काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ भाद्र २०८२
अ+
अ-

वासिङ्टन। अमेरिकी पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकालमा लगाएका धेरै भन्सार शुल्कहरूलाई गैरकानूनी ठहर गरेको छ।

अदालतले आपतकालीन आर्थिक शक्ति ऐन अन्तर्गत राष्ट्रपतिले भन्सार वृद्धि गर्ने अधिकार नहुने स्पष्ट गर्दै, भन्सार सम्बन्धी सम्पूर्ण अधिकार संसदको क्षेत्राधिकारमा पर्ने निर्णय सुनाएको हो। यसले चीन, मेक्सिको, क्यानडा लगायतका मुलुकसँगको व्यापारिक सम्बन्धमा प्रत्यक्ष असर पार्ने अपेक्षा गरिएको छ।

यो फैसला आगामी अक्टोबर १४ देखि लागू हुने छ, जसअघि अमेरिकी प्रशासनलाई सर्वोच्च अदालतमा पुनरावेदन गर्ने समय रहनेछ।

निर्णयप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियल मार्फत यो कदमले अमेरिकाको अर्थतन्त्रलाई पूर्ण रूपमा नोक्सान पुर्‍याउने दाबी गरेका छन्।

यस फैसलाले अन्य मुलुकहरूसँग भन्सार दरसम्बन्धी गरिएको सम्झौतामाथि पनि प्रश्न खडा गरेको छ। अब यो मुद्दा सर्वोच्च अदालत पुग्ने प्रबल सम्भावना देखिएको छ, जहाँ रिपब्लिकन न्यायाधीशको बहुमत छ र तिनमध्ये तीनजना ट्रम्पकै नियुक्ति भएका हुन्।