काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

फिलिम सुरु हुने समय नजिकिँदै जाँदा भीड केही अधीर हुन लाग्यो, खलबल सुरु भयो। पहिले त तरुना-तन्नेरीहरू अनुनय-विनय गर्दै थिए, “लौ न मामा! हामीलाई जान दिनोस्, प्लिज!” कोही नवयौवनाहरू ‘मेरो ब्वाइफ्रेन्ड भित्र छ, उसले बोलाएको छ’ भनिरहेका थिए भने कोही त ‘मेरो बुढो नै भित्र छ, मलाई किन जान नदिने?’ समेत भन्दै थिए। यद्यपि, त्यस्तो दाबी गरिरहने युवतीहरू अविवाहित थिए।

१४ भाद्र २०८२
अ+
अ-

पत्रकारिता मेरालागि विकसित देशका सहरहरूमा चल्ने ‘हप इन एन्ड हप आउट’ टुरिस्ट बसतुल्य रह्यो- मनलागी ठाउँबाट चढ्न र मनलागी ठाउँमा ओर्लन पाइने। त्यस बसमा मेरो सफर धरानबाट थालिएको थियो, जतिखेर म कलेजमा पढ्दै गरेको विद्यार्थी थिएँ।

विराटनगरबाट हिमालचुली नाउको एउटा साप्ताहिक पत्रिका निस्कन्थ्यो विपिनदेव ढुङ्गेलको सम्पादनमा। ट्राफिक चोकबाट जोगबनी जाने सडक छेवै त्यस पत्रिकाको अफिस थियो आफ्नै लेटर प्रेससहितको। म त्यस पत्रिकाको कार्यालयमा एक दिन पुगें। कसरी या कुन सन्दर्भमा हो, त्यो म अहिले सम्झन्नँ। दुई-तीन जना साहित्यिक टाइपका व्यक्तिहरूबाट घेरिएर बसेका थिए टेबुलपछाडिको कुर्सीमा विपिनदेव। उनीहरू त्यहाँ सके बसिबियाँलो गर्दै बसेका थिए, कुनै बित्दो काम बेगर। त्यसै हुनाले उनीहरूको उपस्थितिको खासै वास्ता नगरी विपिनदेवले मप्रति समय र चासो दुवै दिए। मैले उनलाई फरासिला र सहयोगी मिजासको पाएँ, कुराकानी गर्न सजिलो। उनको अफिसबाट बाहिर निस्कँदा म एउटा जिम्मेवारीको भावसहित निस्केको थिएँ, जो उनले मेरो काँधमा बोकाइदिएका थिए।

“धरानतिरको खबर खासै छाप्न सकिएको छैन समाचार पठाउने मान्छे नभएकाले। भाइले यसो बेलाबखत लेखेर पठाउनू नि!,” उनले भनेका थिए। कस्तो लेख्ने, के लेख्ने त्यसबारे कुनै ब्रिफिङ उनीबाट मैले पाएको थिइनँ, न त समाचार लेखेबापत मैले पाउने पारिश्रमिकको नै कुरा भएको थियो।

पत्रिकाका लागि समाचार यसअघि मैले कहिल्यै लेखेको थिइनँ। यद्यपि लेख्ने मामिलामा मैले दुई-चार कदम चालिसकेको थिएँ त्यतिञ्जेलमा। म निस्पट्ट काँचो र कोरा थिइनँ। धरानको माहोल नै त्यस्तै थियो उसबेला। कवि गोष्ठी र साहित्यिक भेला भइरहने, सांगीतिक कार्यक्रम तथा नाटकहरूको पनि कुनै न कुनै अवसर पारेर आयोजना हुने। राणाकालमै सम्वत् २००४ मा स्थापित ‘सार्वजनिक विद्या भवन’ नामक पुस्तकालय छँदै थियो। त्यसमाथि हाम्रै टोलमा ‘लक्ष्मी वाचनालय’ खुलेको थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा उनको देहावसान भएकै साल। त्यसको देखासिकी हामी जुनियरहरूले पनि ‘बालपुस्तकालय’ खोलेका थियौं ‘लक्ष्मी वाचनालय’कै बगलमा, सुझी न बुझी।

म हाइस्कुलमा नौ-दस क्लासमै हुँदा हाम्रो स्कुलकै सामुन्ने ब्रिटिस लाइब्रेरी पनि खुल्न गएको थियो। त्यसैले पढ्न चाहनेलाई पढ्ने कुराको खाँचो थिएन। लाइब्रेरीहरूका कारण हिन्दी र अंग्रेजी भाषाका अखबार, म्यागेजिन र किताबहरू उपलब्ध थिए। थोरै नै सही नेपाली भाषाका पत्रपत्रिका पनि नभएका होइनन्। हुलाकमार्फत काठमाडौंबाट ढिलै भए पनि ‘गोरखापत्र’का पुलिन्दा लाइब्रेरीमा पुग्थ्यो। धरानबाटै साँगुरी साप्ताहिक पत्रिका प्रकाशित हुन्थ्यो पशुपति पराजुली ‘दीपित’को सम्पादनमा। सम्झना शीर्षकको साहित्यिक पत्रिका पनि निस्कन्थ्यो गोपालप्रसाद श्रेष्ठ र सुशील खनालको प्रयासमा। काठमाडौंबाट प्रकाशित हुने साहित्यप्रेमीहरूको अनिवार्य खुराक रूपरेखा पनि पुगेकै हुन्थ्यो। साप्ताहिक पत्रिकामा काठमाडौंबाट समीक्षामातृभूमि आउँथे। धरानको समग्र माहोल त्यस किसिमको रहेको र संयोगात् केही कोर्ने, लेख्नेहरूको सरसंगतमा परेको हुनाले मैले पनि कविता, कथा लेख्ने जमर्को गर्नु मुनासिब थियो र त्यो मैले गरेको थिएँ।

हफ्तैपिच्छे लेख्नलाई त विषय पनि जँच्नु पर्‍यो र जाँगर पनि हुनु पर्‍यो। त्यो मेरो फुलटाइम जागिर थिएन। वास्तवमा त्यो कुनै जागिरै थिएन।

