काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

परिकार

तिब्बतमा जन्मियो, काठमाडौंमा हुर्कियो र संसारभर फैलियो

१४ भाद्र २०८२
अ+
अ-

अचेल जेनजी वा सहरी मिलेनियल्स पुस्ताका सामाजिक सञ्जालले बोल्छ- काठमाडौं मम नै ममको सहर हो। उनीहरू हरेक दिन थरीथरीका ममका तस्बिर/भिडियो मुखै रसाउने गरी साझा गर्दै भनिरहेका छन्- मम केवल स्वाद होइन, यो त भावना हो।

ममप्रति नेपालीको लगाव देख्दा लाग्छ- यो हाम्रो पेटभित्र मात्र पुग्दैन, यसको स्वादको अंश आत्मामै गढेर टाँसिन्छ। काठमाडौं उपत्यकाका पुराना साँघुरा गल्ली, नयाँ फराकिला बाटा, नामैबिनाका साना होचा होटलदेखि नामूद तारे रेस्टुराँसम्म एकै समयमा हजारौं मानिस ममको तातो बाफको सुगन्धमा लठ्ठिरहेका छन्। अमिलो पिरो ट्वाक्क अचारको स्वादमा मम खाँदै उनीहरू उद्घोष गरिरहेका छन्- खाजा भनेकै मम।

ममप्रेमीहरूलाई थाहा छ, काठमाडौंको जस्तो मीठो मम कहीँ पाइँदैन। यहाँको मममा जति विविधता सायदै संसारको अन्य कुनै सहरमा होला! मम क्रेज काठमाडौं या नेपालमा मात्र सीमित छैन। संसारभर जहाँ जहाँ नेपाली पुगेका छन्, त्यहाँ त्यहाँ ममको चर्चा र बास छ।

अचेलका पुस्तालाई कुनै बेला नेपालमा मम अस्तित्वमै नरहेको कुरा सुन्दा पनि अचम्म लाग्ला। आजको दिनमा नेपाली भोजन संस्कृतिको अभिन्न हिस्सा बनिसकेको मम देशभित्रै व्यापक बनेको दुई दशक नाघेको छैन। मम सार्वजनिक रूपमा हाम्रो भोजन संस्कृतिमा प्रवेश गरेको सन् १९५० को दशक आसपासदेखि हो।

नारायण दाइको मासाङ गल्लीको ममको स्वाद लिँदै ग्राहक। तस्बिर : बिक्रम राई। नेपालन्युज।

ममको कथा नेपालीसँग जोडिएको पृष्ठभूमि भने धेरै पुरानो छ। काठमाडौंका नेवार समुदाय दक्षिण एसियामा भारत र तिब्बतसँगको मध्यस्थ व्यापारको केन्द्रमा थिए। सहरीकरण: जीविकाका विविध आयाम पुस्तकमा समावेश पीताम्बर शर्माको लेखअनुसार सन् १४८० देखि १७६८ बीच तिब्बतको व्यापार काठमाडौं उपत्यकाका सहरहरूकै नियन्त्रणमा थियो। व्यापार व्यवसायको सिलसिलामा काठमाडौंका कयौं नेवार तिब्बत आउजाउ गरे। कति त साहुजी बनेर उतै स्थापित भए।

तत्कालीन समयमा भारतसँग हुने तिब्बती व्यापारमा काठमाडौंलाई मार्गको एकाधिकार थियो। त्यहाँ व्यापार व्यवसाय गर्ने विशेष सुविधा पाएका नेवारहरूले आफ्नो प्रभुत्व नै स्थापित गरेका थिए। पत्रकार सुधीर शर्माले आफ्नो पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’मा ल्हासामा पाँच सय वर्षभन्दा पुराना नेपाली पसल भएको उल्लेख गरेका छन्। २००० सालमै ह्लासामा नेपाली वाणिज्य संघ खोल्ने पनि तिनै ल्हासा-नेवार थिए। नेवार व्यापारीहरूले भारतबाट महँगा सामान ल्याइ ल्हासाका धनी परिवारलाई बेच्ने गर्थे। यसका लागि उनीहरूले निकै लामो र कठिन यात्रा गर्नुपर्थ्यो। आज पनि ल्हासामा व्यापार गर्नेहरूका सन्ततिलाई ल्हासा-नेवार, ल्हासा-साहु भन्ने गरिन्छ।

नेवार व्यापारीहरू वर्षौंसम्म तिब्बत बस्ने क्रममा त्यहीँको स्थानीय भोजन संस्कृतिबाट प्रभावित हुनु स्वाभाविक थियो। यही प्रभावमा रहर र बाध्यवतावश उनीहरूले त्यहाँ प्रचलित खानेकुरा बनाउने सीप पनि सिके। तिनै व्यापारीले नेपाल फर्केर आफ्ना परिवारका सदस्यलाई ती परिकार बनाउन सिकाएको अनुमान गर्न सकिन्छ।

काठमाडौं यस्तो सहर हो, जहाँ मानिसहरू रेस्टुराँमा जे पनि खान स्वतन्त्र छन्, तर अझै घरभित्र ती खानेकुरा निषेध छ। मम सडकको खाजा भएकाले नेवारभित्रकै गैरनेवारमात्र नभई ‘उच्च वर्ग र उच्च जात’का नेवार पनि धकाउँथे।

