काठमाडौँ। साउदी प्रो लिगको नयाँ सिजनमा अल नासरले उत्कृष्ट प्रदर्शन गर्दै शानदार जित हात पारेको छ।
गएराति भएको खेलमा अल नासरले अल-तावाउन एफसीलाई एकतर्फी खेलमा ५–० गोल अन्तरले पराजित गर्दै विजयी अभियान सुरु गरेको हो।
पहिलो हाफमा १–० ले अघि रहेको अल नासरले दोस्रो हाफमा थप चार गोल गर्दै ठूलो अन्तरको जित सुनिश्चित गर्यो।
टिमको जितमा जोआओ फेलिक्स नायक बने, उनले लिगको पहिलो खेलमै ह्याट्रिक गर्दै प्रभावशाली प्रदर्शन गरे। यस्तै, क्रिस्टियानो रोनाल्डोले एक गोल थपे भने किङ्सले कोम्यानले पनि लिग डेब्यु खेलमै आफ्नो पहिलो गोल गर्दै योगदान दिएका थिए।