काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

दृष्टिकोण

मुन्धुमको नाहेनलाई प्रतिनिधित्व गर्ने पात्र हो– सिम्बायोट। स्पाइडरम्यानको यो पात्रलाई बाँच्न अरूको शरीरको आवश्यकता पर्दछ। अरूकै शरीरमा पसेर आफ्नो बेहोरा देखाउँछ। मान्छेको मनभित्र लुकेका खासगरी खराब आकांक्षा पूरा गर्न मद्दत गर्दछ।

२२ भाद्र २०८२
अ+
अ-

याक्थुङ/लिम्बू भाषामा ‘नाहेन’ भन्नाले ईर्ष्या र आँखीडाही भन्ने बुझिन्छ। याक्थुङ मुन्धुममा र जनजीवनमा नाहेनको आत्मा हुन्छ भन्ने पनि सुन्न पाइन्छ। यही सन्दर्भमा नाहेनको आत्मा कस्तो होला भन्ने कौतूहल लाग्यो।

लाग्यो, अहिलेको समयमा नाहेनलाई प्रतिनिधित्व गर्ने एउटा राम्रो पात्र हो–सिम्बायोट। स्पाइडरम्यान फिल्मको यो पात्रको कुनै शारीरिक रूप छैन, यो कालो तरल पदार्थजस्तो देखिन्छ। यसलाई बाँच्न परजीवीलाई जस्तै अरूको शरीरको आवश्यकता पर्दछ। अरूकै शरीरमा पसेर यसले आफ्नो बेहोरा देखाउँछ।

सिम्बायोटले मान्छेको मनभित्र लुकेका आकांक्षा (खासगरी खराब) पूरा गर्न मद्दत गर्दछ। मान्छेलाई शक्तिशाली बनाई उद्दण्ड मच्चाउँछ। सधैं अरूको भलाइका लागि काम गरिरहेको सिम्बायोट स्पाइडरम्यानको शरीरमा पस्छ। सिम्बायोट शरीरमा पसेपछि सुरुमा त स्पाइडरम्यानलाई राम्रो लाग्छ, आत्मविश्वास बढ्छ, जीवन आनन्द अनि मस्त हुन्छ। जति उसले खराब काम गर्दै जान्छ, त्यति नै सिम्बायोट बलियो हाुदै जान्छ।

जब स्पाइडरम्यानलाई सिम्बायोटले आफूलाई खराब बाटोतर्फ धकेल्दै छ भन्ने थाहा हुन्छ, तब छुटकारा पाउन अनेकन् प्रयत्न गर्छ। तर, जब ऊ सिम्बायोटबाट छुटकारा पाउँछ, सिम्बायोट अर्को मान्छेमा पसेर शक्ति देखाउन थाल्छ। त्यो व्यक्तिले सही, गलत छुट्याउन सक्दैन, आफूलाई शक्तिमान बनाउन हिंसा गर्नसमेत पछि पर्दैन।

नाहेनले गर्ने पनि यही हो। नाहेनले लोभ, लालच बढाउँछ। शक्तिवान् बन्ने चाहना राख्छ। नाहेनले जकडिएको मान्छे शक्तिमान भयो भने उसले त्यसको दुरुपयोग गर्छ। नाहेनले भरिएको मान्छेले त सही, गलतमा फरक देख्दैन किनभने उसलाई हैकम चलाउनु छ, अरूले भन्दा बढी सम्पत्ति जोड्नु छ। उसलाई न्याय र अन्यायमा मतलब हुँदैन।

याक्थुङ मुन्धुममा नाहेनले गर्दा के कस्ता बिग्रह घटे, समस्या निम्तिए अनि त्यसको समाधान कसरी गरियो भन्ने कथाहरू पनि सुन्न पाइन्छ। दुम्सी आकारमा सानो भए पनि तन्त्रमन्त्र जान्ने थियो। ठूलो शरीर भएको हात्तीलाई पनि दुम्सी देखेर आरिस लाग्थ्यो र पैतलाले किचिदिन्छु भन्थ्यो।