इतिहासविद्‌हरू ममको इतिहास बुझ्न चीनको डम्पलिङको इतिहासमा पुग्छन्, जसलाई ‘जियाओजी/जिओजी’ भनिन्छ। उमालेको पानीको बाफमा उसिनेको मैदा/पिठोको डल्लो नै डम्पलिङ हो। चीनको डम्पलिङ तिब्बत आइपुग्दा ‘मोग मोग’ बनेको धेरैको निष्कर्ष छ। तिब्बती मोग मोगमा मासु र अलिकति तरकारी हुन्थ्यो तर मसला हुन्थेन। मासु पनि याक वा भेडाको हुन्थ्यो। ल्हासा—नेवारले काठमाडौंमा राँगाको मासु र मसलाको प्रयोग गरेर मोग मोगलाई नेवारीकरण गरिदिए। अनि आफ्नै नाम पनि दिए, ममचा।

हाल ममको इतिहास, विकास र भविष्यमा केन्द्रित भई पुस्तक लेखिरहेका कशिशदास श्रेष्ठ ल्हासा-नेवारहरूलाई नै मम काठमाडौं भित्र्याउने सूत्रधार मान्छन्। केही लेखहरूमा मम १४ औं शताब्दीमा नेपालबाट तिब्बत गएको काल्पनिक कथा लेखिएको भन्दै उनी भन्छन्, “मम तिब्बतको बाटो भई नेपाल प्रवेश गरेको हो भन्नेमा विवाद गर्नुपर्ने कुनै आधार छैन।”

काठमाडौंका नेवारहरूको भान्सामा मम कहिल्यै परम्परागत भोजनको हिस्सा नरहेको उनको तर्क छ। “सयौं वर्ष पुरानो भोजन परम्परा भएको नेवाः संस्कृतिमा मम नयाँ परिकारका रूपमा पछि थपिएको हो,” उनी थप्छन्, “सन् १८०० को अन्त्यदेखि १९५० को दशकसम्म गुठी वा पारिवारिक गतिविधिका रूपमा सीमित मम त्यसपछि बिस्तारै व्यावसायिक परिकार बन्दै गयो।”

नेपालीको सार्वजनिक स्मृतिमा मम सन् १९४०/५० तिर मात्र देखापर्ने कारण पनि यही हो। क्याराभान टु ल्हासा : अ मर्चेन्ट अफ काठमाडौं इन ट्राडिसनल तिब्बत’ पुस्तकका लेखक कमलरत्न तुलाधरले काठमाडौंमा सन् १९४२ तिर पहिलो पटक सडकछेउ मम पसल देखेको स्मृति साटेका छन्। काठमाडौंको बजारमा मम प्रवेश गर्नुअघि यिनै सम्पन्न ल्हासा-नेवारको घरमा मात्र पाक्थ्यो।

अनि मम बन्यो ममचा

त्यतिबेला घरमै मम चाख्ने सुविधा पाउने सीमितमध्येका एक हुन्, पाटनका महेन्द्रमान शाक्य। उनका बुवा तेजमान शाक्य सन् १९३० मा १३ वर्षको उमेरमा ल्हासा पुगेका थिए, जो केही वर्ष ल्हासामा व्यापार गरेर बसे। महेन्द्रको सम्झनामा उनको घरमा महिनाको एकपटक शनिबार मम पाक्थ्यो र त्यो दिन उत्सवसरह हुन्थ्यो। त्यही बेलादेखिको ममप्रतिको आकर्षणले होला, उनी अहिले पनि मम व्यवसायमा छन्।

काठमाडौं उपत्यकाका पुराना मम पसल। तस्बिर : सामाजिक सञ्जाल।

२००७ सालमा प्रजातन्त्र आउनुअघिसम्म काठमाडौंमा घरबाहिर गएर खाने चलन बसिसकेको थिएन। मार्टिन चौतारीद्वारा प्रकाशित नेपाल इन द लङ नाइन्टिन फिफ्टिज पुस्तकमा प्रवास गौतमको तिलौरी माइलको चिया पसलको इतिहासबारे लेख समावेश छ। लेखअनुसार सन् १९५१ सम्म काठमाडौंमा थोरै खाजाघर मात्र थिए, तीमध्ये धेरैजसो परम्परागत हलुवाइ पसल र भट्टी थिए। हलुवाइ पसल केवल मिठाइ बेच्ने खुद्रा पसल हुन्थे र त्यहाँ बस्ने वा कुराकानी गर्ने व्यवस्था हुँदैन थियो, जबकि भट्टीहरू सीमित ग्राहकका लागि मात्र खुला हुन्थे।

काठमाडौंका पुराना बस्ती असन, ईन्द्रचोक, बसन्तपुर, नयाँ सडक आसपासका क्षेत्रमा केराउ, चना, भटमास बारमजासहित पोलेको वा उसिनेको आलु, मासको बारा, सखरखण्ड, भटमास, चटामरी, सेलरोटी आदि बिक्रीका लागि राखिएका हुन्थे। साँझपख टुँडिखेल वरपर फुटबल खेलाडीलाई लक्षित गरी बरफ र बारमजा बेचिन्थ्यो। मम व्यावसायिक रूपमा बिक्री सुरु भएको क्षेत्र पनि नयाँ सडकदेखि असनवरपर भएकाले यी परिकारमा पछि मम पनि मिसियो। तैपनि मम पाउने ठाउँ कम थिए, खाने मान्छेहरू थोरै हुन्थे।

मान्छेको बसाइँसराइमा मान्छेमात्र हिँड्दैन, ऊसँगै भाषा र खाना संस्कृति पनि छाया बनेर हिँड्छ। ममको भाँडो पनि उनीहरूको छाया बनेर साथ लाग्यो। भाषा र खाना बाँच्यो भने सभ्यता बाँच्छ। श्रमदान गर्न होस्, शिक्षा आर्जन गर्न वा धन कमाउन हरेक नेपालीको जिब्रोले जुनै भूगोल टेके पनि नेपाली स्वाद खोज्यो। विदेशमा हुने बसिबियालो, भोजभतेर, चाडपर्व जहाँ नेपाली भेला भए, त्यहाँ मम उनीहरूको साझा स्वाद बन्यो।

