काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको हरिसिद्धीमा मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको विषयलाई राजनीतिकरण गर्न खोजिएको बताएका छन्।
शनिबार गोदावरीस्थित सनराइज हलमा जारी एमाले विधान महाधिवेशनमा सम्बोधन गर्दै उनले बालिकालाई सामान्य चोट लागेको र तुरुन्तै अस्पताल लगिएको जानकारी दिए। “पार्टीले सम्पूर्ण उपचार खर्च व्यहोर्नेछ,” ओलीले भने, “यस्तो घटना नियतवश भएको होइन, दुर्घटनावश भइदिएको हो।”
उनका अनुसार सो दुर्घटनाका कारण विधान महाधिवेशनको कार्यक्रम करिब एक घण्टा ढिलो सुरु भएको थियो। ओलीले बालिकाको स्वास्थ्य लाभको कामना गर्दै परिवारलाई ढुक्क रहन आग्रह गरे।
शनिबार बिहान ललितपुर महानगरपालिका–२८, हरिसिद्धीस्थित माध्यमिक विद्यालय अगाडि आर्थिक मामिला तथा योजना मन्त्री हरिबहादुर मगर सवार सरकारी गाडीले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। पीडित बालिकाको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।