काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठतम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङलाई महानिरीक्षक नियुक्त गरेको हो।
हालका प्रहरी महानिरीक्षक दीपक थापा भदौ १८ गते अवकाश हुँदैछन्। विद्यमान ३० वर्षे सेवा अवधिका कारण थापा अवकाशमा जाने भएकाले त्यस अगावै खापुङलाई सरकारले आईजीपी नियुक्त गरेको हो।
खापुङ अहिले केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख हुन्।
तेह्रथुममा जन्मिएका खापुङ २०५२ सालमा प्रहरी निरीक्षक हुँदै सेवा प्रवेश गरेका थिए। ३० वर्षे सेवा अवधि कायम रहे उनी आउँदो कात्तिक २७ गते अवकाशमा जाने छन्। खापुङ हालका महानिरीक्षक थापासँगै भर्ना टोली (ब्याच) मा सेवा प्रवेश गरेका थिए तर वैकल्पिक उम्मेदवारका रूपमा भर्ना भए।