकिनँ।’

विभागले अनुसन्धान गर्दा नारायण, लेखापाल भण्डारी र नारायणको परिवारका सदस्यको संवाद एकपछि अर्को गरेर लहरै आयो। ट्रक समात्नुअघि नारायण र उनकी श्रीमती युनिता खत्रीबीच १ सय ६९ पटक फोन सम्पर्क भएको अभियोग पत्रमा उल्लेख छ। त्यही आसपास भण्डारीसँग २ सय ६७ पटक फोन गरेको देखिन्छ। छोरा दीपेशसँग २ सय १३, सगुन केसीसँग ७३ र सरोज कोइरालासँग २० पटक फोन गरेको देखिएको छ।

चालक समातिनुअघि र पछि नारायणको सम्पर्क कोइरालासँग भएको अनुसन्धानले देखाएको छ। कोइरालाले आफूलाई नारायणले होटलको कोठाबारे बुझ्न फोन गरेको बयान विभागमा दिएका छन्। आफू पाहुना आएको बखत नारायणले फोन गरेको दाबी गर्दै बयान दिएका छन्। कोइराला राजकुमारको लेखापालका रूपमा काम गर्थे भन्नेसम्म अनुसन्धानमा देखिन्छ।

यो सम्पर्क विवरणले डलर तथा युरो तस्करीमा संलग्नताको सुई पौडेल परिवारतर्फ नै तेर्स्याउँछ। जसै ट्रक समातियो, नारायणको मोबाइल बन्द भयो। उनले फोनमा बोलेको अन्तिम ठाउँ टोखा बालकुमारी मन्दिर देखिएको छ। डलर-युरो बरामदपछि प्रहरी उनको टोखा-१० महादेवटारको हाइटस्थित घरमा पुग्यो। उनी सपरिवार भेटिएनन्। भण्डारी कहाँ गए भन्ने पत्तो छैन। कोठा जाँच गर्दा ५०० दरका भारु ४७ थान फेला पर्‍यो।

विभागले नारायणको घरमा काम गर्ने महिलासँग बयान लियो। उनले आफू चार महिनादेखि श्रीमानसहित उक्त घरमा खाना पकाउन र सरसफाइ गर्न गएको बताएकी छन्। त्यो घरमा लेखापाल/चालक भण्डारी पनि बस्थे। कामदार महिला दम्पती घरभित्रै बनाइएको टहरोमा बस्थे।

प्रहरीले नियन्त्रणमा लिएको ना७ख १६५२ नम्बरको ट्रकको ‘फ्लस बटन’ मा डलर र युरो भेटिएको थियो, जसका मालिक नारायण पौडेल रहेको खुलेको थियो।

‘नारायण पौडेल, उनको परिवारजस्तै गरी बस्ने युनिता खत्री र छोरा दीपेश चैतको पहिलो साताबाटै घरमा छैनन्’, उनले बयानमा भनेकी छन्, ‘नारायण घरबाट हिँडेको बिहान मैले सबैलाई खाना पकाएँ। नारायण खाना नखाएरै बाहिर निस्किनुभो। युनिताले घरबाट निस्किँदा घर राम्रोसँग हेर्नू भनी गएकी हुन्।’

उनले यदाकदा नारायणको घरमा चिनियाँ नागरिक आउने गरेको बताएकी छन्। चीनतिर नारायणको सम्बन्ध छ। उनकी श्रीमती (बितिसकेकी) तिब्बती थिइन्। तिब्बती बिहे गरेर मात्रै नारायणको सम्बन्ध चिनियाँसँग भएको भने होइन।

नारायण पछिल्लो घटनामा अग्रपंक्तिमा देखिए पनि पछाडिबाट पूरा रणनीति दाजुभाइबीच बाँडिएको हुन सक्ने अनुमान प्रहरीको छ। “विदेशी मुद्राको अनुसन्धान हामीले गर्न पाउँदैनौं। बरामद भएलगत्तै राजस्वलाई बुझाउनुपर्छ”, उक्त ट्रक नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत भन्छन्, “आफूले अनुसन्धान नगरेको विषयमा केही भन्न सकिँदैन।”

चालक लामा २०७३ सालमा पनि सात किलो सुनसहित पक्राउ परेका थिए। अदालतले पाँच वर्ष कैद सजाय सुनायो। त्यो सुन नारायणकै भएको दाबी गर्नेहरू छन्। तर, लामाले नारायणसँगको सम्बन्ध र सुनबारे त्यतिबेला खुलाएनन्। “त्यति बेलाको सुन पनि नारायणकै हो भनिन्थ्यो”, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृत भन्छन्।