होटल भन्न मिल्ने एकाध बेनामी भट्टीहरू हुन्थे। नामसहितको मम पसलमध्येको एउटा पुरानो नाम नातिकाजीको मम पसल हो। सन् १९५० को आसपासको यो पसलपछि सन् १९६२ मा नारायणदाइको मासँ गल्लीको फेमस मम र सन् १९६६ (२०२१) देखि सञ्चालनमा आएको आरसी मम महत्त्वपूर्ण छन्। धेरैले रञ्जना सिनेमा घरअगाडि आरसी मम खुलेपछि ममले व्यावसायिक फड्को मारेको मत राखेका छन्। रामकृष्ण श्रेष्ठ र चयतानारायण मानन्धरद्वारा सञ्चालित यो पसलबारे चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो आत्मसंस्मरण ‘महको म’ मा समेत चर्चा गरेका छन्।

मदनकृष्ण कुनै बेला भोटेबहालमा आरसी ममका सञ्चालक रामकृष्णको घरमा बस्थे। उनले लेखका छन्, ‘त्यो बेला सडकछेउमा नाङ्लोभरि राखेर बेचिने ममलाई इज्जत दिएर मेचटेबलै राखेर रेस्टुराँकै रूपमा व्यापार गर्ने सम्भवतः रामकृष्ण दाइ नै पहिलो व्यक्ति हुन्। उनले पसलको अघि आरसी ममचा रेस्टुराँ लेखिएको ठूलो साइनबोर्ड नै झुन्ड्याएका थिए।’

रेस्टुराँ खोल्नुअघि बाटोछेउमा दमचुल्हो (स्टोभ) मा पकाइएको मम सालको पातमा राखेर बेच्ने गरिन्थ्यो। त्यसरी मम बेच्नेमा आरसीका सञ्चालक रामकृष्ण पनि थिए। ‘आरसी रेस्टुराँ खोल्नुअघि रामकृष्ण दाइले पनि जनसेवा सिनेमा हल र रञ्जना सिनेमा हलको मूलढोकाबाहिर नाङ्लोमा राखेर त्यसै गरी मम बेचिरहेको देखेको थिएँ,’ मदनकृष्णको पुस्तकमा उल्लेख छ।

काठमाडौंको पुरानो पुस्ताले पहिलो पटक मम खाएको ठाउँ सम्झिँदा रञ्जना हल, विश्वज्योति हल, जनसेवा हल, जय नेपाल हलको नाम आउँछ। चोक, गल्ली हुँदै सिनेमा हलबाहिर बेचिन थालेपछि मम खानेहरूको संख्यामा वृद्धि भयो। आरसी ममको सफलतापछि आमरूपमा ममको लोकप्रियताले फड्को मारेको स्वीकार्ने मम व्यवसायीहरू नै भेटिन्छन्। तीमध्ये एक हुन्, नाङ्लो बेकरी सञ्चालक गोपाल कक्षपति। भन्छन्, “सडक खानाका रूपमा सीमित ममलाई रेस्टुराँ नै खोलेर आरसीले बृहद् समूहमा पुर्‍यायो।”

तस्बिर : बिक्रम राई/नेपालन्युज।

त्यसपछि ईन्दिरा मम, झरना, एभरेस्ट, शानदार, नाङ्लो आदिले ममको विस्तारमा भूमिका निर्वाह गरे। मम महाबौद्ध, धरहरा, जमल, धर्मपथ, बसपार्क, चाबहिलजस्ता मुख्य मुख्य चोकमा पुग्यो। पाटनमा कृष्णमन्दिर, लगनखेल बसपार्क र भक्तपुर बसपार्कलगायत ठाउँमा फैलियो। पाटनको पुरानो मम पसलमा मंगलबजारको केडी ममको नाम पनि उल्लेख्य छ।

मम तिब्बतमा जन्मेर काठमाडौंमा हुर्केको परिकार हो। मूल चीन/तिब्बत भए पनि ल्हासा-नेवारले ममको ‘नेवारीकरण’ गरे। याकको मासुको साटो काठमाडौंमा भैंसीको मासु प्रयोग भयो। तिब्बती ममको आकार ठूलो थियो। प्याजको मात्रा धेरै थियो, सब्जी पनि राखिन्थ्यो। नेवार समुदायले प्याजभन्दा छ्यापीलाई महत्त्व दिए। तिब्बतमा ममको साथी सुप थियो, काठमाडौंमा अचार साथी बन्यो। मरमसलाहरू थपिए। ऋतुअनुसारका पर्व र खाना नेवाः सभ्यताको विशेषता हो। मम पनि नेवारका गुठी र पर्वको हिस्सा बन्यो। चिसो मौसममा तात्तातो मम खाने क्रमको विकास पनि यसरी नै भयो।

नेवाः सभ्यताभित्र विभिन्न गैरनेवार जातजाति, भाषाभाषी र भूगोलका मानिस आएर यहीँको संस्कृतिमा मिसिएका छन्। उनीहरूले नेवारी परिकारलाई पनि उसै गरी आत्मसात् गरे। तर धार्मिक र सामाजिक रूपमा छोइछिटोले जरा गाडेको समाजमा बफ मम लामो समयसम्म नेवारको खान्कीका रूपमा सीमित थियो। उसो त मैदाभित्र लुकेको बफको डल्ला लुकीलुकी क्वाप्प पार्ने ब्राह्मण, क्षेत्रीसमेत नभएका होइनन्। कलाकार मदनकृष्णले आरसी ममले यसमा ठूलै योगदान दिएको लेखेका छन्, ‘काठमाडौंका धेरै बाहुन दाजुभाइलाई भैंसीको मासु चखाउने पसल पनि त्यसबेला त्यही हुनुपर्छ। हुनुपर्छमात्र होइन, हो नै भन्दा पनि फरक नपर्ला।’

