काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

यो साताको सिनेमा

कलाकारले धानेको बहकिएको कथा

१४ भाद्र २०८२
अ+
अ-

गत वर्ष ४६ करोडभन्दा बढीको ऐतिहासिक व्यापार गर्न सफल पूर्णबहादुरको सारंगीपछि अभिनेता विजय बरालको प्रतीक्षित सिनेमा हो, जनै हराएको मान्छे

निर्देशक हिमाल न्यौपानेको यो फिल्ममा विजयसँगै केकी अधिकारी, मिरुना मगर, भोलाराज सापकोटा, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, रूपेश लामा, भावना खपाङ्गी राई, सुमन थापालगायत कलाकार छन्। फिल्म भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको हो। नारायण तिम्सिना, सीएम सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डीसी र जेम्स महर्जन फिल्मका निर्माता हुन्।

हामीले यसपटकको ‘साताको सिनेमा’ मा जनै हराएको मान्छेकै समीक्षा गरेका छौं। समीक्षामा पाँच विधा समेटी विधागत रूपमा अंक प्रदान गरिएको छ। जसअनुसार अंक १ कमजोर, २ औसत, ३ राम्रो, ४ उत्तम र ५ अति उत्तम हो।

कथा/पटकथा — अंक (२)
कलिलो उमेरमै सीताराम (विजय) ले आमा गुमाउँछ। बुबा (भोलाराज) पनि वृद्ध। ऊ जवान भएपछि घरको ऋण चुक्ता गर्न दक्षिण कोरिया जाने लक्ष्य बोकेर काठमाडौं आउँछ। तर काठमाडौंमा अनेक हन्डर–ठक्कर खान्छ। बुबा जीवित छँदै अरूको लास जलाउने किरियापुत्रीसमेत बन्न बाध्य हुन्छ। यस्तो परिबन्धबाट उम्केर के सीताराम कोरिया गएर ऋण तिर्न सक्ला? वृद्ध बुबा र उसको भेट होला? पात्रहरुको गन्तव्य खोज्दै कथा अघि बढ्छ, तर बहकिँदै–बरालिँदै। कोरियाली भाषा सिकेर विदेश जान जे जस्तो अवरोध र द्वन्द्वको कथानक बुनिएको छ, त्यो फितलो छ।

सीताराम काठमाडौं आएर आफ्नी दिदी (केकी) र भिनाजु (गौरव) सँग बिताउने क्षण बाहेक अस्पतालमा मिरुनासँगको परिचय, हिमचिमदेखि चोर र गुन्डाहरूसँगको जम्काभेटसम्मका ‘ट्वीस्ट एन्ड टर्न’ले पात्र–दर्शकबीचको संवेदना जोड्नेभन्दा भत्काउने काम गरेको छ। जनै चुँडिएको दृश्य फिल्मकै सशक्त घटना हुनुपर्ने हो। तर उक्त कथानकको आधारै कमजोर बनेको छ।

मूल कथा र उपकथाबीचको अलमलले फिल्म जति अघि बढ्छ, उति खल्लो लाग्छ। पटकथामा समस्यै समस्या छन्।

बुबाछोरा, दिदीभाइबीचको सम्बन्ध र विदेश जाने बाध्यता हाम्रो समाजको आम कथा हो। कथाका यस्ता फुर्काहरूले दर्शकलाई छुन्छ पनि। ‘आमाको लासभन्दा गह्रुँगो यो संसारमा कुनै भारी नै हुँदैन रैछ’, ‘मेरो सपना पूरा नहुन्जेलसम्म मेरा बालाई बुढो नहुनू भन्नु है’ जस्ता संवाद केही उदाहरण हुन्। तर यस्ता संवाद र दृश्यको थुप्रोले झिँझो लाग्छ।

गाउँका मान्छे निर्दोष हुन्छन् र सहर आएपछि ठगिन्छन् भन्ने पुरानै भाष्यको निरन्तरता जनै हराएको मान्छेमा पनि भेटिन्छ।

