नीति निर्माण तहका मानिसलाई महिलाका समस्या समस्याजस्तै नलाग्नु करिब २८ प्रतिशत कामकाजी महिलाको उपस्थितिलाई आँखा चिम्लिनु हो।
आफ्नो १२ औं जन्मदिन मनाएको केही महिनापछि म दोस्रो पटक महिनावारी भएँ। केही असहज महसुस भएर बाथरूम पसेकी मात्रै के थिएँ, आत्तिएर बाहिर निस्केँ। “ममी, छिटो आउनू न…, ” काँपेको स्वरमा मैले भने, “मेरो कलेजो निस्क्यो।”
ममी बाथरूमभित्र पस्नुभयो। भुइँमा मैले प्रयोग गरेको प्याड थियो। प्याडमा फिक्का कलेजी रंगको जमेको एकढिक्का आलो रगत थियो। “कलेजो होइन यो, जमेको रगत हो; कहिलेकाहीँ जीउमा पानी कम हुँदा पनि यस्तो हुन्छ।” ममीले मैले संकट मानेको अवस्थालाई मेटाइदिनुभयो। तर मेरो कुरालाई मैले जत्तिको गम्भीर रूपमा किन नलिनुभएको होला भनेर म निकैबेर एक्लै बाथरूमभित्रै उभिइरहेँ।
त्यो घटना सम्झँदा आफ्नो अबोधपनमाथि अहिले पनि मलाई हाँसो लाग्छ। तर, भर्खर दोस्रो पटक महिनावारी हुँदै गर्दाको त्यो क्षण असाध्यै भयानक थियो। रगतले स्वरूप बदलेर अत्याउँछ भन्ने पहिलोपटक थाहा पाएकी थिएँ। पहिलोपटक महिनावारीका बेलाको लामो गुप्तवासमा त्यस्ता जटिलताबारे कसैले सिकाइदिएका थिएनन्। यस्ता सामान्य कुराको ज्ञान भएको भए उतिबेला म पक्कै त्यसरी आत्तिने थिइनँ। महिनावारीका कुरा जसरी आइपर्छ, त्यसरी नै सिक्दै जाने हो भन्ने सोचिँदो रहेछ। तर महिनावारी सुरु हुने उमेरको कलिलो मस्तिष्कका लागि यी जटिलता बुझ्न सजिलो पक्कै हुँदैन।
कक्षा ६ मा पहिलोपटक महिनावारी हुँदा स्यानिटरी प्याड प्रयोग गर्न नजानेर मलाई असाध्यै अप्ठेरो परेको थियो। प्याकेटमा हेरेर जसोतसो प्रयोग गरे पनि सही तरिका सोध्ने आँट गरिनँ। कक्षा ७ मा महिनावारीको पढाइ भयो। त्यो पाठ पढाउँदा शिक्षक खुब अनकनाएका थिए। पाठ्यपुस्तकमै पढेपछि त अब महिनावारीसँग जुध्न सहज होला भन्ने लागेको थियो। तर त्यस्तो भएन। किताबको पाठले समस्या सम्बोधन गर्न केही सघाएन। मैले थुप्रै समस्या भोगेँ।
दोस्रो महिनावारीमा असाध्यै पेट दुखेपछि दिदीले पानीमा नुन, बेसार र पुदिना उमालेर दिई। दुखाइ चटक्कै निको भयो। यो उपाय सायद दिदीले पनि आफ्नै भोगाइबाट सिकेकी थिई। हरेक पटकको दुखाइमा त्यही उपाय काम नआउने रहेछ। यस्ता उपायबारे कहिल्यै पढाइ भएन।
कलेज पढ्दा एउटी साथीले गोप्य अंगमा संक्रमणको समस्या भइराख्दा ‘भजाइनल–वास प्रयोग गर्छु’ भन्थिन्। यस्ता समस्या पर्दा लाजले हामी डाक्टरकहाँ जादैनौं। बरु बजारका कस्मेटिकलाई आँखा चिम्लेर विश्वास गर्छौं। एकपटक संक्रमण हुँदा के गर्ने भनेर म अन्योलमा परेँ। सार्वजनिक रूपमा अवान्छित विषयको समस्यासँग जुध्नुपरेपछि आफ्नो शरीर चिन्ने प्रक्रिया असजिलो र शरमलाग्दो हुँदो रहेछ। यो प्रक्रिया सजिलो होस् भनेर स्वास्थ्यका किताब तयार गरिएको हो। दुःखको कुरा, यी किताबले हामीलाई न शरीर चिनाउन, न त यसका समस्या सुल्झाउन सघाए। किशोरावस्था बुझ्न तयार पारिएका यी पाठले शरीर संरचनाका जटिल विषय समेटे पनि साधारण व्यावहारिक समस्या सम्बोधन गर्न चुकेका छन्।
