काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२१ भाद्र २०८२
अ+
अ-

शीतल निवास सामुन्ने खुला आँखाको आकृतिजस्तै देखिने एउटा भवन छ, द आई। युनिभर्सल टुर्स एन्ड ट्राभल्सको कार्यालय रहेको यस कर्पोरेट भवनका धनी व्यवसायी परासर प्रसाईं हुन्। उनी चाहन्थे, व्यापारिक सिलसिलामा आउने स्वदेशी र विदेशी हरेक अतिथिले आफ्नो भवन देखेर भनून, ‘वाह!’

द आई र शीतल निवास भवनको बीचमा महाराजगञ्ज-जमल आउजाउ गर्ने चल्तीको बाटो पर्छ। रोचक कुरा, द आईको माथिल्लो तल्लाको कुर्सीमा बसेर हेर्दा बाटोको गतिविधि देखिँदैन। देखिन्छ त केवल शीतल निवासको भव्य बगैंचा। यो महँगो बगैंचा सजाउन शीतल निवासले २४ लाखको ठेक्का दिएको समाचार त पढ्नु भएकै होला!

व्यवसायी प्रसाईं आँखाको माध्यमले भए पनि शीतल निवासको रहरलाग्दो बगैंचा आफ्नै भएको महसुस गर्न चाहन्थे। यही सोचबाट भवन डिजाइन गरिएकाले यसको नाम द आई राखियो।

सिसा र आल्मुनियमको प्रशस्त प्रयोग भएको द आई धेरै अग्लो वा झकिझकाउ भवन होइन। पाँच तल्लाको यो भवनमा प्राकृतिक प्रकाश र रंगको संयोजन लोभलाग्दो छ। भवनभित्र प्रवेश गरेपछि लिफ्ट बिर्साउने आकर्षक भर्‍याङ देखिन्छ, जसको डिजाइन मान्छेहरू भर्‍याङ चढून् भन्ने उद्देश्यले गरिएको हो।

खुला ठाउँ प्रशस्त राखिएको भवनको चारैतिर झन्डै पाँच फिटको फराकिलो बाल्कोनी छ। बाल्कोनीमा सिसा र आल्मुनियम मौसमअनुकुल हुने गरी संयोजन गरीएको छ। जसमा ठोक्किएर भित्रसम्म प्रवेश गर्ने घामले गर्मीमा पोल्दैन र जाडोमा न्यानो दिन्छ। भवनभित्रको बगैंचाले हरियोपनको अभाव हुन दिएको छैन। रुफ टपमा बनाइएको सानो पोखरीको पानीमा माछाहरू खेलिरहेका देखिन्छन्।

भवनहरूको भीडमा हेर्दै पृथक् लाग्ने यो कलात्मक भवन माथेमा पार्टनर्सको डिजाइनमा बनेको हो, जुन तयार हुन दुई वर्ष लागेको थियो। “समकालीन-आधुनिक शैलीको द आईको बाहिरी संरचना र आन्तरिक प्रयोग दुवै पक्षबीच सन्तुलन मिलाइएको छ, ” माथेमा पार्टनर्सका प्रोजेक्ट हेड तथा आर्किटेक्ट दीपेश श्रेष्ठ भन्छन्, “दुई वर्ष लगाइएको प्रोजेक्ट पूरा गर्नु चुनौतीपूर्ण थियो तर भवन बनेपछि धेरैले यसलाई काठमाडौंकै नयाँ प्रयोग भन्नुभयो। यो हाम्रो टिमले गर्व गर्ने प्रोजेक्ट हो।”

द आई एउटा उदाहरण मात्र हो। काठमाडौंमा यस्ता थुप्रै भवन भेटिन्छन्, जसले सहरको पहिचान फेर्ने काम गरेका छन्। यी भवन हाम्रा बदलिँदा जीवनशैलीको प्रतिनिधित्व गर्ने जीवन्त तस्बिर हुन्।

द आईबाट निस्केर लैनचौरतिर लाग्दा, एक किलोमिटरकै दूरीमा अर्को एउटा सिसैसिसाले घेरिएको भवन देखिन्छ। मुक्तिनाथ विकास बैंकको मुख्य कार्यालय रहेको यो भवनको पहिलो तल्लामा बैंकका कर्मचारी वीरेन्द्र राजभाटको काम गर्ने कोठा छ। उनलाई कामबाट जब ब्रेक चाहिन्छ, लिफ्टको बटन थिचेर १० औं तल्लामा पुग्छन्। क्यान्टिन र टेबल टेनिस बोर्डसमेत भएको सो तल्लाको बाहिरपट्टि बगैंचासहितको खुल्ला बरन्डा छ। उनी भन्छन्, “म यहाँ रिफ्रेस हुन आउँछु। एकछिन मात्रै टहलिँदा पनि मानसिक थकान मेटिन्छ।”