मैले त्यस्तो जमर्को नगर्नु चाहिँ अस्वाभाविक हुने थियो। मेरा एक-दुई कविता र दुईवटा कथा सामयिक साहित्यिक संकलनहरूमा प्रकाशित भइसकेका थिए। अनुवाद पनि गरेको थिएँ मार्क्सवादको पहिलो किताब भन्ने सानो पुस्तिका हिन्दीबाट नेपालीमा। त्यो छापिइसकेको थियो बनारसबाट।

सरसंगातीकै कारण साहित्यिक पत्रिकाको सम्पादक हुने रहर पनि मभित्र जागेको थियो त्यसैबेलातिर, थाहा न शुद्धि। मासिक, द्वैमासिक या त्रैमासिक रूपमा नियमित तरिकाले नछापिने साहित्यिक पत्रिकालाई उसबेला सामयिक संकलन भन्ने गरिन्थ्यो। त्यो असलमा हुन्थ्यो पनि संकलन नै- केही कविता, केही कथा, केही निबन्ध, केही चुटकिला समाविष्ट। कविता, कथा लेख्ने भनेर चिनिएकाहरूको घर-घरमा गई रचना संकलन गर्ने र तिनलाई छाप्ने चाँजोपाँजो मिलाउने व्यक्ति सम्पादक मानिन्थ्यो। कम से कम आफूले अल्पज्ञानका कारण उसबेला बुझेको सम्पादकको भूमिका त्यही थियो।

सम्पादक भएर साहित्यिक पत्रिका निकाल्ने मेरो काँचो रहरलाई पछाडिबाट साथ दिनेमा थिए गोपालराज जोशी, जसले एउटा किताब पसल चलाएका थिए शिवसिनेमा हल छेउको आफ्नै घरमा ‘रिडर्स कर्नर’ नामको। नेपाली साहित्यका पुस्तकबाहेक वामपन्थी मार्काका किताबहरू बेचिन्थे त्यहाँ। त्यस्ता किताबहरूको स्रोत थियो काठमाडौं भोटाहिटीस्थित निरञ्जन गोविन्द वैद्यको पसल। बजारमा भर्खर भर्खर निस्केको थियो अध्यक्ष माओका उद्धरणयुक्त रातो हाते किताब। त्यो पनि त्यहाँ बेचिन्थ्यो। मैले अनुवाद गरेको मार्क्सवादको पहिलो किताब छाप्ने प्रकाशक पनि त्यही ‘रिडर्स कर्नर’ थियो।

पसल कुरूवाको हैसियतमा म पनि एक किसिमले जोडिएको थिएँ त्यस किताब दोकानसित। त्यहीँबाट जन्मेको थियो पत्रिका निकाल्ने आइडिया र म सम्पादक हुने योजना। नाम के जुराएका थियौं, त्यो अहिले मेरो सम्झनामा छैन। तर, त्यही प्रस्तावित पत्रिकाका लागि भनेर म विराटनगर गई महानन्द सापकोटा गुरुको लेख टिपोट गरेर ल्याएको भने मलाई याद छ। त्यसबेला महेशपुर र सुस्तामा भारतद्वारा सीमा मिचियो भन्ने विषय निकै ठूलो चर्चामा थियो। त्यसैले महानन्द गुरुलाई सीमा विवादबारे आफ्नो विचार लेखिदिन अनुरोध गरेका थियौं। एक-दुई पटकको तरताकेतापछि विराटनगरमा उनको बन्दै गरेको घरमा जाँदा ‘ल बस्नोस् र टिप्नोस्’ भनेर आँखा चिम्म गर्दै उनले मलाई आफ्ना विचार टिपाएका थिए। लेख लेख्दा नम्बर एक, नम्बर दुई भन्दै क्रमागत हिसाबले लेख्ने उनको शैली थियो। हरेक नम्बरमा केही अनुच्छेद हुने गर्थे। त्यसरी टिपिएको उनको लेख बाहेक अरू पनि केही रचना मैले जम्मा पारेको थिएँ प्रकाशनार्थ। तर, कुनै ठोस तयारीबिना सुरु गरिएको त्यो उपक्रम निष्फल हुनु नै थियो। त्यस्तै भयो, पत्रिका निकाल्ने योजना गर्भमै तुहियो र सम्पादक बन्ने मेरो रहरले पनि हावा खायो।

एक नौसिखिया लेखन्तेको हल्काफुल्का पृष्ठभूमि भए पनि साप्ताहिक पत्रिकामा समाचार पठाउने काम मेरालागि केही नौलो थियो र चुनौतीपूर्ण पनि। के विषयको समाचार पठाउने? मान्छे मरेको? गाडी दुर्घटनामा परेको? कवि गोष्ठी सम्पन्न भएको? कलेजमा हुने दुई विध्यार्थी समूहबीचको झगडा र मारपिटको? शुभ जन्मोत्सव समारोहको? खहरे र सर्दुको बाढीको? कि खानेपानीको हाहाकारको? राजनीति त छुनै भएन पञ्चायत बाहेक। यति नै र यही विषयमा लेख्नु भन्ने हिदायत पनि पाएको थिइनँ सम्पादक विपिनदेवबाट। समाचार लेख्नु थियो स्वविवेकले।

आफैंले सकारेर आएको जिम्मेवारी त पूरा गर्नै पर्‍यो, लाजगालले गर्दा नै सही। जे होस्, कनीकुथी लेखेर पठाउन थालेँ आफ्ना आँखामा चढेका विषयहरूउपर, तर हरेक हप्ता होइन। हफ्तैपिच्छे लेख्नलाई त विषय पनि जँच्नु पर्‍यो र जाँगर पनि हुनु पर्‍यो। त्यो मेरो फुलटाइम जागिर थिएन। वास्तवमा त्यो कुनै जागिरै थिएन। म त कलेज पढ्ने एउटा विद्यार्थी थिएँ, जसको ध्यान तान्ने कुराहरू पढाइबाहेक अरू पनि कैयन् थिए। तैपनि लेख्थेँ र हस्तलिखित कागजका पानाहरूलाई खाममा हालेर पठाउँथेँ कहिले धरान-विराटनगर चल्ने बसका चिनेका ड्राइभर खलासीहरूका हातमा त कहिले हुलाकद्वारा।

