काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ भाद्र २०८२
फाइल तस्वीर
अ+
अ-

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत भएको बताएका छन्।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै शर्माले सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्र नभई जनजीवन, आर्थिक गतिविधि र रोजगारीसँग पनि गहिरो सम्बन्ध राख्ने बताए।

“सामाजिक सञ्जाल रमाइलोको कुरा मात्र होइन, यसबाट धेरैले आम्दानी गरिरहेका छन्, रोजगारी सिर्जना गरिरहेका छन्। आज ती सबै बन्द भएका छन्,” शर्माले भने।

उनले सामाजिक सञ्जाललाई दर्ता र कर प्रणालीभित्र ल्याउनुपर्नेमा जोड दिँदै सरकारले संवाद र वैकल्पिक उपाय नअपनाएर जबर्जस्ती बन्द गर्ने निर्णय गर्नु गलत भएको बताए।

फरक प्रसङ्गमा शर्माले भ्रष्टाचारविरुद्ध सबैले मिलेर संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याउँदै, नेताहरू जनताप्रति जवाफदेही बन्नुपर्ने र सम्पत्ति छानबिन अनिवार्य रूपमा हुनुपर्ने धारणा पनि राखे।