यहाँका कोठाहरूमा काठका ढोका छन्। बैंकको संवेदनशीलता ख्याल गरी एउटा कोठाको आगो अर्को कोठामा फैलिन नपाओस् भनेर प्रत्येक कोठामा अग्निप्रतिरोधी ढोका बनाइएको हो।

सबैभन्दा महत्त्वपूर्ण यहाँको ट्रिटमेन्ट प्लान्ट हो। यसले शौचालय र भान्साबाट निस्कने फोहोर सोझै ढलमा जानुअघि शुद्धीकरण गर्छ। यसका लागि डेढ करोड बढी लगानी गरिएको राजभाट बताउँछन्। काठमाडौंका सफा नदीमा ढल मिसाएर प्रदूषित पार्ने अभ्यासको विकल्पमा बैंकले यो प्रविधि जडान गरेको हो।

ऊर्जामैत्री भवनहरूमा बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग एउटा उदाहरण हो। यहाँ प्राकृतिक हावाबाटै चल्ने एअर कन्डिसन (एसी) प्रयोगमा ल्याइएको छ। प्राकृतिक हावा सिञ्चित गर्न ग्राउन्ड एअर टनेल बनाइएको छ। चौथो तल्लासम्म त्यसरी  सिञ्चित हावाले नै काम चल्ने विभागका सूचना अधिकारी दिनकर कायस्थ बताउँछन्।

ग्राउन्ड एअर टनेलका लागि भवनको बीचमा खाली ठाउँसमेत छोडिएको छ। यहाँको टावरसहितका दुई अतिरिक्त भवन विश्व बैंकको सहयोगमा बनेका हुन्। १ सय ५० जना अटाउने मिटिङ हल भएको भवनको छतमा बगैँचासमेत छ।

यहाँको शौचालयमा प्रयोगमा ल्याइएको युरिनल ड्रायरले पानीको खपत घटाएको छ। विभाग अधिकारी कायस्थका अनुसार पानी नचाहिने रसायनले नै सफा हुने यस्तो शौचालय नेपालमै पहिलो हो।

बबरमहलमै नेपाल आयल निगमको विशाल भवन पनि हालै सम्पन्न भएको छ। पछिल्लो समय नयाँ सेवा सुविधा र नवीन प्रविधिसहित बनेका निजी तथा सरकारी  भवनमध्ये कयौं २०७२ को भुइँचालोमा क्षतविक्षत भइ नयाँ स्वरूपसहित पुन:निर्माण भएका हुन्। भुइँचालोपछि टेकुस्थित कार्यालयबाट काम चलाइरहेको निगमले गत महिनादेखि सम्पूर्ण रूपमा अब नयाँ भवनबाटै काम सुरु गरेको छ। टाढैबाट देखिने अग्लो टावरसहितको यो भवनको बरन्डा भव्य छ, जहाँ सयौं मान्छे अटाउँछन्। यहाँबाट बबरमहल र सिंहदरबारका सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ।

भुइँचालोमा क्षतविक्षत हुने भवनमध्ये नेपाल राष्ट्र बैंक पनि मुख्य थियो। बैंकका थापाथली र बालुवाटार दुवै ठाउँका भवन भत्किएका थिए। यी दुवै ठाउँले अहिले नयाँ जीवन पाएका छन्, जुन आकर्षक र सानदार छन्।

बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको मुख्य कार्यालय अत्याधुनिक प्रविधिको प्रयोग र राणाकालीन मौलिकताको सम्मिश्रणसहित पुन:निर्माण भएको हो। 

नेपाल राष्ट्र बैंक थापाथलीको बैंकिङ भवन पनि कम छैन। भुइँचालोको क्षतिपछि नेपाल राष्ट्र बैंक, थापाथलीका विभिन्न विभाग केन्द्रीय कार्यालय, बालुवाटारमा सारिएको थियो। यी बैंक एकातिर नयाँ समयको आवश्यकताअनुसार अत्याधुनिक सेवा सुविधा सम्पन्न छन्, अर्कोतिर यिनले पुरानै मौलिकतालाई कायम राखेका छन्।

