काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

१३ भाद्र २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोग। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवास्थित नापी कार्यालयका नापी अधिकृत सुग्रीव यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ।

आयोगको दाबी अनुसार यादवले सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्तिका नाममा दर्ता गरेर र राजनीतिक तथा विभागीय प्रभाव प्रयोग गरी लामो समयसम्म निमित्त कार्यालय प्रमुखको रूपमा बसेर अकुत सम्पत्ति आर्जन गरेका छन्।

आयोगले २०५३ असार १३ गतेदेखि २०८१ असार १६ गतेसम्म यादवको सम्पत्ति विवरण परीक्षण गर्दा उनले करिब ९ करोड ३ लाख रुपैयाँ वैध आय आर्जन गरे पनि सोही अवधिमा १४ करोड ८३ लाख रुपैयाँभन्दा बढी खर्च तथा लगानी गरेको पाइएको छ। यसरी करिब ५ करोड ७९ लाख रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति रहेको आयोगले निष्कर्ष निकालेको छ।

अनुसन्धानका क्रममा यादवले आर्जन गरेको सम्पत्ति पत्नी गायत्री यादव र छोराहरू सुधान्सु यादव तथा शुभम यादवका नाममा समेत दर्ता गरिएको प्रमाण भेटिएको आयोगले जनाएको छ।

त्यसैले आयोगले उनीहरूलाई समेत प्रतिवादी बनाउँदै उक्त सम्पत्ति जफत गर्न मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन्।