काठमाडौं यस्तो सहर हो जहाँ मानिसहरू रेस्टुराँमा जे पनि खान स्वतन्त्र छन्, तर अझै घरभित्र ती खानेकुरा निषेध छ। मम सडकको खाजा भएकाले नेवारभित्रकै गैरनेवारमात्र नभई ‘उच्च वर्ग र उच्च जात’का नेवार पनि धकाउँथे। कक्षपति भन्छन्, “नेवारमा पनि तिब्बततिरको व्यापारमा संलग्न भएका कसंकारहरूले धेरै खान्थे। नेवारभित्रै पनि सबैले स्वीकार गर्ने खाना थिएन यो।”

सन् १९४७ मा नेपाल चेम्बर अफ कमर्स, ल्हासाको कार्यसमिति। तस्बिर: ल्हासा नेवार : नेप्लिज ट्रेडर्स नामक फेसबुक पेजबाट।

एकातिर बफ भएकै कारण र अर्कोतिर सडकको खाजा भएकाले ममबाट ठूलो तप्का छुटिरहेको थियो। खास समूह र वर्गको खानेकुरा रहुन्जेल मम खुम्चिएको, हेपिएको अवस्थामा थियो। यस्तो अवस्था महसुस गरेर सन् १९७६  देखि खुलेको नाङ्लोले सन् १९८५ तिर आफ्नो मेनुमा चिकेन मम प्रवेश गरायो। त्यसपछि भेज मम पनि थपियो, फेरि मटन मम। अनि, छुटेका नेवारइतरका ब्राह्मण, क्षेत्रीजस्ता समुदायका ग्राहक जोडिए।

“ग्राहकले आफूलाई मन लागेको मासु राखेर वा नराखेर पनि मम खान पाए। त्यसपछि ममलाई अस्वीकार गर्ने कोही बाँकी रहेनन्,” कक्षपति भन्छन्, “राम्रो टेबलमा प्रेस्टिजियस खानेकुराका रूपमा बेच्न थालेपछि अलिकति बढी पैसा तिरेर भए पनि ममलाई मध्यम र त्योभन्दा माथिल्लो वर्गले समेत स्वीकार गरे। पर्यटकहरूले पनि ममको स्वाद चाखे।”

ममको विश्वयात्रा एक जनाको रहर वा रुचिको परिणाम होइन। जसरी मान्छे नयाँ ठाउँ जाँदा अलिकति त्यहीँको भइदिन्छ, बाँकी पुरानै रहिदिन्छ, मम पनि त्यस्तै छ। जहाँ गएर पनि मिसिन सक्छ, बदलिन सक्छ तर अन्तर्यमा आफ्नो मौलिक स्वाद गुमाउँदैन।

फुटपाथको खाजाबाट महँगो रेस्टुराँको मेनुमा ल्याउँदा त्यतिबेला नकारात्मक टिप्पणी सहनुपरेको उनी सम्झन्छन्। कतिले भने- यस्तो भव्य रेस्टुराँमा त्यस्तो फुटपाथे खाना?

तर सडकभन्दा रेस्टुराँको आरामदायी वातावरणमा मम खान पाएका धेरै ग्राहकले सराहना गरे। नकारात्मक टिप्पणी हराउँदै गयो। त्यसपछि आधुनिक र महँगा रेस्टुराँको मेनुमा मम समावेश हुनु अनिवार्य बन्यो। आज ममबिनाको मेनु दुर्लभ छ। फाइभस्टारदेखि भट्टी पसलसम्म मम फैलिएको छ। मम नेवारीको खाजामा सीमित नभई नेपालीको खुराक बन्न थालेको चरण यही हो। काठमाडौंमा मटन मम बेचेर यहाँका रैथाने ब्राह्मण/क्षेत्री र सरकारी कर्मचारीलाई समेत आकर्षित गर्ने पुरानो धरहराको झरना ममको नाम पनि यहाँ स्मरणीय छ।

सन् १९५३ मा राजा महेन्द्र कालिम्पोङ भ्रमण । नेवार व्यवसायी समितिका सदस्यहरुले राजालाई ममसहित स्वागत गर्दै। तस्बिर: ल्हासा नेवार : नेप्लिज ट्रेडर्स नामक फेसबुक पेजबाट।

सस्तो र सुलभ रूपमा पाइने मम स्वादिलो त छ नै, अडिलो पनि छ। ब्रेकफास्ट, लन्च वा डिनर जुनै पनि बेला मिल्नु यसको विशेषता हो। मासांहारीलाई मासु पनि खान पाइने भएपछि अरू के चाहियो! त्यो पनि चिकेन, मटन, पोर्क छानीछानी। शाकाहारीलाई पनि पनिर, चिजलगायतका रोजाइ। दाल-भातसरहकै काम चलाउने मम काठमाडौंमा खुम्चिएर बस्ने कुरै थिएन।

यता काठमाडौं उपत्यकामा जस्तै तिब्बतसँग व्यापारिक संसर्गमा रहेका दार्जिलिङलगायत भारतका केही ठाउँमा पनि मम पुगिसकेको थियो। नेवार व्यापारी जहाँ जहाँ बसे, त्यहाँ त्यहाँ मम फैलाए। दार्जिलिङसँगको सम्बन्धकै कारण सन् १९६१/६२ तिर नेपालको धरानमा मम पसल खुलिसकेको थियो।