मान्नु पर्छ, त्यति नराम्रो थिएन उसबेलाको हुलाकसेवा। विजयपुर छोटी हुलाकको कार्यालय थियो चतरालाइन छाताचोकबाट सिंहदेवी मन्दिरतर्फ जाने सडक छेवैमा। त्यहाँको ढ्वाङमा खसालेको चिठी मुकाममा पुग्थे र बाहिरबाट आउँथे पनि। टिकट टाँसेर हुलाकबाटै चिठी पठाउँदा पनि मानिसहरू बन्दी खामका पछिल्तिर ठूलो साइजमा ७४ अंक लेखेर त्यसलाई दुईतिरबाट लामा ठूला ठाडा दुई धर्काले घेर्ने गर्थे। त्यसरी लेख्नु भनेको ‘अर्काको चिठी नखोल्नु, खोलेमा चौहत्तर वटा गाई मारेको पाप लाग्छ’ भन्ने संकेत थियो।

त्यो अंक किन पचहत्तर, सय, हज्जार वा लाख भएन त्यो त थाहा भएन। तर त्यस्तै थियो लेख्ने चलन। ठेगानामा धरान भनेर लेखेपछि पोस्ट जोगबनी जिल्ला पूर्णिया भनी लेखिएको चिठीपत्र, बुकपोस्ट पनि हात लाग्थे ढिलो या चाँडो। मेरा केही पत्रमित्र थिए इन्डियाका केही सहरमा (त्यसबेला हामी साथीभाइमाझ रनाहा चलेको थियो पत्रमित्र बनाउने)। बैंगलोर (अहिले बैंगलुरु)बाट इसाई धर्मका नेपालीमा छापिएका सुसमाचारहरू पनि आउँथे हुलाकबाटै। पछि ती आउनलाई बन्द गरिए प्रशासनको हस्तक्षेपबाट।

जनार्दन आचार्य उसबेला जुझारू वामपन्थी युवा नेता थिए कीर्तिपुरको विश्वविद्यालयमा समेत संघर्ष गरिसकेका। उनको ठूलो बैठक कोठा खचाखच थियो मनमोहन अधिकारीका कुरा सुन्न आएका मानिसहरूबाट।

हिमालचुलीलाई कति समाचार सामग्री पठाएँ, तिनमा कति छापिए वा कति छापिएनन् त्यसको मलाई अहिले हेक्का छैन। पत्रिकाका प्रकाशित अंक संवाददाता भइखाएको मेरै हातमा सदैव पर्दैनथे। मैले लेखेर पठाएको ‘स्टोरी’मा दुइटा म अझै सम्झन्छु। एउटा थियो ब्रिटिस घोपा क्याम्पभित्र गई सिनेमा हेर्नबाट क्याम्पबाहिरका मानिसलाई रोकिएको घटनाबारे।

क्याम्पभित्रका सरकारी आवासगृहमा बस्ने गोर्खा सैनिकका साथै सिभिलियन स्टाफ र तिनका परिवारका लागि भनेर प्रत्येक हप्तामा एउटा अंग्रेजी फिलिम देखाउने गरिन्थ्यो गोर्खा मेसको हलमा। आउँदो महिना देखाइने फिलिमहरूको नामसहित प्रदर्शनको समय तालिकाबारे अघिल्लो महिना नै सूचना जारी हुन्थ्यो स्टाफहरूमाझ। नाम चलेको कलाकार र फिलिम भएमा निकै भीड हुन्थ्यो दर्शकको। तिनमा क्याम्पभित्रका भन्दा बाहिरबाट जानेहरूको बढ्दो भीड देखेर होला गोरा साहेबले आदेश दिएको हुनुपर्छ बाहिरका कसैलाई नछिराउने। फिलिम प्रदर्शन हुने एक साँझ मूलगेटमा पहरा बसेका गोर्खा सैनिकहरूले भित्रै बस्ने बाहेकका एकै जनालाई पनि पस्न नदिई रोक्यो। सुरक्षाको निकै कडा बन्दोबस्त गरिएको थियो पालेपहरा थपेर। भित्र पस्न नपाई गेटमा थुप्रिनेहरूको संख्या पनि त्यस दिन अरू बेला हेरी निकै नै बढ्ता थियो। देखाउन लागिएको फिलिम चर्चित हुनाले त्यसरी मानिस ओइरिएका हुनन्।

फिलिम सुरु हुने समय नजिकिँदै जाँदा त्यहाँको भीड केही अधीर हुन लाग्यो, खलबल सुरु भयो। पहिले त तरूना-तन्नेरीहरू अनुनय-विनय गर्दै थिए, “लौ न मामा! हामीलाई जान दिनोस्, प्लिज!” कोही नवयौवनाहरू ‘मेरो ब्वाइ फ्रेन्ड भित्र छ, उसले बोलाएको’ भनिरहेका थिए भने कोही त ‘मेरो बुढो नै भित्र छ, मलाई किन जान नदिने?’ समेत भन्दै थिए। यद्यपि त्यस्तो दाबी गरिरहने युवतीहरू अविवाहित थिए।

माहोल तातिँदै गएपछि त ‘हामीले भित्र जान किन नपाउने?’ भन्ने आक्रोश पोखिन थाल्यो। नेपालीको हक अधिकारको कुरा पनि उठ्यो। जुलुसै उठ्ला जस्तो भयो। भित्रपट्टि गोर्खा सैनिक जवान थपिए। बाहिर भीडको उत्तेजना बढ्यो। धन्न, ढुङ्गामुढा भएन र कुनै अप्रिय घटना हुन पाएन। जित भने गेट बन्द गर्ने गोर्खा सैनिकहरूकै भयो। केही समयको होहल्लापछि भीड तितरबितर भयो। यस घटनाको प्रत्यक्षदर्शी र सिनेमा हेर्न नपाएकामा निराश भई फर्केको मैले त्यहाँको परिदृश्यलाई उतारेर भोलिपल्टै एउटा स्टोरी पठाएँ जो हिमालचुलीको पहिलो पृष्ठमै छापियो पनि।