पञ्चमीका दिन नुहाउन जाँदा खोलाले बगाएर महिला र बालिकाहरूको मृत्यु भएका समाचार हरेक वर्ष छापिन्छन्। ती समाचार बिनाकुनै चासो बिलाउँछन्।
पहिलो महिनावारीअगावै पञ्चमी पूजाका लागि सिरू झारहरू चिनाउनुको साटो आफ्नो शरीर दैनिक सफा गरेर भित्री लुगा फेरे मात्र पनि संक्रमणबाट धेरै हदसम्म जोगिन सकिने सिकाइदिएको भए वा दाइभाइले देख्ने ठाउँमा धोएका कट्टु, कपडाको टालो नसुकाउन भन्नुको सट्टा मज्जाले घाम पर्ने ठाउँमा सुकाउन सल्लाह दिएको भए मजस्ता किशोरीको आफ्नै शरीर हेर्ने दृष्टिकोण निकै सकारात्मक हुन्थ्यो। त्यस्तो ‘ग्रुमिङ’ले आत्मविश्वास बढ्ने थियो। यसबाहेक परिवारले दतिवन लगाउने सिकाउँछ, जसको महिनावारीसँग कुनै सम्बन्ध छैन। महिनावारी सुरु भएदेखि अझैसम्म तीजको व्रत नबसे पनि दतिवनचाहिँ लगाएर छोइछाइ गरेको पाप कट्टा गर्नुपर्ने सामाजिक उर्दी मैले सुन्दै आएकी छु।
स्कुलबाट शैक्षिक भ्रमणमा जाँदा १५ वर्षकी साथीले मन्दिर जानकै लागि आमाले दिएको महिनावारी पछि सार्ने हानिकारक चक्की चार दिन लगातार खाएकी थिई। स्वास्थ्यलाई उसले मन्दिर जाने अवसरसँग साटेकी थिई। छोरीहरूलाई यस्तो सिकाउने मात्र हैन, रजनोवृत्ति आसपास पुगेका आमाहरू पनि निर्धक्क यी औषधि सेवन गर्छन्। बिहेवारी, चाडबाड, पूजाआजा आदि ‘नबिटुल्याउनै’का लागि यसरी महिनावारी सार्नु सामान्य बनेको छ। ती चक्कीले मासिक चक्र खलबल्याएर निम्त्याउने असरबारे भने बेखबर छन्।
‘शुद्धता’का लागि आफू र आफ्ना छोरीहरूको स्वास्थ्य जोखिममा पार्ने ‘पाप’ कर्मकाण्डमार्फत समाजमा जबरजस्त छ। पञ्चमी कथाले महिलाका वास्तविक भोगाइ र विज्ञानलाई स्वीकार्दैन। ईन्द्रको श्रापको नतिजा नै रजस्वला हो भनेर बताउने कथामा शरीरको शुद्धाशुद्धिमा जोड छ। मेनोपजका विभिन्न आयामका डरलाग्दा असरसँग कसरी जुध्ने हाम्रा आमाहरूलाई पञ्चमी कथाले बताएको छैन। हामीलाई दतिवन लगाउने तरिका होइन, महिनावारी स्वास्थ्यसम्बन्धी ज्ञान र विधि आवश्यक छ। अत्यावश्यक कुराहरू पाखा लगाएर महिनावारीसँग कुनै सम्बन्ध नै नभएको दतिवन र पञ्चमी पूजाले महिला स्वास्थ्यका विभिन्न आयाम छायामा पारिरहेको छ।
पञ्चमीका दिन नुहाउन जाँदा खोलाले बगाएर महिला र बालिकाहरूको मृत्यु भएका समाचार हरेक वर्ष छापिन्छन्। ती समाचार बिनाकुनै चासो बिलाउँछन्। महिनावारीसँग सम्बन्धित कैयौं विषयलाई पाखा लगाएर पाप र प्रायश्चितका निरर्थक कुरा हामीलाई लादिएको छ। महिनावारीको सेरोफेरोमा यी बहस अघि बढाउनु अहिलेको समयको माग हो। हामी भने पञ्चमी पूजामै केन्द्रित छौं।
महिला हुनुको खुसी?