नवनिर्मित सरकारी कार्यालयको सूचीमा सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को चर्चा अनिवार्य छ। क्यानको आफ्नै लगानीमा बनेको यो भवन  निर्माणताकै चर्चामा थियो। यस भवनमा चार सयभन्दा बढी कर्मचारीले सहज रूपमा काम गर्न सक्छन्।

भुइँचालोपछि बनेका प्रायः भवनमा भूकम्पप्रतिरोधी मापदण्ड, अग्निप्रतिरोधी, अन्डरग्राउन्ड पार्किङ, वातानुकूलित तापक्रम, फरक क्षमता भएका समूहमैत्री, ऊर्जा तथा वातावरणमैत्रीजस्ता सेवा, सुविधा र सुरक्षाका मापदण्डसमेत अपनाइएका छन्। बगैंचा, ग्रीन वाल, सोलार, बैठक कक्ष, लिफ्टलगायत अन्य आधारभूत कुरा साझा छन्। कतिपय भवनमा ढोका खुल्ने, बन्द हुने र सवारी साधन जाँच गर्ने लगायत आधारभूत काम प्रविधिको प्रयोगले स्वचालित रूपमा हुन्छन्। भवनको उचाइ थपिँदै जाँदा आवतजावत र कामकाजलाई सहज बनाउने उपायको खोजीसमेत भइरहेको छ।

लामै समय र ठूलो लगानीमा बनेका यी भवनमा उपलब्ध सेवा सुविधा र वातावरणले कर्मचारी र सेवाग्राहीसमेतलाई लाभान्वित गर्ने अपेक्षा राख्न सकिन्छ।

मानिसको जीवन रमाइलो र सहज बनाउन सहरका आधुनिक बिजनेस कम्प्लेक्सहरूको भूमिका पनि कम हुँदैन। यस्ता कम्प्लेक्सको चर्चामा अग्रपंक्तिमा आउने नाम हो, पुलचोकस्थित ललितपुर विशाल बजार मल्टिप्लेक्स मल (लबिम मल)।

लबिम मल काठमाडौं/ललितपुरको आधुनिक जीवनशैली प्रतिनिधित्व गर्ने उदाहरणीय थलो हो। यहाँ कफी, आइसक्रिम, कपडा, जुत्ता, खानालगायत ७० भन्दा बढी ब्रान्डका सामान एकै ठाउँमा पाइन्छन्। राति अबेरसम्म सञ्चालन हुने सिनेमा हल क्यूएफएक्स यहाँको अर्को मुख्य आकर्षण हो। न्युरोड र दरबारमार्ग धाउने सम्भ्रान्त र उच्च मध्यमवर्गलाई तान्न सफल लबिमको डिजाइन यसरी गरिएको छ कि मलभित्र हिँड्दा पनि सडक पेटीमा हिँडेको भान हुन्छ। हुन त यसको डिजाइन भारतीय आर्किटेक्टले बनाएका हुन् तर आइडिया लबिमका सञ्चालकहरूको हो। यहाँका भित्ता, ब्रान्ड, स्वाद, शैली धेरै कुरामा दरबारमार्गका कतिपय व्यापारिक कम्प्लेक्सहरूको झल्को आउँछ।

आधुनिकताको कुरा गर्दा परम्परालाई चटक्क बिर्सनु पनि भएन। सहरको विकासमा परम्परा र आधुनिकताको सन्तुलन भएन भने न विकास हुन्छ, न त आफ्नो पहिचान नै बन्छ। हालै सञ्चालनमा आएको ठमेलको १३ तल्लाको आर्या होटल एन्ड स्पामा यस्तो सन्तुलन भेटिन्छ। यहाँको भुइँतलामा बुङ्मतीका सिद्धहस्त कालीगढको सीप कुँदिएको छ भने १२ औं तलामा विदेशी शैलीको सानदार स्काइलाइन रेस्टुराँ छ।

यही महिना पूर्ण रूपमा सञ्चालनमा आउने तयारीमा रहेको यहाँका काठे झ्याल ढोकाको डिजाइन बनाउन सात वर्ष लागेको असिस्टेन्ट मेनेजर दीप्शा शाही बताउँछिन्। नवौं तल्लास्थित स्विमिङ पुल, महिला र पुरुषका लागि छुट्याइका जकुजी यहाँका आकर्षण हुन्। पुरुषका लागि जकुजी राखिएको ठाउँबाट धरहरा र महिलाका लागि जकुजी राखिएको ठाउँबाट स्वयम्भूको सुन्दर दृश्य देखिन्छ। पूरै उपत्यकामा नजर डुलाउन पनि यो ठाउँ गज्जब छ।