अभिनय — अंक (३)
केन्द्रीय भूमिकामा विजयले फिल्म धान्ने अभिनय गरेका छन्। किरियापुत्री बनेको केही दृश्यमा उनको अभिनय शक्तिशाली देखिएको छ। तर चरित्रमा दुःखी पात्रको एकोहोर्‍याइँले पूर्णबहादुरको सारंगीभन्दा नयाँ केही छैन। फरक यत्ति हो, पूर्णबहादुरको सारंगी बुबाको आँखाबाट देखाइएको बुबाछोरा सम्बन्धको कथा थियो। यो छोराको आँखाबाट।

छोटो भए पनि केकी अधिकारीको अभिनय प्रशंसनीय छ। संवादबिनाका दृश्यमा समेत उनको अभिनय भावोत्तेजक छ। भोलाराजको पात्रलाई भने भरपुर प्रयोग गरिएको छैन। गौरवको जादूगर पात्रले केही छिन भए पनि दर्शक हसाउँछन्।

फिल्मका अन्य सहायक पात्रहरूको काम चरित्रअनुसार सुहाउँदो नै छ। तर, अहिलेकी जल्दोबल्दो अभिनेत्री मिरुना मगरको चरित्र र अभिनयले भने दर्शकलाई निराश पार्न सक्छ।

संगीत — अंक (२)
फिल्ममा संगीत र कथाको तादात्म्य स्थापना गर्ने र सम्झिइरहने कुनै गीत छैन। चिच्याएर मात्र दुःख पोख्नु गीत होइन। मसुरीको दानाआमा प्रोमोशनल गीत हुन् भने आधाआधी फिल्ममा समावेश गीत हो। एसडी योगी, थानेश्वर गौतम, प्रशान्त सिवाकोटी र अर्जुन पोखरेलको संगीतमा तयार भएका फिल्मका गीत औसत मात्र छन्।

प्राविधिक पक्ष — अंक (२.५)
नवीन गुरुङ डीओपी र कृष्ण परियारको छायांकन रहेको फिल्ममा दर्शकलाई रुवाउने अभिप्रायले बुनिएका दृश्यहरूमा ‘क्लोज’ सट धेरै छन्। सहरको भीडमा एक्लिएको पात्र देखाउने केही ‘वाइड शट’ पनि छन्। कतिपय दृश्यमा ‘कम्पोजिसन’ र ‘फ्रेमिङ’को सन्तुलन सुन्दर लाग्छ। कतै आवश्यकभन्दा छोटा त कतै अनावश्यक लामा दृश्यहरूले सम्पादन चुस्त हुनसक्ने ठाउँ छोडेको छ। कानै बिझाउने पार्श्वसंगीत र औसत साउन्ड डिजाइन अर्को कमजोरी हो।

निर्देशन — अंक (२.५)
निर्देशन प्राविधिकभन्दा बढी सिर्जनात्मक र वैचारिक काम हो। जनै हराएको मान्छेमा कलाकारमार्फत काम लिनसक्नु निर्देशकको सबल पक्ष हो। तर निर्देशकले जसरी फिल्मलाई कारूणिक बनाउन खोजेका छन्, त्यो पूर्णबहादुर सारंगीको सफलता भजाउने प्रयास मात्र हो कि भन्ने सन्देह जाग्छ।

फिल्ममा जनैलाई ‘सम्बन्धका धागो’ का रूपमा चित्रण गर्ने प्रयास गरिए पनि यो अनिष्टको विम्बका रूपमा मात्र आएको छ। सीताराम बालक छँदा उनकी आमाले भनेकी हुन्छिन्– यो जनैलाई शरीरबाट अलग्गिन दिनुहुँदैन नि। ठूलो खति हुन्छ छोरो। नभन्दै, पहिलोपटक जनै चुँडिँदा सीताराम बोलेलगत्तै आमा बित्छिन्।

अर्को दृश्यमा सीतारामका बुबाले ‘अब म छोराको बाउ भएँ, मलाई पिण्ड दिने छोरो आयो’ भनेको संवादले पनि अन्धविश्वासलाई नै प्रश्रय दिइरहेको हुन्छ।

नेपाली समाजको विदेश जाने संघर्षको विरहलाई निर्देशकले आफ्नो वैचारिकीको फेरो समाउँदै कथामा घुसाउँदा रूढिवादकै पक्षपोषण भएको छ।