ब्रिटिस क्याम्पभित्रका मानिसहरूको पनि त्यसमा कसरी हो आँखा परेछ। जसले मलाई चिन्थे तिनले मलाई भने, “अब त तिमीलाई क्याम्पभित्र पस्न पूरै मनाही हुन्छ।” त्यस घटनापछि सिनेमा देखाइने दिन म भित्र बस्ने साथीसित दिउँसै क्याम्प पस्ने गर्न थालेँ।

अर्को स्टोरी थियो राजनीतिक प्रकृतिको। यो थियो मनमोहन अधिकारीसित सम्बन्धित। पञ्चायती सरकारको जेलमा लामो समय बिताएर उनी भर्खर रिहा भएका थिए। उनीसितको एउटा अनौपचारिक भेटघाटको आयोजना गरेका थिए धरानका अग्रगामी सोंचका केही युवाहरूले। भेटघाट भएको थियो मेरै टोलमा जनार्दन आचार्यको घरमा। जनार्दन आचार्य उसबेला जुझारू वामपन्थी युवा नेता थिए कीर्तिपुरको विश्वविद्यालयमा समेत संघर्ष गरिसकेका। उनको ठूलो बैठक कोठा खचाखच थियो मनमोहन अधिकारीका कुरा सुन्न आएका मानिसहरूबाट। उनीबाट मानिसले सुन्ने अपेक्षा राखेका थिए मौजुदा राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिको विश्लेषण। तर उनले सुरुमै ‘म अहिले भारतीय राजनीतिबारे केही बोल्न चाहन्न’ भनेर निराश पारे म लगायत धेरैलाई। नक्सलबारी आन्दोलन चर्किरहेको बेला थियो। उनी भने त्यसलाई पन्छाएर चीन, सोभियत संघ, अमेरिकाको कुरा मात्रै गर्ने! आफूलाई चित्त नबुझेको कुरा टिप्पणीका रूपमा लेखेर पठाएँ जसलाई हिमालचुलीले बकाइदा छापिदियो।

जे जति हिमालचुलीका लागि मैले लेखेँ, ती मेरो नाउबिना नै छापिएका थिए र बिना पारिश्रमिक नै। असलमा पत्रिकामा लेखेबापत पारिश्रमिक मिल्ने आशा वा अपेक्षा मैले गरेकै थिइनँ। लेख्नेलाई पारिश्रमिक दिने चलन आइसकेको पनि थिएन। म र गोपालराज जोशी मिलेर छाप्ने योजना गरेको पत्रिकामा आफ्ना रचना दिने कवि वा लेखकलाई पारिश्रमिकबापत दिइने रकमको बजेट पो हामीले कहाँ गरेका थियौं र? त्यसैले हिमालचुलीमा समाचार लेख्ने कामलाई स्वयंसेवी भन्दा हुन्थ्यो। अर्को भाषामा भन्नुपर्दा त्यो फोकटको काम थियो। फोकटकै भए पनि त्यसबाट मैले केही सिक्ने मौका पाएको थिएँ र केही आत्मसन्तुष्टि दिएको थियो त्यसले मलाई। केही नभए पनि त्यसले मलाई लेख्ने अभ्यास पनि गरायो र पत्रकारिताको प्रारम्भिक पाठ पढायो। धरान छाडेर काठमाडौं आउने भएपछि मैले चढेको प्रारम्भिक पत्रकारिताको ‘हप इन एन्ड हप आउट’ बसबाट म आउट भएँ।

धेरै वर्षपछि विपिनदेव ढुङ्गेल मैतीदेवीतिर घर बनाएर काठमाडौंमै बस्न थालेका थिए। यदाकदा भेट हुन्थ्यो उनीसित बाटामा। सौहार्दपूर्ण नै थियो हामीबीचको सम्बन्ध। मैले काम गरेको एउटा प्रमाणपत्र बनाइ दिनुहुन्छ कि भनी सोध्दा ‘किन नदिनु, तपाईंले काम गरेकै हो’ भनेका थिए। तर त्यो कुरा त्यत्तिकै रह्यो। मलाई उनको प्रमाणपत्रको दरकार परेन।

अब म समय यस्तो चौरास्तामा आइपुगेको थिएँ, जतिखेर मन राजनीतिदेखि विरत भएको थियो र टुक्रे तीन सय रुपैयाँ महिनाको पत्रकारिताले कहीँ पुगिँदैन भन्ने लाग्न थालेको थियो।

विश्वविद्यालयमा पढ्दाको धेरैजसो समय मैले विद्यार्थी राजनीतिमा लागेर बिताएँ। म संलग्न रहेको समूहको अभीष्ट नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन नाउको संगठनलाई विद्यार्थीमाझ चिनाउनु र स्थापित गराउनु थियो। त्यसले अँगालेको राजनीतिक दर्शनको धारलाई फैलाउनु थियो। विरोधीहरूले ‘फेडे’ भन्ने गरेको त्यस संगठनको पहिले म महासचिव भएँ र पछि अध्यक्ष, राष्ट्रिय अध्यक्ष। त्यसको नेतृत्वमा रहँदा संगठनले निकाल्ने डिमाइ साइजको मुखपत्र ‘छात्रदूत’को तीन अंक सम्पादन गरेँ। तीनमध्ये एउटा अंक सेन्सर गर्ने सीडीओ कार्यालयले जफत गर्‍यो।

राजनीतिक दर्शनको साझा धार र पत्रिकातिर लहसिने मेरो प्रवृत्तिले गर्दा उसबेलाको चर्चित साप्ताहिक पत्रिका समीक्षाका सम्पादक मदनमणि दीक्षितसित मलाई नजिक्यायो। पहिले सम्पादकको नाममा मेरो चिठी र त्यसपछि छोटा कविता छापिएपछि सुरु भएको सम्बन्ध प्रुफरिडर, समाचारदाता, विज्ञापन संकलक हुँदै ‘विशेष प्रतिनिधि’को पदसम्म पुग्यो। म फेरि पत्रकारिताको बसमा ‘हप इन’ भएको थिएँ।

