काठमाडौं। अदालतले राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार पाँडेलाई बिहीबार काठमाडौं जिल्ला अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
“साइबर अपराध सम्बन्धी मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ,” अवस्थीले भने।
पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुर्व्यवहार गरेको आरोप छ। ती महिलाले उजुरी दिएपछि बुधबार प्रहरीले पाँडेलाई कार्यालयमा बोलाएको थियो। कार्यालय आएका पाँडेलाई नियन्त्रणमा लिएर प्रहरीले हिरासतमा राखेको थियो।
“उहाँले इमेल र ह्वाट्सएपबाट म्यासेज पठाएर कुराकानी गर्ने, त्यही सिलसिलामा चरित्रमा आँच आउने खालका शब्द प्रयोग गर्ने (यौन दुर्व्यवहार) गरेको उजुरी छ,” अवस्थीले भने।
पाँडेसँग बुधबार साँझबाटै प्रहरीले बयान लिएको थियो। बयान लिने काम जारी नै रहेको अवस्थीले बताए।
पाँडे राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वकेन्द्रीय सदस्य हुन्। २०८० सालमा उक्त पार्टी सरकारमा हुँदा उनी राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएका थिए।