काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

त्यो काण्ड

‘आइरन लेडी’को छवि बनाएकी मार्गरेट थ्याचरको सत्ता ढाल्ने त्यो फोटो, जसको सूत्रधार बने– नेपाली कूटनीतिकर्मी शैलकुमार उपाध्याय

२१ भाद्र २०८२
पामेला बोर्डेस र उनको विषयमा बेलायती पत्रिकामा प्रकासित लेख
अ+
अ-

बेलायती अखबार इभिनिङ स्ट्यान्डर्डमा १७ मार्च १९८९ मा क्रिस्टोफर लङको एउटा समाचार प्रकाशित भयो। प्रथम पृष्ठमै छापिएको समाचारको शीर्षक थियो– ‘पामेला एन्ड हर फ्रेन्ड्स फ्रम लिबिया।’

करिब पाँच महिना लामो अनुसन्धानपछि प्रकाशित समाचारले बेलायत मात्र होइन, विश्वका शक्तिशाली देशहरूमा ‘भुइँचालो’ नै गयो। बलियो मानिएको मार्गरेट थ्याचरको टोरी सरकार (कन्जर्भेटिभ पार्टी) यही समाचारका कारण झन्डै ढल्यो।

भारतकी चर्चित सेलिब्रिटी पामेला बोर्डेसको अन्तर्राष्ट्रिय हतियार तस्करसँगको कनेक्सन, विशेषतः लिबियाका राष्ट्रपति मुआमार गद्दाफीका भाइसँगको अन्तरंग सम्बन्ध त्यो लेखमा छापिएको थियो। त्यतिबेला बेलायत र लिबियाको सम्बन्ध सुमधुर थिएन।

१७ अप्रिल १९८४ मा गद्दाफीको विरोधमा बेलायतस्थित लिबियाको दूतावासबाहिर भइरहेको प्रदर्शनमा २५ वर्षीया बेलायती युवती योभने फ्लेचरको गोली हानेर हत्या गरियो। यसपछि दुई देशको सम्बन्ध इतिहासकै सबैभन्दा खराब समयबाट गुज्रिरहेका बेला त्यो समाचारले घ्यू थप्ने काम गर्‍यो।

इभिनिङ स्ट्यान्डर्डमा प्रकाशित समाचारमा टोरी सरकारका प्रभावशाली सांसददेखि खेलमन्त्री कोलिन मोनियानसमेत मुछिएका थिए। यसले अन्तर्राष्ट्रिय शक्ति केन्द्रको ध्यान बेलायततर्फ मोडियो।

अमेरिकाको चर्चित पत्रिका न्युयोर्क टाइम्सले पनि यो घटनालाई ‘क्रिस्टिन केलरको यौन काण्ड’ सँग तुलना गर्‍यो। दुई दशकअघि सन् १९६३ मा हारोल्ड म्याकमिलनको कन्जर्भेटिभ सरकार १९ वर्षीया एक मोडलका कारण ढलेको थियो।

त्यतिबेला रक्षामन्त्रीको जिम्मेवारीमा रहेका जोन प्रोफुमोको ‘यौन काण्ड’ बेलायती अखबारले नै उजागर गरेका थिए। सुरुमा होइन भनेर प्रोफुमोले हाउस अफ कमन्समा सबैलाई ढाँटे। तर, एक सातापछि प्रहरी अनुसन्धानमा यसको पुष्टि भयो। उनले राजीनामा गर्नुपर्‍यो। यही काण्डका कारण १९६४ को चुनावमा लेबर पार्टीको उदय भयो।

२० वर्षपछि पुनः दोहोरिएको अर्को यौन काण्डले सरकार ढल्ने हो कि भनेर सचेत बनेको कन्जर्भेटिभ पार्टी पूरै आक्रामक बन्यो। यतिबेला पामेलाबारे समाचार ‘ब्रेक’ गर्न पत्रकार लङलाई सघाएका थिए, स्टेवार्ट पेनले। उनले पामेलाको पेरिस कनेक्सनलाई उजागर गरेका थिए।

यो समाचार सार्वजनिक भएपछि मानौं बेलायती पत्रिकाबीच समाचार ‘ब्रेक’ गर्ने होडबाजी नै चल्यो। अर्को दिन डेली एक्सप्रेसले लेख्यो– पामेला र लिबियासँग जोडिएको तार।