मलाई थाहा थियो, आफू र आफ्ना नजिकका साथीहरूको ‘ग्रुमिङ’ करिब-करिब उस्तै हो। मभन्दा भिन्न परिवेशमा हुर्किएका महिलाले महिनावारीको के-कस्तो अनुभव भोगेका छन्, मलाई केही थाहा थिएन। ६ वर्षअगाडि मैले एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएँ, जहाँ आफ्नो पहिलो महिनावारीको अनुभव लेख्नुपर्ने थियो। मैले पहिलो पटक महिनावारी भएर १२ दिनसम्म घामसमेत नहेरी एउटै कोठाभित्र बस्दाको अनुभव लेखेर पठाएँ। प्रथम भएछु। असाध्यै खुसी भएँ।
यो नतिजासँगै अरू देशका सहभागीहरूको महिनावारी अनुभव पनि पढ्न पाइयो। उनीहरूले किशोरी जीवनमा प्रवेश गरेको र महिला हुनुको आभास गर्न पाएको खुसी व्यक्त गरी लेखेका रहेछन्। म अचम्ममा परेँ। महिला हुनुको खुसी रे … ओहो! मलाई त महिनावारी भएँ भनेर कहिल्यै खुसी महसुस भएन। मैले चाहिँ किन खुसी महसुस गर्न सकिनँ भन्ने लागिरह्यो। यो घटनापछि मेरो आफ्नै शरीरसँगको सम्बन्ध असाध्यै सतही रहेको थाहा पाएर म खिस्रिक्क परेँ।
मर्यादित महिनावारीजस्ता विषयमा वर्षको एक दिन होइन, वर्षभरि नै बहसको खाँचो छ।
महिनावारीलाई मैले कहिल्यै गर्व गर्नुपर्ने विषय ठानेकी थिइनँ। सधैँ लुकाउनु पर्ने विषय ठानिरहेँ। बसेको ठाउँबाट उठ्न पनि मन नलाग्ने झन्झटका चार दिन। आफ्नो शरीरप्रति यति अनुदार सम्बन्ध आफसेआफ आएको पक्कै थिएन।
महिनावारीले शरीरमा ल्याएको परिवर्तनलाई खुसीसाथ आत्मसात् गर्ने मौका कहिल्यै मिलेनछ। महिनावारी मेरा लागि हिँड्दा–बस्दा ‘यहाँ छोइयो भने पाप लाग्छ, त्यहाँ छोइएला है!’ भन्ने चेतावनीको ‘अलार्म’ मात्र रहेछ। त्यसमाथि मन नलागी नलागी ऋषि पञ्चमीको दिन दतिवन टोक्ने झन्झट। महिनावारीमा छोइछाइ मात्र नहुँदो हो त अनुभवका पत्रहरू पक्कै अर्कै हुन्थे।
केही वर्षअघिसम्म महिनावारीका जटिलताबारे म बिल्कुलै अनभिज्ञ थिएँ। बिस्तारै प्रिमेन्स्रुअल सिन्ड्रोम (पीएमएस)ले मासिक चक्रमा असर पार्न थाल्यो। महिनावारी हुनु केहीअघिदेखि असाध्यै रिस उठ्ने, यसै रून मन लाग्ने, दोहोरो कुरा गर्न मन नलाग्ने, थकान, चिढचिढापनजस्ता अनेक लक्षण भोगेपछि मात्रै पीएमएस हौवा मात्र रहेनछ भन्ने ज्ञात भयो।
महिनावारीको विपक्षमा राज्य
हुन त महिनावारी केन्द्रित कानुनी संरचनाका नाममा राष्ट्रिय मर्यादित महिनावारी नीति, २०७५ रहेको छ। यस नीतिको उद्देश्य महिनावारी व्यवस्थापनका लागि आधारभूत सेवा-सुविधाहरूको सहज उपलब्धता, पहुँचसहित महिनावारीका हरेक चरणमा हुने शारीरिक र मानसिक समस्याको व्यवस्थापन गर्नु हो। तर, नीति कार्यान्वयनमा आएको वर्षौंपछि समेत महिनावारी व्यवस्थापनका लागि आवश्यक सामग्रीको समानतामा एकरूपता आउन सकेन।
