डडेलधुरा। डडेलधुराको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत ४२ वर्षीय गणेशबहादुर साउदको मृत्यु भएपछि मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बिहान ९ बजे ठाँटा बजारबाट डडेल्धुुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो । मृत्यु हुनेमा नवदुर्गा– ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए ।
त्यसैगरी घाइते हुनेमा सोही वडाका १८ वर्षीया सुशीला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र वर्ष ४ की प्रतिका पार्की छन् ।
घाइते चालक रामबहादुर साउदलाई थप उपचारका लागि भारत लगिएको छ।