सरकारले समाचारको खण्डन गर्‍यो र भन्यो– पामेला बोर्डेसको मुद्दामा हाम्रा मन्त्री र सांसदहरू चोखा छन्। सरकारले न्युज लेख्ने पत्रपत्रिकालाई समाचारको विश्वसनीयता प्रमाणित गर्न चेतावनी दियो।

पामेलाले टोरी सरकारका मन्त्री तथा सांसदसँग रात बिताएर गोप्य सूचना संकलन गर्दै लिबिया पुर्‍याएको तथा हतियारको काराेबारमा भूमिका खेलिरहेको आरोप बेलायती अखबारहरूले लगाएका थिए। यस विषयमा पामेला मौन थिइन्। बेलायती अखबारले आरोप लगाए पनि हतियार काराेबारी तथा गद्दाफीका भाइ कर्णेल अहमद गेड्डा फेडेनसँग उनको सम्बन्ध थियो कि थिएन? त्यसको तार कुनै पत्रपत्रिकाले जोड्न सकिरहेका थिएनन्।

तर, यति नै बेला बेलायती अखबारहरूको तारणहार भएर उभिए, नेपाली कूटनीतिकर्मी शैलकुमार उपाध्याय, संयुक्त राष्ट्र संघमा नेपालका प्रतिनिधि तथा नेपाली राजनीतिका शीर्ष नेता बीपी कोइरालाका भान्जा।

उनी नेपालस्थित अमेरिकी दूतावासको ‘एड मिसन’ मा काम गरेर ७० को दशकमै अमेरिका गएका थिए। नेपालका ‘नम्बर वान’ पूर्वलन टेनिस खेलाडी तथा फेसन डिजाइनिङमा पोख्त शैल अमेरिकाको कुलीन परिवारका पार्टीहरूमा प्रायः छुट्दैन्थे।

पामेलाको फोटो खिच्ने नेपाली कुटनीतिज्ञ शैल उपाध्याय र पार्टीमा सहभागी बेलायती खेलमन्त्री।

पामेला बोर्डेससँग उनको भेट सन् १९८३ मा न्युयोर्कमा भएको थियो, जब बोर्डेस पेरुको लिमामा आयोजना भएको ‘मिस युनिभर्स’ मा भाग लिएर अमेरिका प्रवेश गरेकी थिइन्। यही वर्ष भारतका विवादास्पद धर्मगुरु चन्द्रास्वामी पनि न्युयोर्क पुगेका थिए। भारतका पूर्वप्रधानमन्त्री तथा बीपी कोइरालाका अनुयायी चन्द्रशेखरसँग चन्द्रास्वामीको विशेष सम्बन्ध थियो। यसै कारण चन्द्रास्वामीसँग शैलको पहिलेदेखि चिनजान थियो।

शैलले पामेलालाई चन्द्रास्वामीसँग पहिलोपल्ट न्युयोर्कमै भेटाएका थिए। चन्द्रास्वामीले साउदी अरेबियाका हतियार तस्कर अदनान खसोग्गीसँग भेट गराए। खसोग्गीले लिबियाका तानाशाह गद्दाफीका भाइ अहमद गेड्डालाई भेटाए।

यो सबै कुराको तार जोडिएको थियो, म्यानहटनस्थित शैलको घरमा भएको पार्टीमा खिचिएको तस्बिरमा। बेलायती पत्रकारहरू पामेलाको लिबिया कनेक्सन खोज्दै शैलको घरसम्म पुगे। अनुनय–विनय गरे। पत्रकारिता अप्ठेरोमा परेको याचना गरे। यसपछि उनी त्यो फोटो दिन राजी भए। तर, यसबापत १० हजार डलर तिर्नुपर्ने सर्त अघि सारे। रिपोर्टरले अमेरिकाबाटै आफ्नो सम्पादकसँग शैलको माग सुनाए। उनीहरूसँग अर्को कुनै उपाय पनि थिएन। १० हजार पाउन्ड तिरेर त्यो फोटो उम्क्याए।

वरिष्ठ पत्रकार हरिहर विरही त्यो घटना सम्झिँदै भन्छन्, “सन् १९९३ को संयुक्त राष्ट्र संघको बैठकमा भाग लिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगै म पनि गएको थिएँ। त्यतिबेला शैलकुमारले म्यानहटनस्थित आफ्नो घरमा खाना ख्वाउन बोलाउनु भएको थियो। उहाँको घरमा सुतेको पनि थिएँ। त्यो घटनाको कुरा उप्काउँदा उहाँले भन्नुभयो– मैले डलरमा पैसा मागेको थिएँ। उसले पाउन्ड भन्ठानेछ। पाउन्डमै पैसा दियो।”