२५ करोड रकम बरामद प्रकरणमा थुप्रै व्यक्तिको नाम जोडियो। मुद्दामा भने दुई जना मात्र तानिए। घटनाका बेला नारायणसँग सघन सम्पर्कमा देखिएका परिवारका कसैलाई पनि प्रतिवादी बनाइएको छैन। गोदामका थप तीन सञ्चालकदेखि लेखापालसम्म पनि प्रतिवादी छैनन्। बाह्रबिसे-४ का वडाध्यक्षसमेत रहेका सिन्धु मेटेरियल्स प्रालिका सञ्चालकमध्ये एक जीवनकुमार भण्डारी र लेखापाल/चालक भण्डारीका हकमा राजस्वले ‘पछि देखिएबमोजिम अभियोजन गर्ने’ भनेको छ।

विभागले वडाध्यक्ष भण्डारीसँग बयान लिएको थियो। उनले सिन्धु मेटेरियल्समा नारायण, आफू, बाह्रबिसे-३ कै हरिबहादुर भण्डारी र तुलसी भण्डारी सञ्चालक रहेको बताएका छन्। ‘सिन्धु मेटेरियल्समा रोकेको ट्रकबारे मलाई जानकारी छैन’, उनले बयानमा भनेका छन्। जीवनकुमार र हरिबहादुर दाजुभाइ हुन्।

नारायण र बच्चु यदाकदा पक्राउ परिरहेकै छन्। नारायण २०७७ सालमा आफ्नै घरमा जुवा खेलिरहँदा पक्राउ परेका थिए। बच्चु हुन्डी कारोबारमा नाम आइरहने व्यक्ति हुन्। उनीहरू दुवै हिमालय सीमापार व्यापार संघका अध्यक्ष भइसकेका व्यक्ति हुन्।

विभागका उपनिर्देशक कार्कीका अनुसार चालकले वडाध्यक्ष जीवन, लेखापाल भण्डारी नारायणका चालक मात्रै रहेको र यो प्रकरणमा उनको भूमिका छैन भनी बयान दिएकाले तत्काल प्रतिवादी नबनाइएको हो। “जहाँसम्म नारायणकी श्रीमती भनिएकी युनिता खत्री र उनका छोरा दीपेशसँग घटना भएका बेला भएको कुराकानी पारिवारिकसमेत हुन सक्ने भएकाले प्रतिवादी बनाइएन”, उनी भन्छन्।

कार्कीका भनाइमा यो प्रकरणको अनुसन्धान पूर्ण भइसकेको होइन। बृहत् अनुसन्धान जारी छ। राजस्व चुहावटमा पनि अनुसन्धान भइरहेको छ। “हामीले यो मुद्दा अभियोजन गर्नुअघि महान्यायाधिवक्ता र सरकारी वकिल कार्यालयसँग कुराकानी, परामर्श र समन्वय गर्‍यौं। यो प्रकरणलाई थप अनुसन्धानमा राख्ने, पछि खुलेर आउँदा अभियोजन गर्दै जाने सल्लाह र निर्णय भएको छ”, उनी भन्छन्, “बृहत् अनुसन्धानमा पछि देखिँदै जाँदा समेटेर अभियोजन गर्ने बाटो खुला राखेर अदालतमा मुद्दा बुझाइएको हो।”

नारायण र बच्चु यदाकदा पक्राउ परिरहेकै छन्। नारायण २०७७ सालमा आफ्नै घरमा जुवा खेलिरहँदा पक्राउ परेका थिए। बच्चु हुन्डी कारोबारमा नाम आइरहने व्यक्ति हुन्। उनीहरू दुवै हिमालय सीमापार व्यापार संघका अध्यक्ष भइसकेका व्यक्ति हुन्। बच्चुको नेतृत्वमा कन्टेनर सहकारी संस्था छ। उनले सहकारीबाट निकालेको पैसा हुन्डी गर्ने गरेको आरोप छ। उनको न्युरोड जयरत्न नाम गरेको अर्को सहकारी पनि छ।

“हेर्नुस् म गाउँमै बस्छु। भाइहरू (राजकुमार र नारायण) काठमाडौं बस्छन्। त्यो डलर बरामद भएकोबारे मैले पनि मिडियाबाटै सुनेको हुँ। फोन गर्दा भाइसँग सम्पर्क हुन सकेको छैन”, ध्रुव भन्छन्, “हामी चार दाजुभाइमाथि एकपक्षीय आरोप लगाइने गरेको छ। आरोप धेरै पटक लगाइएको छ। लगाउन त पाइयो। तर चार्ज लगाउनेबित्तिकै अपराधी भइँदैन नि!”

धरौटीमा छुटेपछि नारायण दाजुभाइको सम्पर्कमा छैनन्। “अदालतबाट धरौटीमा छुटेको भोलिपल्ट भेट भएको थियो, त्यसपछि भेटघाट छैन, फोन नम्बर पनि छैन,” राजकुमार भन्छन्।