काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

सम्झना

सिम्पसनको त्यही रिपोर्टपछि आईसीसीको नेपाल हेर्ने दृष्टिकोण बदलियो

१९ भाद्र २०८२
बब सिम्पसन र उनले आईसीसीका विकास अधिकृत अस्ट्रेलियाका जोन टर्नरलाई नेपाली क्रिकेटको अवस्थाबारे लेखेको रिपोर्ट।
अ+
अ-

‘नेपालमा पनि क्रिकेट खेल्छन्? त्यहाँ त पहाडै पहाड छ। क्रिकेट कहाँ हुन्छ?’

सन् १९९९ मा बेलायतको राजधानी लन्डनमा अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी)को बैठकमा सहभागी थुप्रै देशका प्रतिनिधिले यस्तो जिज्ञासा राखे।

नेपालमा पनि लामो समयदेखि क्रिकेट खेलिन्छ भनेर बताइरहँदा आश्चर्यमिश्रित यस्तो चौतर्फी जिज्ञासालाई सधैँका लागि शान्त पार्न बैठकमै सहभागी क्यान अध्यक्ष जयकुमारनाथ शाह र सचिव विनयराज पाण्डेले एउटा उपाय निकाले– आईसीसीका विकास अधिकृत अस्ट्रेलियाका जोन टर्नरलाई नेपालमा क्रिकेटको अवस्था बुझ्न प्रतिनिधि खटाउन आग्रह गर्ने।

शाह र पाण्डेको प्रस्तावमा टर्नर सहमत भए। र, उनले अस्ट्रेलियाकै पूर्वराष्ट्रिय क्रिकेटर, कप्तान बब सिम्पसनसँग कुरा गरे। बब त्यतिबेला काउन्टी क्लब लंकासायरका प्रशिक्षक थिए र त्यही वर्ष इङ्ल्यान्डमै सम्पन्न आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा भारतीय टोलीका सल्लाहकार। विश्वकप सकिएर उनी घर फर्किने तरखरमा थिए। तर, टर्नरको आग्रह टार्न नसकेपछि नेपाल हुँदै अस्ट्रेलिया फर्किने प्रस्तावमा सहमत भए।

क्रिकेट त नेपालमा राणाकालदेखि नै खेल्न थालिएको थियो तर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भने लामो यात्रा तय गर्नुपर्‍यो। यो प्रतियोगिता खेल्न नेपाल क्रिकेट संघ (क्यान) सँग कुनै बजेट थिएन। तर, क्यानका तत्कालीन सचिव विनयराज पाण्डेको सक्रियतामा काठमाडौंमा ‘सिक्स ए साइड’ प्रतियोगिता आयोजना गर्दै प्रवेश शुल्कबाट एक लाख ८० हजार रुपैयाँ उठाइयो।
३० हजार रुपैयाँ त्यही खर्च गरियो। बचेको एक लाख ३० हजार रुपैयाँबाट वीरगन्जमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै त्यहाँबाट छनोट खेलाडीलाई एक महिनाका लागि बन्दसत्रमा राखियो। बन्दसत्रबाट छानिएका खेलाडीलाई क्यानले पहिलो एसीसी ट्रफीमा सहभागी गरायो।

६ सेप्टेम्बर १९९६ मा मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित एसीसी ट्रफीमा बाङ्लादेशविरुद्ध उद्घाटन खेल खेल्दै नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्यो।

नेपालबाट फर्किए लगत्तै २५ डिसेम्बरमा बबले भारतको द स्पोर्ट्स स्टारमा लेख नै लेखे– ‘इन द फुटहिल्स अफ हिमालयाज’ शीर्षकमा।

सन् १९९८ मा नेपालले एसीसी ट्रफीको दोस्रो संस्करण आयोजना गर्‍यो। यतिबेला काठमाडौंमा चार वटा मैदान (त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ कलेज–२ र सेन्ट जेभियर्स स्कुल) निर्माण गर्न पहिलोपल्ट क्यानले सरकारलाई गुहार्‍यो।

