बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सोमबार पेश गरेको निवेदनको सुनुवाइ आज हुने भएको छ।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेको निवेदन उच्च अदालत बुटवलका न्यायाधीश सागर विष्टको एकल इजलासमा ४ नम्बरमा सुनुवाइ हुने जनाइएको छ।
जिल्ला अदालत रुपन्देहीले सहकारीमा भएको अपचलनको आफ्नै भागको बिगो रकम बुझाए पनि उनलाई रिहा नगरेपछि लामिछानेले उच्च अदालतमा पुनः निवेदन पेश गरेका थिए। उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, निवेदनको आजै सुनुवाइ हुने सम्भावना रहेको छ।
अघिल्लो पटक लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरी सहकारी ठगी मुद्दाबाट छुटकारा पाउन जिल्ला अदालतमा निवेदन दिएका थिए। तर, जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते निवेदन अस्वीकार गर्दै रिहा नगर्ने फैसला गरेको थियो।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएको छ।