शैलको त्यो फोटोले पामेलाको पोल खुल्यो। उनले लन्डनमा रहेको ७ लाख ५० हजार पाउन्डको वेस्टमिन्स्टर पेन्टहाउसको सुख–सुविधा त्यागेर लुक्नु पर्‍यो। उनी भागेर इन्डोनेसियाको बाली पुगिन्। त्यहाँ पनि उनलाई पापाराजीले पछ्याए। पछि भारतको गोवामा सामान्य जीवन बिताउन थालिन्। हाल उनी फोटोग्राफीमा संलग्न छिन्।

सन् १९९७ मा न्युयोर्कमा दुईवटा फोटो प्रदर्शनी गरिन्। उनको प्रदर्शनीले राम्रै चर्चा बटुलेको थियो।

को हुन् त पामेला बोर्डेस?

पामेला बोर्डेसलाई कुनै बेला विदेशी अखबारले विश्व चर्चित महिला जासुस माताहारी र लिन्डा लभलेससँग तुलना गरे। उनको वास्तविक नाम हो, पामेला चौधरी। चन्डीगढको जाट परिवारमा जन्मिएकी पामेलाका बुवा महेन्द्रसिंह चौधरी भारतीय सेनामा मेजर पदमा कार्यरत थिए। उनी सन् १९६२ को भारत–चीन युद्धताका अरुणाचल प्रदेशमा मारिए। उनलाई पछि भारत सरकारले सहिद घोषणा गर्दै महावीर चक्रबाट सम्मानित गर्‍यो।

बुवाको निधन हुँदा पामेला २ महिनाकी थिइन्। पामेलाका मामा लेफ्टिनेन्ट अवतार सिंह पनि सन् १९७१ को बाङ्लादेशसँगको युद्धमा मारिए। आमा शकुन्तला पहिले गृहस्थ जीवनमा सक्रिय थिइन्। तर, श्रीमानको निधनपछि उनले चन्डीगढको सरकारी कलेजमा होस्टेल इन्चार्जको जागिर खाइन्। त्यो होस्टेलमा बसेर हरियाणाका मुख्यमन्त्री वंशीलालकी छोरी सरोज सिवाच पढ्थिन्। यही सम्बन्धले पामेलाकी आमालाई मुख्यमन्त्री वंशीलालसँग नजिक बनायो र सरकारी जागिर प्राप्त गर्न सहज भयो।

सन् १९८२ मा मिस इन्डियाको उपाधि जितेपछि पामेला बोर्डेस।

पामेला जयपुरस्थित महँगो मानिने महारानी गायत्री देवी गर्ल्स स्कुलमा पढ्थिन्। दिल्लीको सम्मानित लेडी श्रीराम कलेजमा अध्ययनरत रहँदा मोडल बन्ने सपना पूरा गर्न मुम्बई हानिइन्। सन् १९८२ मा ‘मिस इन्डिया’ उपाधि जितेपछि उनको प्रसिद्धि रातारात फैलियो। तर, यही बेला आमासँगको सम्बन्ध भने खराब भयो। सन् १९८९ मा उनलाई यौनकर्मीको रूपमा बेलायती अखबारहरूले चित्रण गर्दा आमाको प्रतिक्रिया थियो, “उसको अस्वाभाविक व्यवहारका कारण हामीले १९८२ देखि नै ऊसँग सम्बन्ध तोडिसकेका छौं।”

शैलेन्द्र कि शैलकुमार?