रेस्टुराँका झ्याल-ढोका, लिफ्ट, लकर, डिजिटल माध्यमबाट खुल्छन्, बन्द हुन्छन्। खानाको अर्डर गर्नसमेत प्रविधि प्रयोग गरिन्छ। यस्ता सुविधाले संरचनामा मात्र नभई कार्य रूपान्तरणमा समेत सकारात्मक प्रभाव पारेको छ।

स्काइलाइन रेस्टुराँ भएको १२ औं तला खास छ, जहाँबाट सिसामाथि बसेर उपत्यकाका चारै दिशाको सौन्दर्यपान गर्न सकिन्छ। स्काइलाइन रेस्टुराँको नाम पनि जापानीमा छ सोरा, जसको अर्थ हो आकाश। असिस्टेन्ट मेनेजर शाहीका अनुसार दुई रोपनी जग्गामा अवस्थित यो भवन २ अरब ५० करोडमा निर्माण भएको हो। “होटल रुमभित्रै सोना राखिएको यो नेपालकै पहिलो रेस्टुराँ हो, ” उनी भन्छिन्।

२०७२ को भुइँचालोमा धेरै अग्ला भवन भत्केकाले त्यसपछि बन्ने भवनहरूमा सरकारले आधारभूत मापदण्ड लागू गर्न कडिकडाउ गर्‍यो। यसको असर नवनिर्मित भवनहरूमा देखिने आर्किटेक्ट प्रजल श्रेष्ठ बताउँछन्। काठमाडौं विश्वविद्यालय, थापाथली इन्जिनियरिङलगायत कलेजमा अध्यापन गर्ने श्रेष्ठ नेपालीहरूको अध्ययन र एक्पोजरलाई सहरका भव्य भवन बन्ने शृंखलामा भइरहेको वृद्धिको प्रमुख कारण मान्छन्। उनी भन्छन्, “अहिले बनिरहेका धेरै भवनमा समसामयिक शैलीको प्रभाव बढी छ। यो प्रभावको स्रोत विदेशको देखासिकी नै हो।”

पछिल्लो समय अध्ययनका लागि होस् वा काम गर्न विज्ञदेखि सर्वसाधारणले समेत विदेशका भवन देखेपछि त्यसको प्रभाव यहाँ देखिने नै भयो। सहरको विस्तारसँगै जमिनको खाँचो पूर्ति गर्न पनि अग्ला भवन निर्माण अपरिहार्य बन्छ। सहरमा मान्छे र सवारी साधनको चापाचाप बढेपछि त्यसको व्यवस्थापनका लागि विकल्पहरूको खोजी हुन्छ। अहिले बनेका सुविधायुक्त अग्ला भवनहरूले यस्ता विकल्पबारे नयाँ विकल्पको सम्भावनासमेत देखाइदिएका छन्।

सोसाइटी अफ नेपाली आर्किटेक्ट्स (सोना) का महासचिव अर्जुन बस्नेतका अनुसार जंगबहादुर राणाको बेलायत भ्रमणपछि नेपाल फर्केर विदेशमा देखेजस्तै भव्य भवनहरू बनाउन लगाए। त्यसका लागि विदेशी आर्किटेक्ट नै झिकाइएको थियो। बिस्तारै त्यसको असर सर्वसाधारणको घरमा पनि पर्न थाल्यो। हिमालयन कलेज अफ इन्जिनियरिङमा आर्किटेक्चर विभाग प्रमुखसमेत रहेका बस्नेतका अनुसार २०४६ सालपछि भित्रिएको विदेशी सहयोगसँगै विदेशी आर्किटेक्टहरूको आगमन झनै बढ्यो। नेपालमा त्यसपछि अग्लाअग्ला भवन बन्ने क्रम वृद्धि भएको हो। भन्छन्, “पहिला भवनहरूमा इँटा र स्थानीय सामग्री बढी प्रयोग हुन्थ्यो। अपवादबाहेक भवनका आकार पनि सानै हुन्थे।”

भवन निर्माणमा संलग्न विज्ञ र जनशक्ति संसारभरका ट्रेन्डबारे अपडेटेड र प्राविधिक हिसाबले दक्ष हुँदै जाँदा पछिल्ला भवनमा तिनै प्रभाव प्रतिविम्बित भइरहेको आर्किटेक्टद्वय श्रेष्ठ र बस्नेत बताउँछन्।

