काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ भाद्र २०८२
फाइल फोटो/रोयर्टस
अ+
अ-

काठमाडौं। युक्रेन संसदका पूर्व सभामुख आन्द्रिय पारुबियीको गोली हानी हत्या भएको छ। युक्रेनको पश्चिमी सहर ल्भिभमा उनको गोली हानी हत्या भएको हो। सामाजिक सञ्जालमा आएको भिडियोमा कोरियरको भेषमा आएको व्यक्तिले सडकमा हिँडिरहेका पारुबियीलाई पछ्याउँदै हातहतियार देखाएर गोली चलाएको देखिएको अन्तर्राष्ट्रिय संचार संस्था बीबीसीले जनाएको छ । आक्रमणकारीको प्रहरीले खोजी कार्य गरिरहेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणलाई भयानक हत्या भन्दै पारुबियीको परिवारप्रति संवेदना व्यक्त गरेका छन्।

५४ वर्षीय पारुबियी युक्रेनको युरोमैदान आन्दोलनका अगुवामध्येका एक थिए। सो आन्दोलनले युरोपियन संघसँग निकट सम्बन्धको माग गर्दै २०१४ मा तत्कालीन रूस–समर्थक राष्ट्रपति भिक्टर यानुकोभिचलाई सत्ताच्युत गरेको थियो। अधिकारीहरूले आक्रमणकारीलाई पक्राउ गर्न ‘सायरन’ नामक विशेष अपरेसन सुरु गरेको जनाएका छन्।

ल्भिभ प्रहरी प्रमुख ओलेक्सान्द्र श्लियाखोभ्स्कीले दिउँसो पत्रकार सम्मेलनमा आक्रमणकारीले पहिचान हुन बाँकी रहेको बन्दुकबाट करिब आठ राउन्ड फायर गरेको बताएका छन्। उनले आक्रमण धेरै योजनाबद्ध देखिने टिप्पणी गरे। ल्भिभका प्रमुख अभियोजक मिकोल मेरेतले आक्रमणको सम्भावित सबै कारणबारे अनुसन्धान भइरहेको र त्यसमा रूसी संलग्नताको कोण पनि खारेज नगरिएको बताए।