सन् १९५९ को तिब्बत विद्रोह र दलाई लामाको प्रवासनपछि जब तिब्बती शरणार्थीहरू भारत आए, त्यसपछि दिल्लीको मजनूका टिलादेखि कर्नाटकको बाइलाकुप्पेसम्मका शरणार्थी शिविरसम्म मम फैलिएको अमिशराज मुल्मीले आफ्नो लेखमा उल्लेख गरेका छन्।

ज्ञानेश्वर उकालोमा रहेको किरण दाइको मम पसल। तस्बिर : प्रभाकर गौतम/नेपालन्युज।

कशिश सन् ८०/९० को दशक देशभित्र ममको विस्तार उत्कर्षमा पुगेको समय मान्छन्। एउटै नाम र ब्रान्डका मम पसलहरूको सञ्जाल यसको एउटा कारण हो। काठमाडौंमा ४० वर्षदेखि सञ्चालनमा आएका र पारिवारिक विरासत धान्ने मम चेनहरू पनि प्रशस्तै छन् जसको नाम नै ब्रान्ड बनिसकेको छ। यस्ता केही ब्रान्डका चेन काठमाडौंबाहिरका सहरहरूमा समेत फैलिँदो छन्। तिनले ग्राहकमा फरक स्वाद, शैली र अनुभव बाँडेका छन्। कतै परम्परागत स्वाद त कतै नयाँ प्रयोगसहितका स्वाद। कसैले सालको टपरीमा, कसैले प्लाटरमा।

एभरेस्ट मम, न्यु एभरेस्ट मम, बगलामुखी मम, धरहरा मम, किरण दाइको मम, माँसगल्लीको नारायाणदाइको फेमस मम, फाइभस्टार मम, मम मन्त्र, मम म्याजिक, ओम मम, ललितपुरको ठूले दाइको टपरी मम, किरण दाइको मम, मम किङ, विशाल मम, शिखर मम, क्लासिक मम, शानदार मम, नाइस मम, डल्ले मम, दार्जिलिङ मम आदि केही चलेका मम पसल हुन्। यसका अलावा नाङ्लो, होटल अन्नपूर्ण, द्वारिकाज, र्‍याडिसन, सांग्रिला र हायतजस्ता ठूला होटलमा पनि ममको बाक्लै खपत हुन्छ। सामान्य रेस्टुराँ वा स्टलहरूमा प्लेटको १ सय ३० देखि ३ सय रुपैयाँसम्म मोल राखिएको देखिन्छ। महँगा होटलको मूल्य ४ सयदेखि १ हजार रुपैयाँसम्म हुन्छ। चल्तीमा रहेका मम पसलमा औसतमा दैनिक ५ सयदेखि १ हजार प्लेटसम्म मम बिक्री हुन्छ।

नेपाली स्वादको प्रतिनिधि

हाम्रो भान्छामा धनियाँ भनेजस्तै कोरियाली भान्सामा मिनारी खुब प्रयोग हुन्छ। यो पानी पायो कि सप्रेर झाङ हालिहाल्ने बिरुवा हो। पहिलो वर्षमा सुस्त गतिमा हुर्किने यो बिरुवा दोस्रो वर्ष छिट्छिटो बढ्छ। कोरियाली आप्रवासीको संघर्ष चित्रण गरिएको मिनारी फिल्ममा यसलाई कोरियाली विम्बका रूपमा प्रयोग गरिएको छ, जसले मिनारीका आप्रवासी पात्रलाई आफ्नो देशसँग जोड्छ। नेपाली ममको चरित्र पनि कोरियाली मिनारीजस्तै छ। विदेशी भूमिमा मम यस्तै विम्ब हो, जसले नेपालीलाई आफ्नो देश र संस्कृतिसँग जोडिरहेको छ। मम देशभित्र र बाहिर मिनारीजस्तै पहिलो वर्षभन्दा दोस्रो वर्ष तीव्र गतिमा फैलिइरहेको छ।

कशिश हाल विश्वका धेरै देशमा मम विस्तारको यात्रा निकै रोचक मोडमा पुगेको बताउँछन्। उनका अनुसार नेपालमा यसको लोकप्रियता अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। संसारभर यसको विस्तार पनि अहिलेसम्मकै छिटो भइरहेको छ। बेलायत, जर्मनी, क्यानाडा, अप्रिका, इटाली, फ्रान्स, युनाइटेड अरब इमिरेट्स, कतार, साउदी अरब, हङकङ, कोरिया, जापानदेखि रुससम्मका बजारमा नेपाली ममको उपस्थिति बढ्दो छ।

वाउ मम, भारत। तस्बिर: वाउको फेसबुकबाट।

विशेष गरी भारत र अमेरिकामा यसको दर अझ बढी छ। भारतका दिल्ली, बम्बई, बैंगलुरुजस्ता सडकमा पाइने मम स्टलदेखि ठूला ब्रान्डका मम व्यवसायमा नेपाली समुदायको व्यापक सहभागिता छ। भारतमा नेपालीले चलाएका मम स्टलहरूको नेपाली परिचय नै ‘गुणस्तर’ को प्रतीक बन्न पुगेको छ। वाउ मम, प्रसुमा फ्रोजन मम जस्ता भारतका केही ठूला ब्रान्डसमेत नेपालीले नेतृत्व लिएर नेपाली स्वादको दबदबा बढाइरहेका छन्। काभ्रेका विनोद हुमागाईंले सहपाठी सागर दरयानीसँग मिलेर खोलेको वाउ मम कोलकाताको एउटा सानो सटर भाडामा लिई सुरु भएको थियो। सन् २००८ मा ३० हजार भारुबाट सुरु भएको वाउ ममको भारतमा करिब दुई सय आउटलेट पुगिसकेको छ। अधिकांश ठूला सहरमा नम्बर वान मम ब्रान्डका रूपमा स्थापित हुँदैछ। भारतकै अर्को ठूलो ब्रान्ड प्रसुमा (फ्रोजन मम) का सञ्चालक पनि नेपाली समुदायका हुन्।