‘मिस इन्डिया’ उपाधि जितेपछि नेसक्याफेको विज्ञापन खेल्न अर्की मोडल निशा सिंहसँग नेपाल आएकी थिइन्, पामेला। उनले बोरोलिन, हिरो साइकल, ओस्वाल र टेक्सला टीभी जस्ता चर्चित विज्ञापनमा पनि काम गरिन्।

उनको सम्बन्ध नेपालका पूर्वपरराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायसँग पनि जोडेर हेरियो। तर, यसमा सत्यता नभएको शैलेन्द्रकुमारसँग नजिक पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई बताउँछन्। “पामेला बोर्डेससँग उहाँको सम्बन्धको अफवाह मैले पनि सुनेको हो। उपाध्याय रमाइलो गर्नुपर्ने मान्छे हुन्। तर, पामेलासँग उहाँको सम्बन्ध थिएन,” भट्टराई भन्छन्।

शैलकुमार र शैलेन्द्रकुमारको नाम उस्तै भएको हुनाले विदेशी मिडियाहरू झुक्किएको वरिष्ठ पत्रकार बिरहीको भनाइ छ। “दुवैको अगाडिको नाम शैलबाट आउने कारण झुक्किएका हुन्। शैलेन्द्रकुमार होइन, शैलसँग सम्बन्ध हो,” बिरही बताउँछन्।

अविवाहित शैल विभिन्न महिलासँगको सम्बन्धका कारण चर्चामा रहन्थे। “सन् १९९३ मा हामीलाई घरमा भात ख्वाउन बोलाउँदा एउटी महिलासँग परिचय गराउँदै भन्नुभयो– उनी मेरो प्रेमिका। २–३ दिनपछि मामा गिरिजाबाबु बसेको होटलमा अर्की महिला लिएर आउनुभयो र फेरि परिचय गराउँदै भन्न थाल्नुभयो– उनी मेरी प्रेमिका। यो सुनेपछि गिरिजाबाबुले ठट्टा गर्दै नेपालीमा सोध्नुभयो– होइन! कतिवटा गर्लफ्रेन्ड छन् तिम्रा! शैलले हाँस्दै उत्तर दिनुभयो– दुई जना मात्र हो, मामा्। अरू छैन,” बिरही सम्झन्छन्।

‘मिस इन्डिया’ उपाधि जितेको अर्को वर्ष नै पामेला पेरूको राजधानी लिमामा आयोजना भएको ‘मिस युनिभर्स’ प्रतियोगितामा भाग लिन गएकी थिइन्। त्यतिबेला उनको आर्थिक स्थिति राम्रो थिएन। त्यहाँबाट अमेरिका प्रवेश गरेपछि उनको दिनचर्या फेरियो। न्युयोर्कमा उनी सिन्धी महिला व्यापारी बिना रमानीको घरमा बस्थिन्। उनीमार्फत पामेलाको भेट शैलसँग भयो।

भारतको चर्चित पत्रिका मायाले ३० जुन १९८९ को अंकमा पामेला बोर्डेसको डायरी प्रकाशित गरेको थियो। जसमा उनले भनेकी थिइन्– ‘संयुक्त राष्ट्रसंघका लागि कार्यरत शैल उपाध्यायद्वारा दिएको स्वागत समारोहमा मेरो भेट स्वामीजीसँग भयो। स्वामीजी धेरै ‘कर्ल गल’ सँग परिचित थिए, जसको प्रयोग उनी अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो हितका लागि गर्थे।’

चन्द्रास्वामीले साउदीका हतियार तस्कर अदनान खसोग्गीसँग भेटाएपछि आफ्नो जीवनशैली फेरिएको पामेलाले स्वीकार गरेकी छिन्। उनको डायरीमा उल्लेख छ– ‘खसोग्गीसँग एक साता बस्दा उपहारको रूपमा हिराजडित हार दिएका थिए।’

गद्दाफीका भाइसँगको सम्बन्ध

अदनान खसोग्गीको सम्बन्ध चन्द्रास्वामीमार्फत तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धी, चन्द्रशेखर, पीवी नरसिंह रावलगायत थुप्रै नेतासँग थियो। २८ फेब्रुअरी १९९१ मा खसोग्गी भारत आउँदा दिल्लीको पालम अन्तर्राष्ट्रिय विमानस्थलमा तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरका सचिव सीवी गौतम र भारतीय जनता पार्टीका नेता डा. जेके जैन स्वागतार्थ उपस्थित थिए। उनीहरूले एयरपोर्टबाट खसोग्गीलाई सिधै प्रधानमन्त्री बस्ने ठाउँमा लगे। त्यहाँ उनलाई स्वागत गर्न प्रधानमन्त्री चन्द्रशेखर र चन्द्रास्वामी आतुर देखिन्थे।

यस विषयमा जैनले भारतीय मिडियाहरूलाई प्रतिक्रिया नै दिनुपरेको थियो– “म उनको (खसोग्गी) न्युयोर्कस्थित घरमा बसेको थिएँ। त्यो नाताले स्वागत गर्न गएको मात्र हुँ। भित्र जाँड–रक्सीबिनाको भेज पार्टी भएको थियो।”

