काठमाडौं। १३औं संस्करणको नीति सम्मेलन आगामी भदौ २७ र २८ गते हुने भएको छ। चैतन्य एकेडेमीको आयोजनामा हुन लागेको नीति सम्मेलन यसपटकको नारा ‘नीतिदेखि समृद्धिसम्म : राष्ट्र निर्माणको सार्थक यात्रा’ रहेको छ।
चैतन्य ग्रुपका सीईओ गणेश जोशी सबल नीतिले नै समृद्ध देश बनाउन सकिने भएकाले सम्मेलन आयोजना गरिएको बताउँछन्। नीति सम्मेलनले संवादका माध्यमबाट देशको समसामयिक प्राथमिकता र दीर्घकालीन सम्भावनालाई उजागरका लागि छलफल र बहस गर्ने उनले बताए।
राजनीतिक स्थायित्व, आर्थिक पुनरुत्थान, सामाजिक समावेशिता, शिक्षामा रूपान्तरण, सुशासनको सबल अभ्यास र आधुनिक प्रविधिको प्रयोगजस्ता विषयमा मन्थन हुने सीईओ जोशीले बताए। सम्मेलनमा राजनीति, अर्थनीति, शिक्षा, संस्कार, समाजशास्त्र, मानवीय चेत, योग, ध्यान, अध्यात्म, कला, साहित्य, संस्कृति, साशन, सेवाप्रवाह, विकास र जलविद्युत्का साथै परराष्ट्र नीतिमा समेत मन्थन गरिने बताइएको छ।
यस कार्यक्रममा एक दर्जन सत्र रहने छन्। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गर्ने कार्यक्रमका प्रमुख वक्ता प्रा. डा. अच्युतप्रसाद वाग्ले रहने छन्। विभिन्न सत्रमा अर्थविज्ञ, नीति निर्माता, राजनीतिज्ञ समाजसेवी, अध्यात्म अध्येता, शिक्षाविद्, विचारक, पत्रकार र वौद्धिक व्यक्तित्वको सहभागिता रहने जोशीले बताए।