जुजु मम, बोस्टन। तस्बिर : गुगल स्ट्रिटभ्यूको सहयोगमा।

न्यूयाेर्कको क्विन्समा खुलेको पहिलो मम पाइने रेस्टुराँ हिमालयन याक, बोस्टनको जुजु मम, उटाहको भान्साघर विदेशमा नेपाली मम विस्तारका उदाहरण मात्र हुन्। न्युयोर्कमा मात्रै ५० भन्दा बढी नेपाली मम स्टल छन् भने अमेरिकाका प्रत्येक राज्यमा मम भेटिन्छ। कतिपय भारतीय रेस्टुराँमा नेपाली सेफ हुने भएकाले नेपाली स्वादको मम पाइन्छ।

हाल ममको इतिहास, विकास र भविष्यमा केन्द्रित भई पुस्तक लेखिरहेका कशिशदास श्रेष्ठ ल्हासा-नेवारहरू नै मम काठमाडौं भित्र्याउने सूत्रधार मान्छन्। केही लेखहरूमा मम १४ औं शताब्दीमा नेपालबाट तिब्बत गएको काल्पनिक कथा लेखिएको भन्दै उनी भन्छन्, “मम तिब्बतको बाटो भई नेपाल प्रवेश गरेको हो भन्नेमा विवाद गर्नुपर्ने कुनै आधार छैन।”

अमेरिकामा हुने खाना महोत्सवहरूले ममको प्रचारमा योगदान दिएका छन्। न्युयोर्कको मम क्रल, टेक्ससको मम महोत्सव यसका उदाहरण हुन्। सन् १९९० को दशकदेखि नै अमेरिकालगायत देशमा अध्ययन गर्ने नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय खाना महोत्सव र अन्य कार्यक्रमहरूमा कलेजमै मम बनाएर प्रस्तुत गर्दै आएका छन्। अचेल विशेष महोत्सव नै मनाउन थालिएको छ। न्युयोर्कको मम क्रलमा ३५ सयभन्दा बढी सहभागी हुन्छन्, जहाँ गैरनेपालीको बाहुल्य हुन्छ। टेक्ससको मम महोत्सवमा १० हजारभन्दा बढीको सहभागिता हुन्छ, जसमा नेपालीको बाहुल्य हुन्छ। कशिश भन्छन्, “सन् २०१५ सम्म यो सम्भव थिएन।”

मम मोमेन्ट, हङकङ। तस्बिर : गुगल स्ट्रिटभ्यूको सहयोगमा

गोर्खा सैनिक परिवारको बसाइँका कारण नेपालीहरूको बाक्लो उपस्थिति रहेको हङकङमा जोर्डन, योन लङजस्ता ठाउँमा मम खाने ठाउँ यत्रतत्र भेटिन्छन्। हङकङमा हुर्केकी कलाकार सुजाता गुरुङ त्यहाँका हरेकजसो रेस्टुराँमा मम पाउने बताउँछिन्। उनका अनुसार जोर्डनको चटपटे हाउस टेक अवेका लागि प्रसिद्ध छ। फुर्सद, छुट्टी वा चाँडबाडको बहाना मिल्यो कि हङकङका नेपालीवासी घरमै मम बनाएर खाने सुजाताको अनुभव छ। हाल काठमाडौंमा बस्ने उनी भन्छिन्, “म अहिले नेपालमै छु, तर हङकङमा रहेकी बहिनीसँग कुरा हुँदा ममको गफ भइरहन्छ। उसले भर्खरै खुलेको नेवारी लाखे रेस्टुराँमा झोल मम खाई रे! खुब मिठो थियो भन्दै थिई।” सुजाता हङकङमा बहिनीले घरमै बनाएको मम र दुई तीनथरीका अचार मिस गरिरहेकी छिन्।

बर्लिनको दाल भात रेस्टुराँ होस् वा जोर्डनको चटपटे हाउस- हरेक ठाउँमा ममसँग जोडिएका यस्तै किस्सा भेटिन्छन्।  बेलायत र अस्ट्रेलिया गरी एक दशकभन्दा बढी समय विदेशमा बिताएका चर्चित ब्यान्ड कन्दराका गायक विवेक श्रेष्ठ हाल पोखरामा छन्। पोखराको सुपसहितको मम नियमित खाने उनी विदेश गएका सुरुवाती दिनमा मम खुबै मिस गर्थे। “सुरुमा मम खाने ठाउँ कम थियो, हामी घरमै बनाउँथ्यौं। सबै मिलेर घरमा मम बनाउने प्रक्रिया नै उत्सवजस्तै हुन्छ। बिस्तारै हरेक नेपाली रेस्टुराँको मुख्य डिस नै मम हुन थाल्यो,” उनी सम्झन्छन्, “विदेशी भूमिमा नेपाली खानाको वास्तविक प्रतिनिधित्व ममले नै गरेजस्तो लाग्छ। मम अघोषित राष्ट्रिय खाना बनिसकेको छ र यसले बाहिर बस्ने नेपालीलाई जोड्ने काम गरेको छ।” उनले भनेजस्तै नेपाली रेस्टुराँ चलाउनेहरूले प्रायः मममार्फत नेपाललाई चिनाइरहेका छन्।