विशेष प्रतिनिधिको तक्मा भिरेर दार्जीलिङ र सिक्किम पनि पुगेँ सन् १९७४को अक्टोबरमा। दार्जीलिङको नेपाली साहित्य सम्मेलनले सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सूधपा) यी तीन भाषासेवीको अभिनन्दन गरेको थियो त्यसबखत। त्यस समारोहमा भाग लिन कवि भवानी घिमिरेको नेतृत्वमा नेपालबाट गएको साहित्यिक पत्रकार संघको प्रतिनिधि मण्डलमा सामेल थिएँ म पनि। दसैंको मुखमा आयोजित त्यस समारोहमा भाग लिएपछि सिक्किम समेत घुमीवरी धरानमा दसैं मनाएर मैले पठाएको सूधपा अभिनन्दन समारोहको रिपोर्ताज समीक्षामा छापिएको थियो। त्यसबापत सह्रनी पनि पाएको थिएँ सम्पादकबाट।

समीक्षामा रहेर मैले सबै काम गरेँ जुन काम थोरै स्टाफ भएको साप्ताहिक पत्रिकामा गर्नुपर्ने हुन्थ्यो। समाचार लेख्ने काम त यसै भइहाल्यो, परेमा प्रश्नोत्तरको स्तम्भ पनि भरिदिन्थेँ, पुस्तक परिचय लेख्न पनि भ्याइदिन्थेँ। एक-दुई सम्पादकीय धरी ठोकेँ ‘मास्टरसाब’ (मदनमणि दीक्षितलाई धेरैले पुकार्ने नाउ) काठमाडौंमा नहुँदा। प्रुफरिडिङ त ठेक्कै थियो मेरो। यद्यपि शुद्धाशुद्धिमा मेरो बलियो पकड भने थिएन, अझै छैन। तथापि हातले लेख्दा ‘पनि’ शब्दको नि दीर्घ लेख्ने मास्टरसाबको हेरी ह्रश्वदीर्घको मेरो प्रयोग त्यति खराब थिएन।

पत्रिकाको आकर्षण थप्न भनेर विनोद दीक्षित र म मिलेर एउटा नयाँ स्तम्भ थाल्यौं ‘सडक बोल्छ’ भन्ने। त्यसका लागि म प्रत्येक हप्ता सडकछेउ उभिएर समसामयिक विषयमा मानिसहरूसित प्रश्न गर्थें। उत्तरदाताको नाउ, उमेर र पेसा उल्लेख गरेर मेरो प्रश्नमा उनीहरूले दिएका छोटो उत्तर त्यस स्तम्भअन्तर्गत छापिन्थे। प्रत्येक हप्ता दस-बाह्र जनाले त्यहाँ ठाउँ पाउँथे। कुनै सार्वजनिक सरोकारको विषयउपर जनसाधरणको अभिमत जाहेर हुन्थ्यो त्यस स्तम्भमार्फत। त्यो स्तम्भ छिट्टै लोकप्रिय बन्यो। झनै सान्दर्भिक विषय खोजेर त्यस स्तम्भलाई रसिलो र चोटिलो बनाउने ध्याउन्ना रहन्थ्यो मेरो।

समीक्षा ट्रेडल प्रिन्टिङ मेसिनमा छापिन्थ्यो। मुद्रण प्रविधिको मध्ययुगीन अवस्था थियो त्यो। तस्बिर छाप्नका लागि जिङ्क ब्लक भर्खर-भर्खर प्रचलनमा आएको थियो, नत्र काठको ब्लक प्रयोग गरिन्थ्यो। हरेक कुरा हातैले गर्नुपर्ने हुनाले जे काममा पनि समय लाग्थ्यो। बुधबारका दिन निस्कन्थ्यो समीक्षा र त्यसको अघिल्लो रात प्रायः अबेरसम्म बस्नुपर्ने पनि हुन्थ्यो। छापिने सबै म्याटर सिसाका एक-एक अक्षर जोडेर ग्यालीमा कम्पोज गर्नु पर्थ्यो। कम्पोज गर्ने ठाउँ यति भद्रगोल हुन्थ्यो कि कहिलेकाहीँ कम्पोज गर्न दिइएका म्याटर हराउँथे। हातले लेखिएका ती कुरालाई सम्झेर फेरि लेख्नु पर्ने खण्ड पनि आउँथ्यो। त्यसबाहेक कम्पोजिङ डेस्क र छपाइ मेसिनसितको लसपसबाट हात, अनुहार र लगाएको कपडामा कालो मसीको दाग लाग्ने कुरा छुट्टै थियो।

सुरु गर्दा महिनाको दुई सय रुपैयाँ रहेको तलब बढेर अढाइ सय हुँदै तीन सय रुपैयाँ पुगेको थियो, जुन रकम म पाउँथे एकमुष्ठ नभई टुक्रा-टुक्रामा। यहाँनेर के भन्नै पर्छ भने समीक्षामा लेख रचना छापिएबापत कसैले पारिश्रमिक पाउँदैन थिए। यो कुरा सबै पत्रपत्रिकाको हकमा लागू हुन्थ्यो केवल समीक्षाको हकमा होइन। जो लेख्थे ती केवल आफ्ना विचार सार्वजनिक तवरमा अभिव्यक्त गर्नलाई लेख्थे। मैले समीक्षामा चानचुन दुई वर्ष काम गरेँ- सन् १९७३ देखि १९७५सम्म।

अब म समय यस्तो चौरास्तामा आइपुगेको थिएँ, जतिखेर मन राजनीतिदेखि विरत भएको थियो र टुक्रे तीन सय रुपैयाँ महिनाको पत्रकारिताले कहीँ पुगिँदैन भन्ने लाग्न थालेको थियो। अर्थोकै केही गर्नुपर्छ भन्ने लाग्यो र चढिरहेको पत्रकारिताको बसबाट म ‘हप आउट’ भएँ लगभग के गर्ने भन्ने योजना नसोचिकनै। नसोचेको होइन, केही त सोचेको थिएँ। तर सोचेजस्तो भएन परिस्थिति र आफूलाई अनिश्चित भविष्य बोकेका बेरोजगार युवाहरूको हुलबीच उभिरहेको पाएँ, बिल्कुल निरीह र उपायहीन।

मान्छे भन्थे त्यो पत्रिका त ‘बरफ बाग’ले चलाएको भनेर। नेपाल गुप्तचर विभागको मुख्यालय थियो सिंहदरबारभित्र रहेको बरफ बागमा। मतलब थिएन मलाई बरफ बागले चलाएको होस् कि हिम बागले। मलाई भात खान पाए पुगेको थियो।