तत्कालीन शिक्षा तथा खेलकुद मन्त्रालयले उपलब्ध गराएको १० लाख र आन्तरिक स्रोत परिचालन गरेर क्यानले उठाएको दुई लाख रुपैयाँबाट चार वटा मैदान निर्माणदेखि प्रतियोगिता सम्पन्नसम्मका काम भयो।

त्यहीबेला नेपालको युथ–१९ टोली सिंगापुरमा सम्पन्न युथ एसिया कपमा उपविजेता हुँदै पहिलोपल्ट ११ जनवरी २००० देखि श्रीलंकामा हुने विश्वकपमा छनोट भएको थियो। यसका लागि काठमाडौंमा प्रशिक्षण शिविर सञ्चालन भइरहेको थियो।

सन् १९९९ नोभेम्बरको दोस्रो साता बब काठमाडौं उत्रिए। उनले युथ–१९ क्रिकेट टिमको प्रशिक्षण सूक्ष्मढंगले अवलोकन गरे। त्यतिमात्र होइन उनले युवा खेलाडीलाई टेस्ट राष्ट्रहरूसँग कसरी सम्हालिएर खेल्ने, स्लिप क्याचमा माहिर मानिने उनले क्याचका तरिका सिकाए र ब्याटिङका ‘टिप्स’ पनि दिए।

बबले नेपालको पिचको अवस्था हेरे। क्रिकेटको ज्वरो देखे। पोखरा पुगेर राजधानीबाहिर नेपाली क्रिकेट र घरेलु क्रिकेटलाई नजिकबाट नियाल्ने प्रयास गरे। नेपाली खेलाडी, अम्पायर, प्रशिक्षक, पत्रकार र समर्थकहरूको राय बुझे। दुई साता छोटो बसाइमा क्यानको योजनाबाट पनि प्रभावित भए।

त्यसलगत्तै ६ डिसेम्बरमा बबले नेपाली क्रिकेटको विषयमा नौ पृष्ठ लामो रिपोर्ट आईसीसीलाई पठाए, जुन रिपोर्ट नेपाली क्रिकेट विकासको ‘कोशेढुंगा’ सावित भयो। ‘‘पहिलो त आईसीसीले नेपाली क्रिकेट अध्ययन गर्न प्रतिनिधि पठाउनु नै ठूलो कुरा थियो। त्यसमा पनि बब सिम्पसन जस्तो उँचो कद भएको व्यक्ति नेपाल आउनु हाम्रो लागि सौभाग्य बन्यो,’’ क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे भन्छन्, ”उनले हाम्रो देशको विषयमा राम्रो रिपोर्ट पेस गरेपछि आईसीसीको हामीलाई हेर्ने दृष्टिकोण बदलियो।”

बबको रिपोर्टपछि नेपाली पदाधिकारीले आईसीसीको बैठकमा नेपालमा पनि क्रिकेट खेल्छन् भनेर स्पष्टीकरण दिँदै हिँड्नु परेन। ‘‘हामी भन्थ्यौं– तिमीहरूकै मान्छेले बुझाएको रिपोर्ट पढ् न, नेपालमा क्रिकेट क्रेज कस्तो छ भनेर,’’ पाण्डे भन्छन्।

क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे र बब सिम्पसनले उनलाई पठाएको पत्रको प्रतिलिपी।

यतिमात्र होइन, नेपालबाट फर्किए लगत्तै २५ डिसेम्बरमा बबले भारतको द स्पोर्ट्सस्टारमा लेख नै लेखे– ‘इन द फुटहिल्स अफ हिमालयाज’ शीर्षकमा। ‘यदि तपाईं हिमालयको फेदमा क्रिकेट खेल्न चाहनुहुन्छ भने नेपाल तपाईंका लागि उपयुक्त गन्तव्य हो। आकर्षक नेपाल अब विश्वको सबैभन्दा छिटो फक्रिने क्रिकेट राष्ट्रहरूमध्ये एक हो’, लेखमा एक वाक्य यस्तो थियो।

