एजेन्सी। अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकले भारत र अमेरिकाबीच व्यापार सम्झौता निकट भएको जानकारी दिएका छन्।
उनले शुक्रबार ब्लुमबर्ग टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भारतले आगामी एक वा दुई महिनाभित्र नै राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्झौताबारे छलफल गर्ने अपेक्षा व्यक्त गरे।
अन्तर्वार्ताका क्रममा भारतले निकट भविष्यमै आयात-निर्यात शुल्क नीतिमा परिवर्तन गर्ने सम्भावनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले भने, “विश्वब्यापी प्रतिस्पर्धामा अगाडि बढ्न भारतीय उद्योगहरूले शुल्क नीतिमा सुधारको लागि दबाब दिँदै आएका छन्।”
लुटनिकको भनाइ अनुसार भारतले सम्झौताप्रति लचिलो रवैया अपनाउने र द्विपक्षीय सम्बन्धलाई अझ सहज बनाउने पहल गर्ने सम्भावना रहेको छ। तर उनले स्पष्ट पारे कि अन्तिम सम्झौताको स्वरूप राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको सीधा सहमतिमा निर्भर गर्नेछ।
यस अन्तर्वार्ताले दुई राष्ट्रबीच दीर्घकालीन व्यापार सहयोगमा महत्वपूर्ण प्रगतिको संकेत दिएको छ।