कोठा भाडा त तिर्नु छँदै थियो, त्यसमाथि महिनावारी खुराकीको भार पनि थियो। यस्तै बिलखबन्दको अवस्थामा फेला परे विश्वजीत किराँती। फेला परे भन्दा पनि वास्तवमा उनले मलाई फेला पारे। छिन्ताङका किराँतीजीसित धनकुटेली नाताले चिनजान अघिदेखि नै थियो। साथै उनले प्रेमविवाह गरेको धनकुटा देब्रेबासकी बिजातीय स्त्रीसित मेरो फरियाको घुमाउरो नाता पनि जोडिन्थ्यो दिदीको साइनोबाट। किराँतीजी अन्तर्वार्ता नामक साप्ताहिक पत्रिका निकाल्थे। उनले मसित सहयोग मागे, म यसै खालि बसेको बुझेर।

साबिकको कामबाट म निवृत्त भएको उनलाई थाहा नहुने कुरै भएन। उनको पत्रिका प्रभाकरी प्रेसमै छापिन्थ्यो। साप्ताहिक पत्रिकाको सम्पादक-प्रकाशक भइखाएका भए पनि उनको कलम राम्रोसित नचल्ने कुरा मैले बुझेको थिएँ। पछि उनले धेरै मिहिनेत गरेर आफ्नो लेखाइलाई बलियो पारे। त्यसबेला भने कुनै यत्नले निकालिरहेका थिए पत्रिका। कुनै लिखित सम्झौताबिना समझदारीका आधारमा मैले उनलाई पत्रिका निकाल्न सघाउने भएँ। उनी बिहानको खाना खाएर निस्कन्थे सल्लाहमा लेख्नुपर्ने विषय ठेगान गरेर। कहाँ जान्थे, कसलाई भेट्थे, के गर्थे कुन्नि! बेलुकातिर लखतरान भएर कोठा फर्कन्थे। सूचना विभाग, अञ्चलाधीशको कार्यालय, मन्त्रीहरूको अफिस चहार्थे सायद।

कालिस्थान मन्दिर नजिकको एउटा पुरानो घरको माथ्लो तला भाडामा लिएर बसेका थिए किराँतीजी तीन जना लालाबालासहित। उनलाई सघाउने भएपछि मेरो दुई छाक दालभात पक्का भएको थियो। दुई छाक भातकै भरमा मैले ती अनेक विषयमा लेखिरहेँ, जो वैचारिक रूपमा मेरालागि बिल्कुल बर्जित विषय थिए, जस्तैः ‘युवा राष्ट्रनायकको व्यक्तित्त्व’, ‘दलविहीन व्यवस्थाका आदर्श’,’गाउँ फर्कले ल्याएको जनजागरण’ आदि र यस्तै ढाँचाका।

जान्नेहरूले पापी पेट त्यसै भनेका रहेनछन्। म पापी पेटको निर्देशनमा चलिरहेको थिएँ। दिउँसो काम गरिरहेको बेला परे चियाखाजा पनि पाउँथे दिदीबाट। किराँतीजीले अह्राएका हुँदा हुन् खाजा दिनु भनेर। दिदीले मैले पत्रिकाको पेज भरेको थाहा नपाएर पेट मात्रै भरेको ठानेकी होलिन् भन्ने पनि लाग्थ्यो मलाई। तर तत्काललाई म निरूपाय थिएँ र उनको भान्सामा दुई छाक भात खाइरहेको थिएँ निर्लज्ज बनेर। मान्छे भन्थे त्यो पत्रिका त ‘बरफ बाग’ले चलाएको भनेर। नेपाल गुप्तचर विभागको मुख्यालय थियो सिंहदरबारभित्र रहेको बरफ बागमा। मतलब थिएन मलाई बरफ बागले चलाएको होस् कि हिम बागले। मलाई भात खान पाए पुगेको थियो। स्नेह गर्थे मलाई किराँतीजी, मलाई मान्थे र दुःखको बेला आसरा बनेका थिए मेरा।

उनको पत्रिकामा छापिने पञ्चायत प्रायोजित लेखहरूबाहेक पत्रिकामा सामान्य पाठकलाई उपयोगी हुन सक्ने सामग्री तथा स्तम्भहरू पनि थप्न थालेँ। एउटा त थियो पुस्तक समीक्षा। अर्को थियो मेरो आफ्नै स्तम्भ जो मैले उपनाममा थालेको थिएँ। त्यस स्तम्भको शीर्षक थियो ‘अन्तर कुन्तरबाट’ र त्यस स्तम्भ निम्ति मैले रोजेको उपनाम थियो ‘परीक्षित’। प्रकटमा कुनै पनि हिसाबले पत्रिकामा आफ्नो नाम लेख्नेवाला थिइनँ म। त्यसैले मलाई छद्मनाम चाहिएको थियो। त्यसबाहेक मैले मदनमणि मास्टरसाबले सुधांशु, चक्रपाणि, चन्द्रहास आदि उपनाउबाट लेख्ने गरेको देखेको थिएँ। उनकै सिको गरेर मैले महाभारतको एक पात्रलाई आफ्नो उपनाउका लागि रोजेको थिएँ। त्यो स्तम्भ एउटा सिंगो लेख नभएर तीन या बढीमा चार टुक्रामा लेखिएका हजार-बाह्र सय शब्दमा सीमित समसामयिक विषयउपरका टिप्पणी हुने गर्थे केही व्यङ्ग्य मिस्रित।