सन् २००४ मा बाङ्लादेशमा भएको युथ–१९ विश्वकपमा द काठमाडौं पोस्टका लागि कृष्णप्रसाद आचार्यले चिट्टागाउँमा बबसँग अन्तर्वार्ताको अवसर पाएका थिए। आईसीसीको ‘हाइ पफर्मेन्स म्यानेजर’ को भूमिकामा रहेका उनले त्यतिबेला नेपाली युवा खेलाडीको खुलेर प्रशंसा गरे। युथ–१९ विश्वकपमा कुन देशले तपाईंलाई बढी प्रभावित पारेको छ? भन्ने प्रश्नमा बबले भनेका थिए– ‘निश्चितरूपमा नेपालले। उनीहरूले वास्तवमै राम्रो प्रदर्शन गरेका थिए, दक्षिण अफ्रिकालाई पराजित गर्दै।’

नेपाली बलरमाथि बबको विश्वास देखेपछि मुम्बई क्रिकेट टिमका पूर्वकप्तान शिशिर हाथनगाडीले राजकुमारलाई भारतमै क्रिकेट खेल्न निम्तो गरेका थिए।

‘‘बब नेपाली क्रिकेटको भविष्यलाई लिएर उत्साही थिए। नेपाली खेलाडीको क्षमता, क्यानको दक्षता, मिडियादेखि समर्थकसम्मको उत्साह गजब छ भन्थे’’, बबसँगको भेट सम्झँदै आचार्य भन्छन्।

आफ्नो कार्यकालमा बबले सधैँ नेपाली क्रिकेट विकासका लागि आईसीसीमा लबिइङ गरेको बब नेपाल आउँदाका सहयोगी एवं नेपालका पहिलो क्युरेटर कोमल पाण्डे बताउँछन्। “उनले यहाँ धेरैसँग कुराकानी गरे। क्रिकेटको माहोल बुझे। विशेषगरी क्यानका सचिव विनयको सुझबुझबाट धेरै प्रभावित थिए,” कोमल भन्छन्।

सन् २००३ मा भारतको मुम्बईमा एउटा रोचक घटना भयो। क्यानले मुम्बईको क्रिकेट क्लब अफ इन्डियामा प्रशिक्षणका लागि नेपालले दुई स्पिनर राजकुमार प्रधान (लेग स्पिन) र सञ्जम रेग्मी (अफ स्पिन)लाई पठाएको थियो। बब त्यतिबेला सीसीआई (कम्पिटिसन कमिसन अफ इन्डिया)का कन्सल्ट्यान्ट कोच थिए। उनी राजकुमारको लेग स्पिनबाट यति प्रभावित भए कि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का तत्कालीन अध्यक्ष राजसिंह डुंगरपुरलाई प्रधानको प्रतिभा देखाउन क्याम्पमै बेलाए। ‘‘बब राजकुमार दाइलाई ‘शेन वार्न अफ नेपाल’ भन्नुहुन्थ्यो,” रेग्मी सम्झन्छन्।

मुम्बईको त्यो क्याम्पमा भारतीय क्रिकेटका पूर्वस्टार रोविन उथप्पा र रवीन्द्र जडेजा पनि उपस्थित थिए। “बब सरले मलाई नेटमा बल थमाउँदा रवीन्द्र र रोविन बाहिर बसेर हेरिरहेका हुन्थे। उहाँले खुब माया गर्नुहुन्थ्यो,” राजकुमार भन्छन्।

नेपाली बलरमाथि बबको विश्वास देखेपछि मुम्बई क्रिकेट टिमका पूर्वकप्तान शिशिर हाथनगाडीले राजकुमारलाई भारतमै क्रिकेट खेल्न निम्तो गरेका थिए। नेपाल र नेपाली क्रिकेटलाई आजका दिन देखाउन अहम् भूमिका निर्वाह गर्ने उनै बबको ८९ वर्षको उमेरमा गएको १५ अगस्टमा सिड्नीमा मृत्यु भयो।

अलविदा बब!