८८४८ मम हाउस, मेलबर्न। तस्बिर- गुगल स्ट्रिटभ्यूको सहयोगमा

२०४६ सालको राजनीतिक परिवर्तनपछि विदेश जाने नेपालीको संख्या बढ्न थालेको हो। २०५२ मा माओवादी सशस्त्र द्वन्द्वपश्चात् विदेश पलायन हुने ह्वात्तै थपिए। मान्छेको बसाइँसराइमा मान्छेमात्र हिँड्दैन, ऊसँगै भाषा र खाना संस्कृति पनि छाया बनेर हिँड्छ। ममको भाँडो पनि उनीहरूको छाया बनेर साथ लाग्यो। भाषा र खाना बाँच्यो भने सभ्यता बाँच्छ। श्रमदान गर्न होस्, शिक्षा आर्जन गर्न वा धन कमाउन हरेक नेपालीको जिब्रोले जुनै भूगोल टेके पनि नेपाली स्वाद खोज्यो। विदेशमा हुने बसिबियालो, भोजभतेर, चाडपर्व जहाँ नेपाली भेला भए- त्यहाँ मम उनीहरूको साझा स्वाद बन्यो। ममले उनीहरूलाई होमसिकबाट जोगाउन ठूलै भूमिका निर्वाह गर्‍यो। चाहे त्यो न्युयोर्क होस् वा लन्डन। बर्लिन, सिड्नी वा टोकियो जहाँका नेपाली भए पनि उनीहरूले मम सोचे, मम खोजे। हाल अमेरिकामा रहेका कशिश भन्छन्, “म जहाँ जान्छु मम खोज्छु। हरेक दिन खाजामा मम नै खान चाहन्छु म।”

सन् २००० मा बानेश्वरमा मम किङ चेन सुरु गरेका महेन्द्रमान तुलना गर्छन्, “मम काठमाडौंभन्दा बाहिर र दक्षिण एसियाभरि नै फैलिन सक्छ भनेर धेरैले नसोचेको कुरा हो। अमेरिका, युरोपदेखि अफ्रिकासम्म पुग्ला कल्पनाभन्दा परको कुरा हो।” २५ वर्षमा ममले मारेको फड्को देखेर उनी पनि उत्साहित छन्। पाटनपछि भर्खरै मखन वसन्तपुर तलेजुभवनपछाडि मम किङको नयाँ शाखा विस्तार गरेका छन्। उनी भन्छन्, “विदेशीलाई मम खुवाउँदै नेपाली सम्पदा र धरोहरसँग साक्षात्कार गराउन यो ठाउँ रोजेको हुँ।”

मखन गल्लीस्थित महेन्द्रमान शाक्यको मम आउटलेट। तस्बिर : बिक्रम राई/नेपालन्युज।

जसरी नेपालका सबैजसो रेस्टुराँमा ममबिनाको मेनु हुँदैन, विदेशमा नेपालीले सञ्चालन गर्ने रेस्टुराँमा पनि त्यसकै अनुसरण भयो। प्रवासमा बसेका केहीले रेस्टुराँमा मममार्फत नेपाली स्वादमात्रै फैलाइरहेका छैनन्, केहीले ममको प्रचारप्रसारलाई मुख्य अभियानसमेत बनाएका छन्। तिनैमध्ये एक हुन् सेफ विनोद बराल, जसले बेलायतमा टिपिकल नेपाली रेस्टुराँ रोटी मम सञ्चालन गरेका थिए। “नेपालीहरूले ममलाई स्टार्टरमा हाल्थे, मैले पहिलो पटक मेन कोर्स बनाएर ममको ब्रान्डिङ गरेँ। मेरो रेस्टुराँमा ममका ५५ परिकार पाइन्थ्यो।”

विदेशका केएफसी, अर्कोतिर बर्गर पिज्जा हब अनि बीचमा नेपाली मम। अस्ट्रेलियामा म्याकडोनाल्ड र केएफसीको बीचमा मम। संसारकै ठूला ब्रान्डहरूको बीचमा विदेशी भूमिमा नेपालको ब्रान्डिङ गर्ने यो भन्दा सुन्दर अर्को दृश्य के नै होला भन्छन् सेफ विनोद। ममका अभियन्ता बनेर देश विदेश घुमेका उनको गएको ३ साउनमा यूके फुड फेस्टिभलमा ममका पाइलाहरू पुस्तक विमोचन भएको छ।

यसरी संसारका ठूला प्लेटफर्ममा शानदार उपस्थिति र अथाह सम्भावना बोकेको ममले अर्थ, रोजगारी र उद्यमशीलताको बलियो स्रोत प्रदान गरेको छ। कशिश भन्छन्, “मम अर्थतन्त्रको औपचारिक तथ्याङ्क छैन, तर मम नेपाली रेस्टुराँ अर्थतन्त्रको मुख्य आधार हो भन्नेमा शंका छैन। यो त औपचारिक व्यापारको मात्रै कुरा हो, अनौपचारिक अर्थतन्त्र त झनै विशाल छ।” मम विदेशीलाई नेपाली भोजन संस्कृतिसँग परिचित गराउने प्रवेशद्वार हो। ममको स्वादमा पल्केर विदेशीहरू अन्य खानातिर लम्किने सम्भावना धेरै छ। त्यसैले ममलाई समग्र खानाको अर्थतन्त्र उकास्ने माध्यमका रूपमा समेत योजनाबद्ध रूपमा उपयोग गर्न सकिन्छ।