यो आइडिया मेरो मौलिक नभई दुई स्रोतबाट निस्रित थियो। शैलीको हकमा खुशवन्त सिंहले ‘विथ म्यालिस टुवार्ड्स वन एन्ड अल’ शीर्षकमा लेख्ने स्तम्भ र अन्तरवस्तुको हकमा द वासिङ्गटन पोस्टको अन्तिम पृष्ठमा छापिने आर्ट बुखवाल्डको स्तम्भ। अमेरिकन लाइब्रेरी नयाँसडक र खिचापोखरीको कुइनेटामा हुँदा त्यहाँ गई आर्ट बुखवाल्डको स्तम्भ चाख मानेर पढ्थेँ। खुब चोटिला लाग्थे तिनको लेखाइ। मेरो त्यस स्तम्भउपर पाठकहरूको नजर पर्न थालेको आभास हुन्थ्यो। परेको रहेछ भन्नु पर्‍यो। किनभने त्यसको १५-१६ वा त्यसभन्दा पनि बढी वर्षपछाडि कुनै फन्टुस हुतिहाराले त्यही स्तम्भ र स्तम्भकारको नाउ चोरेर एउटा साप्ताहिकमा त्यस्तैप्रकारका सामग्री छापेको मैले फेला पारेँ। त्यस खुलेआम चोरीले पत्रकारितामा रहँदै आएको सिर्जनशीलताको खडेरीलाई देखाउँथ्यो।

अन्तर्वार्ता पत्रिकामा मेरो भाते कार्यक्रम चलिरहँदै मैले आफ्नो नजर छिट्टै खुल्न लागेको टुरिस्ट गाइड ट्रेनिङउपर राखेको थिएँ। अनि त्यो खुल्नासाथ म लागेँ त्यतातिर। म फेरि ‘हप आउट’ भएँ मेरो छद्म पत्रकारिताको बसबाट।

पत्रिकाबाट फारिग भएर अर्कै बाटो लागे पनि आफूले थालेको ‘अन्तर कुन्तरबाट’ स्तम्भ भने निकै समय पछिसम्म चालु राखेँ किराँतीजीको अनुरोधमा। अन्तर्वार्ताको गुप्तकालमै तेज खरेल प्रकाशक रहेको जागरण नामक साहित्यिक पत्रिकाको सम्पादनमा पनि संलग्न भएको थिएँ दुर्गा पोख्रेलसित मिलेर।

दुःखका दिनका साथी र सहारा भएकाले किराँतीजीसित मेरो निजी र पारिवारिक सम्बन्ध जीवनपर्यन्त रह्यो। दुर्भाग्यवश! उनी असमयमै बिते। किराँतीजीकै कारण अर्का पुराना पत्रकार शिवहरिसिंह प्रधान ‘पागल’सित मेरो चिनजान भयो। उनी नयाँ युग साप्ताहिक पत्रिका निकाल्थे। त्यस पत्रिकाका लागि भने मैले लेखिनँ, तर पागलजीका लागि अंग्रेजीबाट नेपालीमा अनुवाद भने निकै गरेँ। उनी कताकताबाट सामग्री लिएर आउँथे र मलाई अनुवाद गर्न लगाउँथे। लिबियाका राष्ट्रपति मम्मर गद्दाफीको पुस्तिका पनि थियो मैले गरेको एउटा अनुवादमा। कर्णेल गद्दाफी नाउ कत्रो थियो उसबेला। त्यो अनुवाद कार्य भने फोकटिया थिएन। धेरथोर मेहनताना पाउँथेँ।

तीन वर्ष चल्यो मेरो सम्पादनमा नेपाली द्वैमासिक हिमाल। यसको सुरुवाती अंक वैशाख २०५२ मा निस्केको थियो र बिसाउनी अंक फागुन-चैत २०५५ मा। यस अन्तरालमा जम्माजम्मी १७ वटा अंक छापिए। गन्तीमा धेरै होइन, तर जतिञ्जेल चल्यो त्यो सफल भयो पाठकको हृदयमा आफ्नो छुट्टै स्थान बनाउन।

टुरिस्ट गाइडको तालिम पाएपछि मेरो कदम पर्यटन क्षेत्रतर्फ बढ्यो जो त्यस बखत उर्घ्वगामी थियो। ट्राभल एजेन्सीहरूको संस्थामा नोकरी पनि मिल्यो, जसको तलब सहायक प्राध्यापकले पाउने भन्दा बढी थियो। पहिले नदेखेको पाँचतारे होटल, महँगा रेस्टुराँहरूको दर्शन, ट्राभल एजेन्सी, एयरलाइनमा काम गर्ने टाइसुट लगाउने, ट्रिपल फाइभ चुरोट खाने, अंग्रेजी बोल्नेहरूसित उठबस, मेरो संसार नै अर्को भयो। पत्रिकामा लेख्ने कुरा बाटैमा छुट्यो। हो, अनुवाद कर्मको त्यान्द्रो भने मैले समातिराखेँ। त्यो मेरो साँझ-बिहानको ‘साइड-जब’ बन्यो। किनभने बिहे गरेपछि महिनावारी तलबकै भरमा जिन्दगी सुबिस्तासित चलाउन गाह्रो थियो। दस-बाह्र वर्षको अवधिमा मैले ट्राभल एजेन्सी, कार्गो कम्पनी, रेस्टुराँ, गेस्ट हाउस, ट्रेकिङ कम्पनी आदि सामुन्ने जे जे आए तिनलाई बेहोर्दै गएँ।

तर त्यही हुन्छ जो प्रारब्धमा लेखिएको हुन्छ। मेरो प्रारब्धमा अक्षरसित खेल्नु लेखिएको रहेछ। पञ्चायत व्यवस्थाको अवसान भएकै साल म जोडिन पुगेँ अंग्रेजी हिमाल पत्रिकाको प्रकाशनसित मित्र कनक दीक्षितको आग्रहमा। सुरुमा मार्केटिङ र व्यवस्थापन हेर्ने भनेर पसेको म हिमालको अनुवाद कर्ममा गहिरोसित लाग्न पुगेँ। दुईमहिने अंग्रेजी हिमालमा छापिएका उम्दा लेख रचनाको नेपालीमा अनुवाद गरी वार्षिक संकलन निकाल्ने चलन थालिएको थियो। त्यस्ता दुईवटा वार्षिक संकलनको सम्पादन कार्य मबाट सम्पन्न हुन गयो। ती अनुदित रचनाहरूको संकलनको उपयोगिताले अंग्रेजी हिमालकै ढाँचा र विषय अँगालेर नेपाली भाषामा पनि नियमित पत्रिका निकाल्नु पर्छ भन्ने आवश्यकतालाई जन्मायो। त्यसप्रकार जन्मियो नेपाली भाषाको त्रैमासिक हिमाल पत्रिका, जसको सम्पादन गर्ने जिम्मेवारी मेरो काँधमाथि आइपर्‍यो।