बैरागी काइलाले ईर्ष्या र आँखीडाहीको आख्यान पुस्तकमा नाहेनलाई ‘समाजको हरेक तलमाथि हुनु ईर्ष्याको कारणले हो भनेर याक्थुङ मुन्धुम भन्दछ’ भन्दै अगाडि लेखेका छन्, “दुःखबिमार, लाभहानि, कलझगडा, पापाचार, दुराचार, छलकपट र अन्याय सबैको जड आँखीडाही नै हो भन्ने सामाजिक विश्वासका कारण लिम्बू जातिले तङसिङको पारायण र अनुष्ठानको प्रसंगमा नाहेन लाःङमालाई ठूलै महत्त्व दिएको हामी पाउँछौं।”

नाहेनका लोककथा

यो धर्तीमा नाहेन कसरी फैलियो भन्नेबारे याक्थुङ मुन्धुममा रोचक कथाहरू पाइन्छ। त्यसमध्ये एउटा कथा यस्तो छ– घामभाले (सूर्य) जसले पृथ्वीलाई उज्यालो र ऊर्जा दिन्छ तर उसलाई पृथ्वीमा बसेका जीवजन्तु र वनस्पती सुखी र खुसी देखेर ईर्ष्या लाग्छ। त्यसैले उसले आफ्नो राप कडा पार्छ। त्यो राप र तापका कारण पृथ्वीका वनस्पति सुकेर मर्न थाल्छन्। जीवजन्तु गर्मीले प्याकप्याक हुन्छन्। अन्नबाली पनि सुक्छन्। त्यसपछि सबै जीवजन्तु घामभालेले साह्रै दुःख दियो, अब त्यसलाई ठीक पार्नु पर्छ भनी योजना बनाउन थाल्छन्। अन्त्यमा मुसा र किराहरूले बाँसभित्र प्वाल पार्ने र त्यस प्वालबाट छिरेर दुम्सीले घामलाई वाण हानी मार्ने रणनीति बनाउँछन्। चराहरूले दुम्सीलाई आफ्ना प्वाख दिन्छन्, जनावरहरूले उसको शरीरमा काँडा र हतियार भिराइ दिन्छन्।

हातहतियारले सुसज्जित दुम्सी बाँसको टोड्को हुँदै टुप्पामा पुग्छ र घामभालेलाई ताकेर तिरले हान्छ। तिरले घामभालेको एउटा आँखा फुट्छ र रगतका छिटा पृथ्वीभरि छरिन्छ। त्यही रगतले छोपेको पृथ्वीमा नाहेन (ईर्ष्या र आँखीडाही) फैलिन्छ र व्याप्त हुन्छ भनिन्छ। घामभालेको एउटा आँखा फुटेपछि नै दिन र रात हुन थालेको भन्ने कथा पनि सुन्न पाइन्छ। कतिपय स्थानका मुन्धुममा आठवटा घाम भएको उल्लेख पनि पाइन्छ र त्यसमध्ये सातवटालाई दुम्सीले मारेको कथा पाइन्छ भनी दी कल्चर एन्ड रिलिजन पुस्तकमा चैतन्य सुब्बाले लेखेका छन्।

याक्थुङ मुन्धुममा नाहेनले गर्दा के कस्ता बिग्रह घटे, समस्या निम्तिए अनि त्यसको समाधान कसरी गरियो भन्ने कथाहरू पनि सुन्न पाइन्छ। दुम्सी आकारमा सानो भए पनि तन्त्रमन्त्र जान्ने थियो। ठूलो शरीर भएको हात्तीलाई पनि दुम्सी देखेर आरिस लाग्थ्यो र पैतलाले किचिदिन्छु भन्थ्यो। उसले तन्त्रमन्त्र गरेर हात्तीलाई नै जमिनभित्र गाडिदियो भन्ने कथा पनि छ। त्यसैगरी केसामी (बाघदाजुःपशुत्व) र नाम्सामी (मान्छेभाईःमनुष्यत्व) भाइको कथामा पनि ईर्ष्या र आँखीडाहीकै कारण दाजुभाइमा झगडा परिरहने हुन्छ। दाजुको हत्या हुन्छ। यसरी पशु र मानवबीच सधैंका लागि द्वन्द्व उत्पत्ति भयो भनिन्छ।