संस्कृति र पहिचानको संरक्षणमा पनि ममको योगदान कम छैन। मम केवल बजारको खुराक होइन। स्वदेश/विदेश जहाँ नेपाली छन्, त्यहाँ घरघरमा मम पार्टी हुन्छ। समूहमा बसेर मैदा/पिठो मुछ्ने, बेल्ने, किमा बनाउने, डल्लो पार्ने, मम बसाल्ने र कहिले पाक्ला भनेर व्यग्र प्रतीक्षा गर्ने प्रक्रिया सामाजिक हिसाबले महत्त्वपूर्ण छ। यस्तै बेला कसले बढी मम खाने प्रतिस्पर्धा हुन्छ। सामाजिकीकरण प्रक्रियामा यसले मान्छेलाई घुलमिल गराउँछ।

ममको विश्वयात्रा एक जनाको रहर वा रुचिको परिणाम होइन। जसरी मान्छे नयाँ ठाउँ जाँदा अलिकति त्यहीँको भइदिन्छ, बाँकी पुरानै रहिदिन्छ, मम पनि त्यस्तै छ। जहाँ गएर पनि मिसिन सक्छ, बदलिन सक्छ तर अन्तर्यमा आफ्नो मौलिक स्वाद गुमाउँदैन।

ल्हासाको एक व्यापारिक केन्द्रमा सन् १९३८ मा नेवार व्यापारीहरु। तस्बिर: ल्हासा नेवार: नेप्लिज ट्रेडर्स नामक फेसबुक पेजबाट।

यो यस्तो सांस्कृतिक अन्तर्घुलनको यात्रा हो, जसमा बौद्ध परम्परा र व्यापार मिसियो। मम नेवार समुदायले हिमालपारिको जटिल र साहसिक यात्राबाट ल्याएको कोसेली हो। जीजिविषाको संघर्षका क्रममा प्राप्त मितेरी चिनो हो। ल्हासा-नेवार जगतवीरसिंह कंसाकारको किताब सय वर्षभन्दा अघिको ल्हासा (एक झलक) मा ल्हासाको कठिन यात्राको वर्णन गरिएको छ। त्यसबेला हिमाली नाकाहरू पार गर्दै, सुनसान जंगल छिचोल्दै ल्हासा पुग्न झन्डै एक महिना लाग्थ्यो। कति व्यापारी घरमा श्रीमती छोडेर जान्थे र उतै तिब्बती युवतीसँग दोस्रो बिहे गरेर समेत बस्थे। नेपाल भाषाको लोकसाहित्यमा तिब्बत व्यापारका सामाजिक कथाव्यथा प्रशस्तै छन्। तीमध्ये चर्चित एउटा गीतिकथाको अंश यस्तो छ :

जि वया ला लछि मदुनी (म आएको एक महिना पनि भएको छैन)।

करिब दुई सय वर्ष पुरानो यो गीतिकथाले ल्हासा (तिब्बत) व्यापार गर्न जाँदा श्रीमान्/श्रीमतीबीच हुने विरहको कथा बोल्छ। लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित वियोगान्त मुना मदन यही जि वया ला लछि मदुनीबाट प्रभावित थियो।

ममको आगमनमा विरहका गीतमात्रै रचिएनन्, नेपाली स्वाद र सीपका कथा पनि लेखिए। गणतन्त्र स्थापनापछिको चरण सामाजिक सञ्जाल व्यापक बनेको समय पनि हो।

नेपाली मम । तस्बिर : बिक्रम राई/नेपालन्युज।

मम अब भान्साभित्रको कुरा मात्र रहेन। सोसल इन्फ्लुएन्सरहरूमार्फत यो इन्स्टादेखि टिकटकसम्म डुलिरहेको छ। कहाँ कस्तो मम पाइन्छ भनेर थाहा पाउन सरसर्ती सामाजिक सञ्जालका भित्ता चहारे पुग्छ। सामाजिक सञ्जाल र नयाँ प्रविधिका माध्यमबाट ममले युवा पुस्तालाई लोभ्याउन सफल भइरहेको छ। लोभिनेहरू ममको लतमा फसिरहेका छन्। भ्लग, ब्लग, मिमदेखि पुस्तकहरूमा समेत ममले ठाउँ बनाइरहेको छ। छिमेकी देशदेखि दूरदराजका पर्यटक आएर मम विशेष भ्लग, सर्ट्स आदि सामाजिक सञ्जालमा यत्रतत्र बढिरहेका छन्। नेपाली ममको विश्व घुमघाममा यी सामग्रीले एक दशकमा नहुने प्रचार एक वर्षमै सम्भव भएको छ।

ममको स्वाद र क्रेज अभिव्यक्त गर्ने अनेक अन्दाज छन्, जुन सङ्गीतको माध्यमबाट समेत पोखिएको भेटिन्छ। गल्ली टेप युट्युब च्यानलको गीत मोमो इज किङ एउटा उदाहरण हो, जसको अंश यस्तो छ :

जाडो भयो यार (खाम तातो मोमो)

आऊ गफ गर्नुछ  (मोमो खाँदै गरौं)

पकाउनै मन छैन  (जाम खान मोमो)

मोमो एक, छन् बहाना अनेक ।

ममको लोकप्रियता झल्काउने ‘ठिक है!’ शीर्षकको यो भोजपुरी गीतका शब्दहरू त झन् ममजत्तिकै स्वादिला छन्। खेसरीलाल यादवको गायन, आशिष बर्माको संगीत र आजाद सिंह र प्यारेलाल ‘कविजी’को शब्द रहेको गीतले भन्छ :

चाउमिन मोमोज खाएगें

नेपाल मे बस जाएगें

ठिक है?

एकदम ठिक है।