चर्चित अन्तर्राष्ट्रिय हतियार काराेबारी खसोग्गी, भारतीय धर्मगुरु चन्द्रास्वामी, पामेला बोर्डेस, लिबियाका तानाशाहा गद्धाफीका भाई र बेलायतकी पूर्वप्रधानमन्त्री मारगरेट थ्याचर

पामेलाले बेलायतबाट प्रकाशित डेली मेललाई दिएको एक अन्तर्वार्तामा आफू खसोग्गीको स्पेनस्थित ‘मार्बेला याच’ मा पाँच दिन सुतेको प्रस्ट पारेकी थिइन्। यो याचमा जेम्स बन्डको फिल्म नेभर से नेभर अगेनको सुटिङ भएको थियो। यही याचलाई हालका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् १९९० मा २ करोड ९० लाख डलरमा किनेका थिए।

खसोग्गीको ठूलो अन्तर्राष्ट्रिय कनेक्सन थियो। उनकी बहिनी समिराको बिहे मोहम्मद अल फायदसँग भएको थियो, जसका भतिजा डोडी अल फायद बेलायतकी तत्कालीन युवराज्ञी डायनाका प्रेमी थिए।

खसोग्गीले हतियार तस्करीमा पामेलाको भरपूर उपयोग गरे। मायामा प्रकाशित डायरीमा पामेलाले भनेकी छिन्, “उनले मलाई हतियारको डिल गर्न साउदी अरब पठाए। जेनेभाबाट २४ घण्टाभित्र मेरो पासपोर्ट निकालियो। पकेट खर्च भनेर १५ हजार फ्र्याङ्क दिए। स्विस एयरबाट रियाद पुगेँ। त्यहाँ मलाई शाहज्यादा मोहम्मदको घर लगियो। ५० वर्षका उनलाई हरेक दिन नयाँ केटी चाहिने। नुहाउन बाथरुम लगियो। मलाई कपाल राम्रोसँग बाँध्न आदेश दिइएको थियो। सचिवले ३ हजार डलर थमाए। काम सकिएपछि म जेनेभा फर्किएँ।”

गद्दाफीका भाइ अहमदसँग पामेलाको पहिलो भेट इटालीको मिलानमा भएको थियो। यहाँ उसले पामेलासँग रात बिताएबापत १९ हजार डलर पेरिसस्थित उनको बैंक खातामा जम्मा गर्न लगायो। अहमदलाई दुब्ली केटी मनपर्ने, उसले अर्की केटीको पनि प्रस्ताव गर्‍यो। यी दुईबीच कुरा मिलेपछि पामेलालाई रत्नजडित सुनको हार उपहार दिएको डेली मेलमा उल्लेख छ।

खसोग्गीसँग विशेष सम्बन्ध हुँदाहुँदै पामेलाले गद्दाफीका भाइसँग पनि उस्तै सम्बन्ध बनाएकी थिइन्। जुन पछि उनका लागि टाउको दुःखाइको विषय बन्यो। अहमद लिबियाको जासुसी विभागमा दोस्रो नम्बरका अधिकारी थिए भने राष्ट्रपति गद्दाफीका खास। अहमदकै निम्तोमा उनी निजी विमानद्वारा लिबियाको राजधानी त्रिपोली पनि पुगिन्। उनको डायरीमा भनिएको छ, ‘मेरो कोठा फूल र फलबाट सुसज्जित थियो। उसले मलाई कोठाबाट बाहिर ननिस्किन निर्देश गर्‍यो। लामो समय मैले उसलाई कोठामा पर्खिरहेँ। अन्ततः कोठाभित्र प्रवेश गर्‍यो र दुई घण्टा मसँग बितायो। ऊ फेरि भेट्ने वाचासहित कोठाबाट निस्कियो। वाचाअनुरूप नै राति फेरि फर्कियो। उसले मलाई कसम ख्वाएको थियो, त्रिपोलीमा मेरो उपस्थितिको जानकारी गोप्य राख्न। उसले भन्यो– लिबियाको कानुन निकै कठोर छ। यहाँका जनतालाई धुमपान, मद्यपान र विवाहअघि सम्बन्ध बनाउन वर्जित छ। त्यसैले अहमद त्रिपोलीमा मेरो उपस्थिति कसैको जानकारीमा नहोस् भन्ने चाहन्थ्यो।’

