काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ भाद्र २०८२
अ+
अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि हुने जेनजीहरूको प्रदर्शनलाई लक्षित गर्दै सरकार र सत्तापक्षलाई कुनै पनि किसिमको दमन, हस्तक्षेप वा बिथोल्ने कार्य नगर्न चेतावनी दिएको छ।

पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले आइतबार जारी विज्ञप्तिमा पछिल्लो पुस्ताले सडकमा स्वतःस्फूर्त रूपमा आउनु उल्लेख्य राजनीतिक परिघटना भएको बताएका छन्। उनले भने, “सरकारको श्रृंखलाबद्ध कुशासन र राज्यशक्तिको दुरुपयोगका विरुद्ध रास्वपा सदनदेखि सडकसम्म निरन्तर आवाज उठाउँदै आएको छ। जेनजीको आन्दोलन यसैको सशक्त अभिव्यक्ति हो।”

रास्वपाले प्रदर्शनमाथि सरकारको प्रतिक्रिया तथा वक्र दृष्टिबारे निगरानी राख्ने जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “जेनजीले उठाएका मुद्दालाई निष्कर्षमा पुर्याउन अपिल गर्दै, कुनै पनि दमनकारी वा हस्तक्षेपकारी कार्य नगर्न सरकार र सत्तापक्षीय दलहरूलाई चेतावनी दिन्छौं।”

पार्टीसँग आबद्ध युवाहरूलाई कुनै दलीय चिन्ह, नारा वा परिचय प्रयोग नगरी शान्तिपूर्ण रूपमा सहभागी भई ऐक्यबद्धता प्रकट गर्न आह्वान गरिएको छ।