जनकपुरधाम। मधेस प्रदेशसभाको अधिवेशन आज पनि प्रतिपक्षी दलको अवरोधकै कारण स्थगित भएको छ। यसअघि बिहीबार पनि बैठक सुरु भएको केही समयमै रोकिएको थियो।
शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले विरोध प्रदर्शन गरेपछि सभामुख रामचन्द्र मण्डलले नेकपा (माओवादी केन्द्र) का सांसद जवाहरलाल कुशवाहालाई बोल्ने अवसर दिए।
कुशवाहाले अर्थमन्त्री सुनीलप्रसाद साहले प्रस्तुत गरेको बजेट त्रुटिपूर्ण मात्र नभई बलपूर्वक पारित गरिएको दाबी गर्दै उनको तत्काल राजीनामा माग गरे।साहले पद नछोडेसम्म सदन सञ्चालन नहुने चेतावनी पनि दिए।
यसको जवाफमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले विपक्षी दल सर्वदलीय छलफलमा सहभागी नहुनु र निरन्तर सदन रोकिराख्नु गैरजिम्मेवार कदम भएको टिप्पणी गरे।
उपयुक्त वातावरण नदेखिएको भन्दै सभामुख मण्डलले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बैठक स्थगित गर्ने घोषणा गरे। विपक्षी दलहरूले दुई दिनदेखि सभामुखले बोलाएको सर्वदलीय बैठकसमेत बहिष्कार गर्दै आएका छन्। जसपाका साथै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले निरन्तर प्रदेशसभा अवरुद्ध गरिरहेका छन्।