काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ भाद्र २०८२
अ+
अ-

एजेन्सी। पश्चिम अफ्रिकी मुलुक गाम्बियाबाट स्पेनतर्फ प्रस्थान गरेको डुंगा मौरिटानियाको समुद्री क्षेत्रमा डुब्दा कम्तीमा ६९ जना प्रवासीको मृत्यु भएको छ।

बीबीसीले जनाएको अनुसार, दुर्घटनापछि धेरै जना अझै बेपत्ता छन् भने १७ जनालाई जीवितै उद्धार गरिएको छ। बाँकी यात्रुहरूको खोजी अभियान निरन्तर जारी रहेको छ।

करिब १६० यात्रु बोकेको उक्त काठको डुंगा गाम्बियाबाट स्पेनको क्यानरी टापु पुग्ने उद्देश्यले यात्रा थालेको थियो। यात्रुहरू प्रायः गाम्बिया र सेनेगलका नागरिक रहेको बताइएको छ।

उद्धारमा परेकाहरूको भनाइअनुसार, डुंगा दुर्घटनाभन्दा करिब ६ दिनअघि गाम्बियाबाट निस्किएको थियो। मौरिटानियाको राजधानी नोउआकचोटबाट करिब ६० किलोमिटर उत्तरमा खोजी र उद्धार कार्य भइरहेको छ।

मंगलबार राति तटीय सहरका बत्ती देखेपछि यात्रुहरू एकैपटक एउटैपट्टि जम्दा डुंगा असन्तुलित भई पल्टिएको मौरिटानियाली तटरक्षक अधिकारीहरूले बताएका छन्।

एटलान्टिक महासागर हुँदै युरोप प्रवेश गर्ने यो बाटो निकै जोखिमपूर्ण भए पनि पछिल्ला वर्षहरूमा अफ्रिकी प्रवासीहरूका लागि नियमित मार्गझैँ बन्दै गएको छ।

सन् २०२४ मा मात्र करिब ४७ हजार मानिस क्यानरी टापु पुगेका थिए। तर, स्पेनी गैरसरकारी संस्था कामिनान्दो फ्रोन्टेरासका अनुसार, युरोप पुग्ने क्रममा नौ हजारभन्दा बढी प्रवासीले ज्यान गुमाएका छन्।