महिनावारीसम्बन्धी विभिन्न समस्यालाई राज्यले बेवास्ता गरेको छ। महिनावारीले पेट दुख्दा उत्पादकत्वको कसीमा आफूलाई उभ्याएर कामबाट बिदा लिन हिचकिचाउने हामी सकेसम्म खपेर नै काम गर्छौं। महिनावारीसँग सम्बन्धित स्वास्थ्य समस्याले कामकाजी महिलालाई कसरी असर पुर्याइरहेको छ भन्ने नीतिनिर्माण तहमा रहेकाले बुझ्न जरुरी ठानिएको छैन।
महिनावारी बिदा तोकेरै दिएमा महिलाहरू पुरूषभन्दा कम अब्बल हुन्छन् भन्ने भाष्य स्थापित हुने तर्क दिएर हाम्रा सरकारी प्रवक्ता पन्छिएका छन्। महिनावारी हुँदा केही समस्या नहुनेको डालोमा सबै महिलालाई कोचेर दिइने यस्तो अभिव्यक्तिले हामीलाई असमान व्यवहार गरेको छ। नीति निर्माण तहका मानिसलाई महिलाका समस्या समस्याजस्तै नलाग्नु भनेको करिब २८ प्रतिशत कामकाजी महिलाको उपस्थितिलाई आँखा चिम्लिनु हो।
राज्य चाहन्छ, महिलाहरू पेनकिलर निल्दै काम गरिरहून्। हामी त्यही गरिरहेकै छौं। कार्यस्थलमा महिनावारी-सहयोगी संरचना छैन। महिनावारी हुँदा प्रयोग गरेको प्याड लुकाएर घरमै ल्याएर व्यवस्थापन गर्नुपर्ने अवस्था म लगायत धेरैको भोगाइ हो।
महिनावारीसम्बन्धी समस्याले गर्दा महिनाको केही दिन काम वा स्कुल, कलेज नजाने महिलाको संख्या ओझेलमा पारिन्छ। यता महिला हट ब्यागले पेट सेक्दै आफ्नो काम सकी नसकी गरिरहेका छन्, उता राज्यले स्यानिटरी प्याडलाई ‘लक्जरी’ बनाएको छ। फरियाको टुक्रा टाङमा च्यापेर पाँच दिन कटाइरहेकाहरूको समस्याप्रति राज्य उदासीन छ। महिनावारीसम्बन्धी समस्या महिलाको मात्रै समस्या भनेर बेवास्ता गरिएको छ। यो समयमा सार्वजनिक वृत्तमा हस्तक्षेपकारी बहस टड्कारो छ।
महिलाहरूको विविध अनुभव र भोगाइले महिनावारीको बहसलाई सामान्यकृत पाठ्यपुस्तक, पुरुषकेन्द्रित किताबी ज्ञान, धार्मिक विश्वासबाट बाहिर ल्याउनुपर्छ। जसरी हाम्रो शरीर फरक छ, त्यसरी नै महिनावारीमा पनि हाम्रो अनुभव र समस्या भिन्न छन्। हरेक महिलाका अनुभव आफैँमा महिनावारीसम्बन्धी बहसका लागि ज्ञान हो। पुरुषसत्तालाई मलजल गर्ने धार्मिक अन्धविश्वासको साङ्लोलाई महिलाहरूले नै आफ्ना अनुभव बाँडेर जबर्जस्त रूपमा बाहिर ल्याउनु पर्छ।
यस्तो प्रयासबाट नै समग्र समस्याग्रस्त बुझाइबाट हामी बाहिर निस्कन सक्छौं। नयाँ बाटो पहिल्याउन सक्छौं। महिनावारीमार्फत महिलापनलाई बुझ्ने सार्थक प्रयासमार्फत नयाँ पुस्ताले यो ‘स्पेस’लाई आफ्नो बनाउनुपर्छ।
मर्यादित महिनावारीजस्ता विषयमा वर्षको एक दिन होइन, वर्षभरि नै बहसको खाँचो छ।