काठमाडौँ। अस्ट्रेलियामा अभ्यास टुरमा रहेको नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलियालाई १४७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिलो ब्याटिङ गर्ने अवसर पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन जोड्यो।
नेपालका लागि पुछारमा सार्कीले ३२ रन बनाए। ओपनर आशिफ शेखले १३ बलमा २२ रन जोडेका थिए भने दिपेन्द्र सिंह ऐरीले २६ र आरिफ शेखले २१ रन थपे। सोमपाल कामी १८ र सन्दीप लामिछाने ५ रनमा नटआउट रहे। अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
साउथ अस्ट्रेलियाका टि ब्राउन र एच मानिन्तीले समान २-२ विकेट लिए भने एम सि फेडेन र मिनिजले १/१ विकेट लिए।
नेपालले यसअघि डार्विनमा टप एन्ड टी-२० सिरिज खेलेको थियो, जहाँ १० टोलीबीचको प्रतिस्पर्धामा २ खेल जितेर आठौँ स्थान हासिल गरेको थियो। नेपाली टोलीले दोस्रो टी-२० खेल शुक्रबार खेल्नेछ र शनिबार साउथ अस्ट्रेलियासँग एकदिवसीय अभ्यास खेल्ने योजना छ।