तर, के लिबियाका तानाशाह गद्दाफीको स्विकृतिबिना त्यो सम्भव थियो? अझैसम्म यो अनुत्तरित छ।

चौधरीबाट बोर्डेसको यात्रा

अहिले पामेला आफ्नो नामको पछाडि चौधरीको फुर्को लगाउँछिन्। तर, उनी चौधरीबाट बोर्डेस बन्नुको पछाडिको कथा रोचक छ। चन्द्रस्वामीमार्फत पामेलाको भेट अदनान खसोग्गीसँग मात्र होइन, कतारका आमिर र कुनै बेला संसारकै धनी व्यक्ति ब्रुनाईका सुल्तानसँग पनि भयो। खसोग्गी र कतारका आमिरबीच पामेलालाई लिएर प्रतिस्पर्धा नै चलेको थियो।

युरोपमा उच्चस्तरका व्यक्तिसँग बढ्दो हिमचिम पामेलाका लागि अप्रत्यासित घटनाभन्दा कम थिएन। न्युयोर्कमा हुँदा उनी एउटा विज्ञापन एजेन्सीमा काम गर्थिन्। खसोग्गीसँग संगत हुनुअघि एक जना भारतीय ‘स्टक ब्रोकर’ सँग पनि बसिन्।

न्युयोर्कको सुरुवाती दिनमा पामेलाको उद्धार गरेकी भारतीय महिला व्यापारी बिना रमानीले टाइम्स अफ इन्डियालाई अन्तर्वार्तामा भनेकी थिइन्, “उनले मैले चिनाएका व्यापारीहरूसँग तीन साताभित्र उनीहरूकै निजी विमानमा यात्रा गर्न मलाई निम्तो गरिन्।”

पामेलासँग कुलीनवर्गका पुरुषसँग सम्बन्ध बनाउन महारथ नै हासिल थियो। तर, युरोप प्रवेशपछि उनलाई भारतीय राहदानीका कारण उच्च तथा विवादास्पद व्यक्तिहरूसँगको संगतले फ्रान्समा बस्न समस्या पर्छ कि भन्ने डर पलायो। त्यसैले उनले सन् १९८४ जुनमा पेरिसकै स्थानीय डोमिनिक बोर्डेससँग बिहे गरिन्। बिहे यति छिटो भयो कि केटाले उनको विगतबारे पत्तै पाएन।

एकैपल्ट बेलायती अखबारमा पामेलाको समाचार प्रकाशित भएपछिको अन्तर्वार्तामा डोमेनिकले भने, “मैले काकाको करले बिहे गर्नुपर्‍यो। म सामान्य जीवनयापन गरेर बसिरहेको मान्छे। निश्चित रूपमा उनी गृहस्थ चलाउने स्वभावकी थिइनन्।”

इभिनिङ स्ट्याडर्डसँगको कुराकानीमा डोमिनिकले बिहेको तीन महिनाभित्रै पामेलाले लन्डनबाट फोन गर्दै ‘म अब फकिन्नँ’ भनेपछि भने उनलाई पहिलोपल्ट आफू प्रयोग भएको महसुस भयो। “उनीसँग जतिबेला पनि पैसा र राम्रो लुगा हुन्थ्यो। मैले वास्ता गरेको थिइनँ। तर, अहिले थाहा भयो,” अन्तर्वार्तामा उनले भनेका छन्।

पामेलाले पनि बेलायती अखबार डेली मेललाई दिएको अन्तर्वार्तामा यो कुरा स्वीकार गरेकी छिन्। “मैले विवाहको सपना अवश्य देखेकी थिएँ। तर, सोचेकी थिइनँ मेरो विवाह यस्तो व्यक्तिसँग हुनेछ, जसलाई मैले माया नै गरेकी छैन। डोमिनिकको रुचि अरबी केटीहरूमा थियो।”

पामेला आफ्ना श्रीमान्‌लाई यसका लागि धन्यवाद भन्न चाहन्थिन्, जसका कारण उनले फ्रान्सेली राहदानी प्राप्त गरिन्। भारतीय पासपोर्टमा उनको नाम– पामेला चौधरी थियो। फ्रान्सेली राहदानीमा पामेला बोर्डेस भयो।