आर्किटेक्चर अटलियरका संस्थापक राहुलमुनि बज्राचार्य नेपाली मौलिक कला उचाइमा पुगेको मल्लकालकै बीचमा पनि मुगलकालीन आर्किटेक्चरको प्रभाव परेको तर त्यसको नेपालीकरण भएको बताउँछन्। जंगबहादुरको बेलायत भ्रमणपछि विदेशी शैलीका भवन बनाउने क्रम बढेपछि नेपालमा निओक्लासिकल शैली भित्रिएको उनको भनाइ छ।

राणाकालमै १९९० सालको भुइँचालोपछि पुनर्निर्माणका महत्त्वपूर्ण काम भए। त्यसपछि नै हो, न्युरोड बनेको। बज्राचार्य टुँडिखेलदेखि दरबार स्क्वायरसम्म सहरी योजनाकै रूपमा धेरै संरचना निर्माण भएको बताउँछन्। इन्जिनियर बेदप्रसाद लोहनीले राणाकालमै बनेको त्रिचन्द्र कलेजको सरस्वती सदनको निर्माण आधुनिक आर्किटेक्चरका लागि माइलस्टोन भएको मान्छन्। उनी भन्छन्, “यही नै नेपालको पहिलो ढलान भएको भवन थियो।”

२००७ को राजनीतिक परिवर्तनपछि र खासगरी पञ्चायतकालमा बनेका नयाँ संरचनाहरूमा आधुनिक शैली भित्रिएको आर्किटेक्ट बज्राचार्यको मत छ। त्यसबेला भारत, म्यानमार लगायत दक्षिण एसियामै ठूलाठूला विदेशी योजनाविद् तथा विज्ञहरू आएर संरचना र सहर निर्माणका काम भइरहेको थियो। तत्कालीन राजा महेन्द्रले पनि त्यसबाट प्रभावित भई नयाँ संरचना बनाउन लगाए।

आर्किटेक्चर भौतिक कुरामात्र होइन, यो संस्कृति र समुदायसँग जोडिएको विषय पनि हो। अहिले बनिरहेका नयाँ भवनहरूको संरचना, शैली र उपयोगिताले अन्ततः समाज-संस्कृतिलाई लाभ र पहिचान दिन्छ/दिनुपर्छ।

बज्राचार्यका अनुसार, २०४६ पछि राज्यको नियन्त्रण कम भई निजी क्षेत्रको प्रवेश बढेको हो। त्यसयता बनेका भवन तथा संरचनाहरूमा कुनै एउटा शैली नभई विविध शैलीको प्रयोग र समिश्रण भेटिने उनी बताउँछन्। “अहिलेका संरचनामा आधुनिक, उत्तरआधुनिक, सम्पदा संरक्षण, प्रयोगवादी शैलीदेखि विदेशी नक्कल गर्नेसम्मका शैलीको समिश्रण देखिन्छ,” उनी भन्छन्, “अहिले भारत, अमेरिका, युरोप र रुसजस्ता ठाउँबाट अध्ययन गरेर आएका आर्किटेक्टहरूले पहिलाभन्दा धेरै स्वतन्त्र र सिर्जनशील रूपमा आफ्नो प्रतिभा देखाइरहेको समय हो।”

आर्किटेक्चर भौतिक कुरामात्र होइन, यो संस्कृति र समुदायसँग जोडिएको विषय पनि हो। अहिले बनिरहेका नयाँ भवनहरूको संरचना, शैली र उपयोगिताले अन्ततः समाज-संस्कृतिलाई लाभ र पहिचान दिन्छ/दिनुपर्छ।

भवनहरूले सहरको विकाससँगै मान्छेको स्मृतिमा ल्यान्डमार्क बनाउने काम गर्छ। समयसँगै हिजोको ल्यान्डमार्क फेरिन सक्छ, मान्छेहरू पनि फेरिँदो जीवनशैलीमा अभ्यस्त भइदिन्छन्। तर, ठाउँलाई सम्झिने हाम्रो बानी भने बदलिँदैन।

काठमाडौंमा बनेका वा बन्दै गरेका आकर्षक, अग्ला र फरक शैलीका भवनहरू मान्छेको स्मृतिमा बस्ने नयाँ ल्यान्डमार्क पनि हुन्। यी भवनले ठाउँ—ठेगाना पनि चिनाउँछन्। कोही मानिस भेट्नु परे भन्छौं नि लबिम मल छेउ अथवा वान दरबारअगाडि।