सुरु त्रैमासिकका रूपमा भए पनि त्यो पत्रिका छिटै द्वैमासिक बन्यो। तर हाम्रो सानो टिमले यसरी काम गर्थ्यो मानौं त्यो पत्रिका साप्ताहिक थियो। एक पटक बिहानको २ बजे घर पुगेको छु पाटनढोकाबाट आफ्नो घर सामाखुसीमा।

मेरालागि द्वैमासिक हिमाल सम्पादन गर्दाको समय उत्साह र ऊर्जा लबालब भरिएको बेला थियो। पूर्णकालीन पत्रकारितामा चुर्लुम्म डुबेको एकाग्र मनोदशामा थिएँ त्यतिखेर म। आय आर्जनका हिसाबले आकर्षक नभए पनि मलाई ज्ञान आर्जनबाट त्यसको क्षतिपूर्ति भइरहेको मानेको थिएँ। चारचौरास घुमेर म त्यस पडावमा आइपुगेको थिएँ, जहाँ मन रमाइरहेको थियो। त्यही उत्साहमा मैले सुरु गरेको थिएँ आफ्नो नयाँ स्तम्भ ‘ऋतुविचार’ र आफैंलाई नाम दिएको थिएँ ‘ऋतुराज’।

लाग्यो, पत्रिकाको यसै खेर गइरहेको अन्तिम पृष्ठको सदुपयोग पनि हुने र आफूलाई लागेका कुरा धीत मर्नेगरी लेख्न पनि पाइने। यस स्तम्भको उत्पत्ति असलमा साप्ताहिक अन्तर्वार्ता कालको ‘अन्तर कुन्तरबाट’ सित जोडिएको थियो। अघि नै उल्लेख गरिसकेँ त्यो स्तम्भ थालनी गर्दा कसबाट प्रेरित थिएँ भन्ने कुरा। कता कता लाग्छ रूपरेखा मासिकमा छापिने ब ल म क न द (बालमुकुन्ददेव पाण्डे)को एक पाने स्तम्भबाट पनि म अर्धचेतनमा प्रभावित थिएँ। त्यस स्तम्भमा ब ल म क न द (उनी यसरी नै प्रत्येक वर्णबीच फरक राखेर लेख्थे आफ्नो छोटकरी नाउ)। धेरैजसो भाषा र व्याकरणका मुद्दा उठाउँथे रोचक ढङगबाट।

मैले हिमालमा थालेको एक पृष्ठमा सीमित तीन टुक्रामा खण्डित शब्दको मितव्ययी प्रयोग भएको ‘ऋतुविचार’लाई पाठकले निकै रूचाए।

तीन वर्ष चल्यो मेरो सम्पादनमा नेपाली द्वैमासिक हिमाल। यसको सुरुवाती अंक वैशाख २०५२ मा निस्केको थियो र बिसाउनी अंक फागुन-चैत २०५५ मा। यस अन्तरालमा जम्माजम्मी १७ वटा अंक छापिए। गन्तीमा धेरै होइन, तर जतिञ्जेल चल्यो त्यो सफल भयो पाठकको हृदयमा आफ्नो छुट्टै स्थान बनाउन।

मैले सम्पादनको भारी बिसाएपछि हिमाल पत्रिकाले अर्कै अवतार लियो- कानुनी, स्वामित्व र आवृत्ति हरेक दृष्टिले। यो अब प्राइभेट कम्पनीको स्वामित्वमा गयो। पहिले पाक्षिक र पछि साप्ताहिक खबरपत्रिका बनेर प्रकाशित हुन थाल्यो। तर पनि ‘ऋतुविचार’ छापिने क्रम भने जारी रह्यो। द्वैमासिक, पाक्षिक, साप्ताहिक गरी १५ वर्ष त्यो स्तम्भ नियमित लेखेछु। आफूबाहेक पाँच जना सम्पादकसितको तालमेलमा काम गरेछु। अझै अघि बढ्थ्यो होला मेरो स्तम्भ लेखन तर सबभन्दा पछिल्ला र कनिष्ठ सम्पादकसितको केही असमझदारीले गर्दा त्यो हठात् टुङ्गिन गयो।

कलमलाई सधैं उत्तिकै तीखो अनि रोचक र घोचक बनाइ राख्नु खेलाँची काम होइन। भन्नलाई एक हप्तामा लेखिने एक पृष्ठको स्तम्भ थियो, तर यथार्थमा त्यसले थाहा नपाई निकै समय खान्थ्यो र मगज हुँडल्थ्यो। एक हिसाबले त्यसलाई विश्राम दिने बेला पनि आइसकेको थियो क्यार। फर्केर हेर्दा लाग्छ, जे भयो ठीकै भयो।

नियमित स्तम्भ लेखनबाट मैले स्वेच्छाले लिएको निवृत्तिबाट एक हिसाबले मलाई समय ज्यादा मिल्यो म लागेको पुस्तक प्रकाशन, पुस्तक सम्पादन, अनुवाद कार्य र आफूसम्बद्ध रहेको फिल्म फेस्टिभललाई अघि बढाउन। जे जति लेख्न जानेँ र लेखेँ त्यो वस्तुतः मैले पत्रकारिताबाटै पाएको प्रतिफल हो। ठाडो र सोझो हिसाबले अहिले म पत्रकारिता गरिरहेको छैन। तर लेखन यदि पत्रकारिताकै हिस्सा हो भने त्यो म अहिले पनि गरिरहेको छु एक किसिमले धेरथोर। त्यसरी लेख्ने काम म प्रायशः अनुरोधमा गर्दै आएको छु, त्यो बेग्लै कुरा हो।

जसलाई म पत्रकारिताको बस भनिरहेको छु, त्यसमा घरी भित्र घरी बाहिर गर्दै मैले तय गरेको मेरो सफर यही नै हो, जसको बेलबिस्तार मैले माथि नै लाइसकेँ। ज्यादा के भनुँ! किम् अधिकम्?

जिन्दगी पनि आखिर यस्तै त हो – ‘हप इन एन्ड हप आउट’।