काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि बुधबार राति आक्रमण भएको छ।
कार्यालयबाट घर फर्कँदा गरेको बेलामा भएको यस घटनामा उनी गम्भीर रूपमा घाइते भएका छन्। रास्वपाका सचिवालय सदस्य दीपक बोहराका अनुसार, भण्डारी कपनस्थित कार्यालयबाट प्रगतिनगरस्थित आवासतर्फ फर्कँदा बेलुका करिब ८ बजे मोटरसाइकलमा सवार तीन अज्ञात व्यक्तिहरूले उनमाथि रड प्रहार गरेका थिए। आक्रमणकारीहरूले टाउको र खुट्टामा निशाना बनाएका कारण भण्डारी गम्भीर रूपमा घाइते भएका हुन्।
घाइते अवस्थामा उनलाई चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पताल लगिइएको छ जहाँ उनको टाउकोमा गहिरो चोट लागेकोले १० वटा टाँका लगाइएको छ। उनको अहिले उपचाराधीन अवस्था रहेको छ।
यस घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको रास्वपाले जनाएको छ। पार्टीका अन्य नेताहरूले यो घटनाको निन्दा गर्दै दोषीहरूलाई शीघ्र नै न्यायको सामु ल्याउन माग गरेका छन्।