दुई सय वर्षसम्म पनि भएन बेलायती प्रधानमन्त्रीको नेपाल आगमन
बेलायतमा राजा राष्ट्रप्रमुख हुन्। प्रधानमन्त्री, मन्त्रीलाई उनैले नियुक्त र बर्खास्त गर्छन्। युद्ध घोषणा, सेनालाई निर्देशन दिनेसँगै संसद् र सरकारले गरेका निर्णयमा राजाले नै लालमोहर लगाउँछन्।
नेपालसँग दुई शताब्दी लामो कूटनीतिक सम्बन्ध रहेको बेलायतबाट फरक-फरक समयमा महाराज, महारानी, युवराज, युवराज्ञी, राजकुमार र राजकुमारीले नेपाल भ्रमण गरिसकेका छन्। तर, शासन सञ्चालनमा कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्री भने दुई सय वर्षसम्म नेपालको औपचारिक भ्रमणमा आएकै छैनन्।
सन् १८१४ देखि १८१६ सम्म चलेको युद्धपछि सुगौलीमा नेपाल र इस्ट इन्डिया कम्पनीबीच शान्ति तथा मैत्री सन्धि भएको थियो। त्यसयता नै दुवै देशबीच कूटनीतिक सम्बन्ध थालनी भएको थियो। त्यसबेला बेलायतले एक दर्जन देशसँग पनि कूटनीति सम्बन्ध बनाइसकेको थिएन।
सुगौली सन्धि हुँदा बेलायतमा रबर्ट ब्याङ्स जेन्किन्सन प्रधानमन्त्री थिए। जेन्किन्सनदेखि हालका प्रधानमन्त्री किअर स्टार्मरसम्म आइपुग्दा बेलायतमा ४१ जना प्रधानमन्त्री भए। औपनिवेशिक शासनकालमा पाँच बेलायती प्रधानमन्त्री भारत भ्रमणमा आए।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि १२ पटक बेलायती प्रधानमन्त्रीले भारतको राजकीय भ्रमण गरेका छन्। पछिल्लोपटक २०२३ मा ऋषि सुनकले भारत भ्रमण गरे। तर, तीमध्ये एक जना पनि बेलायती सरकार प्रमुखले एक पाइला परको नेपाल आउन आवश्यक ठानेका छैनन्।
बेलायतका तत्कालीन राजा जर्ज पञ्चम सन् १९११ मा नेपाल आएका थिए। उनी आफ्नो राज्याभिषेकका लागि भारत आएको समयमा नेपालमा आएका थिए। सन् १९२१ मा राजकुमार एड्वार्ड आठौं पनि नेपाल आए। महारानी एलिजाबेथले दुईपटक नेपाल भ्रमण गरिन्। हालका राजा चार्ल्स तृतीय तीनपटकसम्म नेपाल आइसकेका छन्।
“संवैधानिक राजसंस्थाका प्रतिनिधिहरूको भ्रमण सेरेमोनियल हुन्छ तर प्रधानमन्त्री र विदेशमन्त्रीको भ्रमण निश्चित विषयमा केन्द्रित भएर हुन्छ,” पूर्वपरराष्ट्र सचिव मदन भट्टराई भन्छन्, “हाम्रोमा २०४७ सालको संविधानपछि मात्रै नेपालको राजतन्त्र संवैधानिक भएको हो। त्यसभन्दा अघिको राजतन्त्र कार्यकारी थियो। बेलायतको राजतन्त्र कार्यकारी नभए पनि सम्बन्धको तह मिलाउन राजपरिवारलाई अघि सारिएको थियो।”
नेपाल र बेलायतबीचको सम्बन्धमा ब्रिटिस गोर्खा सैनिकले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। सुगौली सन्धिले नेपाली युवालाई ब्रिटिस सेनामा भर्ना हुन बाटो खोलिदिएपछि अहिलेसम्म लाखौं नेपाली बेलायती सेनामा भर्ती भएका छन्। बेलायतका लागि युद्ध लडेका छन्। ज्यान गुमाएका छन्।
बेलायती प्रधानमन्त्रीहरूले पटक-पटक भारत तथा बाङ्लादेशको भ्रमण गरे पनि लामो र सघन दौत्य सम्बन्धको इतिहास बोकेको नेपालमा किन भ्रमण गर्दैनन्? पूर्वसचिव भट्टराई यो नेपालको कूटनीतिक कमजोरी भएको बताउँछन्।