पामेला र थ्याचर सरकार

फ्रान्सेली राहदानी प्राप्त गरेको केही समयपछि नै पामेला लन्डन पुगेकी थिइन्। उनले उच्च पदस्थ व्यक्तिहरूको सामाजिक घेराभित्र प्रवेश पाउन अनेक तिकडम लगाइन्। उनले बोर्डरुमहार्पर्स एन्ड क्वीनजस्ता कर्पोरेट पत्रिकामा आफूलाई कुकका रूपमा चित्रण गरिन्।

बेलायती शाही परिवारसँग हिमचिम बढाउन उनी तत्कालीन महारानी एलिजाबेथको छोरी एनका श्रीमान् मार्क फिलिप्सको घोडसवारी सिकाउने क्लबमा भर्ना भएकी थिइन्। मार्क घोडचढीका विख्यात् तथा सन् १९७२ को म्युनिख ओलम्पिकका स्वर्ण पदकधारी खेलाडी थिए।

राजकुमार प्रिन्सबाहेक रोलिङ स्टोन्सका चर्चित रकस्टार बिल वेम्यानको नाम पनि उनीसँग जोडियो। डेली एक्सप्रेस पत्रिकाले लन्डनका चर्चित वकिल, पछि न्यायाधिवक्ता भएका कार्लो कोलोमबोटीले बेलग्रेभको लाखौं पाउन्ड पर्ने घरमा पामेलालाई राखेको दाबी गरेको थियो। सन् १९९० मा उनले पामेलासँगको ६ साता छोटो सम्बन्ध स्वीकार पनि गरे।

पामेलाले जीवनमा थुप्रै पुरुषसँग सम्बन्ध बनाइन्। रोमानियाका राजकुमार पलदेखि हलिउड स्टार टिम डेभिडसनसँग पनि उनको नाम जोडियो। अझ, टेनिस स्टार इभान लेन्डल त आत्महत्या गर्ने अवस्थामै पुगिसकेका थिए। पाँच महिना छोटो भेटघाटका क्रममा विश्व नम्बर एक यी खेलाडीले पामेलामाथि अढाइ लाख पाउन्ड खर्चेको ख्यातिप्राप्त लेखक जर्ज मेन्डोजाको भनाइ थियो।

यी सबै घटनाका बीच पामेलाको जीवनले त्यतिबेला ‘यूटर्न’ लियो, जब उनको भेट लन्डनको एउटा नाइट क्लबमा द सन्डे टाइम्सका अविवाहित सम्पादक एन्ड्रियु नीलसँग भयो। उनीहरूबीच केही समय ‘अफेयर’ पनि चल्यो। पामेला पार्टी गर्न मन पराउने, महँगो लुगाकी सौखिन थिइन्। सन् १९८८ मा यी दुईबीच ‘ब्रेक–अप’ हुँदा पामेलाले नीलको लुगा च्यातिदिएको पत्रपत्रिकाले उल्लेख गरेका थिए। नीलसँग बदला लिन पामेलाले दी अब्जर्भरका सम्पादक डोनल्ड ट्रेल फोर्डसँग सम्बन्ध बनाइन्। वास्तवमा फोर्डसँग पहिलो चिनजान पनि नीलले नै गराएका थिए। फोर्डले पछि कन्जर्भेटिभ पार्टीका सांसद डेभिड शाँसँग भेटाए।

शाँले आफ्नो रिसर्च सहयोगीका रूपमा उनलाई हाउस अफ कमन्सको पास उपलब्ध गराए। त्यतिबेला एउटा सांसदले पाउने तीनवटा पास उनले बाँडिसकेका थिए। उनले आफ्नै पार्टीका अर्का सांसद हेनरी बलिघंमसँग अनुरोध गरेर पामेलाका लागि पास उपलब्ध गराए। रिसर्च सहयोगीका रूपमा उनको तलब सामान्य थियो। वर्षको एक हजार पाउन्ड मात्र। तर, उनी सधैं महँगो लुगामा लन्डनको कुलीनवर्गको पार्टीहरूमा देखा पर्थिन्।

पामेलाले त्यही बेला मार्गरेट थ्याचर सरकारको प्रभावशाली खेलकुदमन्त्री कोलिन मोनिहानसँग विशेष सम्बन्ध बनाइन्। मोनिहान सन् १९८० को मस्को ओलम्पिकमा रोइङका रजत पदक विजेता थिए। सन् १९७६ मा अक्सफोर्ड विश्वविद्यालमा अध्ययनरत रहँदा विद्यार्थी संघको चुनावमा उनले अध्यक्ष पदमा पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोलाई हराएका थिए। उनले पामेलालाई खेल देखाउन अनेकन् मैदान पुर्‍याए।