गोर्खा रेजिमेन्टको नाम नै राजगद्दीसँग जोडिने गरेको छ। पहिले सिरमूर राइफलको नाम परिवर्तन गरी सेकेन्ड एडवर्ड्स सेभेन्स वन राइफल्स बनाइएको छ। सिक्स्थ क्विन एलिजाबेथ वान राइफल्स, सेभेन्थ ड्युक अफ इडनबर्ग वन राइफल्स, प्रिन्सेस मेरी वन राइफल्स सबै राजपरिवारसँग जोडिएका गोर्खा रजिमेन्टका नामहरू हुन्। महारानी एलिजाबेथ भिक्टोरियाले आफ्नो सुरक्षामा गोर्खालाई राख्ने गर्थिन्। बीचमा परम्परा टुटे पनि एलिजाबेथ द्वितीयाले फेरि यसलाई निरन्तरता दिइन्।
“बेलायतीसँगको सम्बन्धमा अर्को पाटो भनेको गोर्खा सैनिकको सम्बन्ध हो। बेलायती दरबारले गोर्खालीलाई दरबारमा पनि विभिन्न जिम्मेवारीसमेत दिएको छ,” ब्रिटिस साम्राज्यका नेपाली मोहरापुस्तकका लेखक झलक सुवेदी भन्छन्, “त्यसैले पनि नेपालसँगको सम्बन्धका लागि उनीहरूले आफ्नो दरबार र सेनालाई अघि सार्छन्।”
सिकारदेखि परोपकारसम्म
राणाहरूले आफ्नो शासकीय वैधता तथा अंग्रेजहरूसँग राम्रो सम्बन्ध बनाइ राख्न बेलायती राजपरिवारका सदस्यलाई सिकारका लागि निम्तो दिने गरेका थिए। पूर्वसचिव भट्टराई त्यो समयमा धेरै जना बेलायती राजा तथा युवाले नेपाल भ्रमण गरेको बताउँछन्।
१९११ मा नेपाल आएका बेलायती राजा जर्ज पाँचौंको रुचिअनुसार पर्सा ठोरीको घना जंगलमा सिकार खेल्ने व्यवस्था मिलाइएको थियो। तर, त्यसबेला फैलिएको हैजाको महामारीका कारण उनी सिकार खेल्न जानचाहिँ पाएनन्।
जर्ज पाँचौंपछि राजगद्दीमा बसेकी एलिजाबेथ द्वितीया राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेको एक वर्ष नपुग्दै सन् १९६१ मा पहिलोपटक नेपाल आएकी थिइन्। कतिपयले त्यस भ्रमणलाई राजाको अप्रजातान्त्रिक कदमलाई अनुमोदनका रूपमा पनि अर्थ्याउने गरेका छन्। एलिजाबेथको दोस्रो भ्रमण भने सन् १९८६ मा भएको थियो।
हालका राजा चार्ल्स तृतीय पनि युवराज छँदै नेपाल भ्रमणमा आएका थिए। बेलायती गोर्खा रेजिमेन्टका कर्णेल उनले नेपाल आउँदा पदयात्रा गरेका थिए।
त्यसैगरी तत्कालीन राजकुमार ह्यारी अफगानिस्तान युद्धको समयमा गोर्खा सैनिकसँगै फिल्डमा तैनाथ थिए। २०१६ मा नेपाल आएका उनले भूकम्प पुनर्निर्माणमा श्रमदान गरे। उत्तरी गोर्खाको लापु गाउँस्थित प्रभातकिरण निम्न माध्यमिक विद्यालयको पुनर्निर्माणमा सघाए। बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हिँड्ने बाटोमा क्यामेरा जडान गर्नुका साथै निकुञ्ज नजिकका बासिन्दासँग अन्तरसंवाद पनि गरे।
“राजा वा युवराज तथा राजपरिवारका सदस्य तथा उच्च तहका व्यक्तिहरूको भ्रमणले नेपालप्रति सद्भाव झल्किन्छ। महारानी एलिजाबेथ द्वितीयका पति फिलिप लामो समय वन्यजन्तु संरक्षण संस्थाको अध्यक्ष रहेका थिए,” पूर्वसचिव भट्टराई भन्छन्, “उनीहरूबाट हुने सद्भावना भ्रमणले पनि नेपाललाई फाइदा नै हुन्छ।”
बेलायती प्रधानमन्त्रीहरूले पटक-पटक भारत तथा बाङ्लादेशको भ्रमण गरे पनि लामो र सघन दौत्य सम्बन्धको इतिहास बोकेको नेपालमा किन भ्रमण गर्दैनन्? पूर्वसचिव भट्टराई यो नेपालको कूटनीतिक कमजोरी भएको बताउँछन्। “कतिपय अवस्थामा प्रधानमन्त्रीहरूलाई हामीले आफ्नो सान्दर्भिकता र महत्त्व बुझाउन नसकेको पनि हो,” उनी भन्छन्।