बेलायती पत्रिकाका अनुसार पामेलाले छोटो अवधिमा थ्याचर सरकारको मन्त्रिमण्डलमा यस्तो पहुँच बनाइसकेकी थिइन् कि उनीसँग हाउस अफ कमन्सको विशेष सुरक्षा पाससमेत थियो। हाउस अफ कमन्समा बैठक बस्न लाग्दा उनको घरबाट घन्टी बज्थ्यो। सांसदहरू एक–एक गर्दै उनको घर पुग्थे।

बेलायतमा उनी दोहोरो जीवन बाँचिरहेकी थिइन्। उनको पद थियो– कन्जर्भेटिभ पार्टीकी रिसर्चर सहायक। तर, बेलायतका दुई ठूला मिडियाका सम्पादक, कन्जर्भेटिभ पार्टीका प्रायः सबै सांसद उनीनिकट थिए।

त्यसैले क्रिस्टोफर लङले पाँच महिना लामो अनुसन्धानपछि इभिनिङ स्ट्यान्डर्डमा पामेला बोर्डेसको अन्तरंग कहानीको पटाक्षेप गरे। घटनापछि थ्याचरले पार्टीमा आफ्नो पकड गुमाइन्। सन् १९९० पछि जोन मेजरको उदय भयो।

यो पूरै घटनामा हतियारको कुनै साँठगाठ थियो कि हल्ला मात्र थियो? पुष्टि हुन सकेन। बेलायतबाट भागेकी पामेलाले पनि अन्तरंगबाहेक यस विषयमा मुख खोलिनन्। तर, त्यतिबेला साउदी अरबसँग हतियारको सम्झौता गराउन प्रधानमन्त्री मार्गरेट थ्याचरका छोरा मार्कले सहयोगीको भूमिका निर्वाह गरेको दाबी खसोग्गीले गरेका थिए।

द सन्डे टाइम्सलाई दिएको अन्तर्वार्तामा खसोग्गीले भनेका थिए, “वाफी सइदमार्फत मार्कलाई प्रयोग गरियो।” थ्याचर परिवारले भने खसोग्गीको यो दाबी खण्डन गर्दै आइरहेको छ। खसोग्गीको मृत्यु ८१ वर्षको उमेरमा सन् २०१७ मा लन्डनमै भएको थियो।

थ्याचरसँग जोडिएको एउटा प्रसंग भारतका पूर्वविदेशमन्त्री के. नटवर सिंहले आफ्नो पुस्तक वाकिङ विथ लायन्समा मिठो तरिकाले प्रस्तुत गरेका छन्। सन् १९७५ मा उनी बेलायतमा भारतको उच्चायुक्त थिए। थ्याचर कन्जर्भेटिभ पार्टीको नेता चुनिएको ६ महिना मात्र भएको थियो। भारतका विवादास्पद गुरु चन्द्रास्वामी लन्डन आइपुगे। उनले आफ्नो पहिलो भेटमै थ्याचरलाई रातो लुगा लगाएर भारतीय उच्चायुक्तको घर अर्थात् सिंह बस्ने ठाउँमा आउन आग्रह गरेका थिए। नभन्दै थ्याचर रातो लुगा पहिरिएर आइपुगिन्। उनले त्यतिबेला चन्द्रास्वामीसँग प्रश्न गरेकी थिइन– ‘स्वामीजी! म बेलायतको प्रधानमन्त्री बन्न सक्छु? स्वामीको उत्तर थियो– अवश्य। तिमी छोटो समयका लागि होइन, लामै समयका लागि प्रधानमन्त्री बन्छौ। ९, ११ कि १३ वर्षका लागि।’

नभन्दै थ्याचर ११ वर्ष बेलायतको प्रधानमन्त्री नियुक्त भइन्। विडम्बना! शैलले चन्द्रास्वामीलाई चिनाएको र चन्द्रास्वामीले प्रयोग गरेकी अति महत्त्वाकांक्षी पामेला बोर्डेस काण्डका कारण नै थ्याचरले आफ्नो राजनीतिक शक्ति गुमाइन्।