त्यसैगरी दाजु पाजाई तेन्तुम्याङ्बाले भाउजू लुप्ली अदन्हाङ्मा (वदेन्हाङ्मा) बिहे गरी ल्याउँदा बहिनी इरिरी इधुक्नामालाई दाजुले आफूलाई कम माया गरेको भन्दै भाउजूको ईर्ष्या गर्छिन्। यो कुरा भाउजूले थाहा पाउँछिन् र श्रीमान्लाई कुरा लगाई बहिनीविरुद्ध उचाल्छिन्। त्यसपछि दाजुले बहिनीलाई विषालु फूलको गुच्छाले हान्छ। बहिनी बिमार भएर मर्छिन्।

अर्को कथामा सुहाङफेवा र लाहादाङ्नामा हाडनाता भई बिग्रन्छन्। उनीहरूलाई छुट्याउने र उनीहरूका १७ जना सन्तानलाई बाउआमाबीच बाँड्ने निर्णय समाजका बुढापाका र गण्यमान्यले गर्छन्। सन्तान बाँडफाट गर्दा हानाथाप र छलकपट हुन्छ।

अर्को कथामा भने सौता–सौताबीच डाहाका कारण लोग्ने (सुसुवेन लालावेङ्बा–जसलाई महान सिकारी सावा येक्फुङ केम्बा भनेर चिनिन्छ) सिकार खेल्न जाँदा श्रीमतीहरू कसैले पनि सिकारी पूजा नगरिदिएका कारण जंगलमा खान नपाएर मृत्यु हुन्छ। यसरी समाज, घरपरिवार र आफन्तबीच नै विभिन्न कारणबाट नाहेन उत्पन्न भएको र त्यसले कलह मच्चिएका थुप्रै लोककथा सुन्न पाइन्छ।

अर्को कथामा मान्छेले जब चराचुरुङ्गी र जीवजन्तुले घर बनाएको देख्छ, उसलाई पनि घर बनाउनुपर्ने बोध हुन्छ। घर बनाइसकेपछि सबै जनालाई जाँडपानी खुवाइन्छ तर धमिराले केही पनि नसघाएको भन्दै उसलाई जाँडपानी दिइँदैन। जाँडपानी नपाएकाले रिसले धमिराले बिस्तारै घर नै भत्काइदिन्छ। यसप्रकार मान्छेले घर बनाएदेखि नै नाहेनको जन्म भएको मानिन्छ।

नाहेन मार्ने अनुष्ठान

याक्थुङ/लिम्बू समाजमा मात्र होइन, संसारभर नै ईर्ष्या र आँखीडाहीको अवधारणा पाइन्छ। यसका लागि आँखा लाग्नु, नजर, इभिल आईजस्ता थुप्रै शब्द प्रचलित छन्। यसबाट बँच्न दक्षिण एसियामा खासगरी हिन्दु समुदायले बालबालिकालाई कालो डोरो बाँध्ने, कालो टीका लगाइदिने र बुटी बाँधिदिने गरेको पाइन्छ। पसल र सवारीसाधनमा खुर्सानी, कागती, प्याज, जुत्ता–चप्पल झुन्ड्याउने गरेको पनि देखिन्छ। अरब र मेडिटेरियन देशहरूमा हरियो–नीलो आँखा भएको पोते लगाउने गर्छन्। यहुदी र मुस्लिम समुदायले हंस (हातमा आँखा राखिएको चित्र) भएको ताबिज लगाउने गर्छन्। धामीझाँक्रीले ‘आँखा लाग्यो’ भनी फुक्ने, बुटी दिने र अन्य झारफुकको उपाय पनि गर्ने गर्दछन्। यस्ता कुरालाई कतिले अन्धविश्वास मान्छन् तर यसको मनोवैज्ञानिक र सामाजिक पक्ष पनि गहिरो छ।

तङसिङ अनुष्ठान गर्दा नाहेनलाई मार्ने/तह लगाउने काम गरिन्छ भने नाहेनलाई व्यवस्थापन गर्नकै लागि भनेर माङ हुप वादेमा र हिवा तुःक्मा अनुष्ठानहरू गरिन्छ। माङ हुप वादेमालाई बोलचालको खस नेपाली भाषामा ‘गाली सराप बगाउने’ भन्छन्। यस अनुष्ठानमा खोलामा गएर गाली सराप बगाउने पूजा गरिन्छ। त्यसपछि फर्कंदा हिवा तुःक्मा वा रगतको आँसु (अभिशाप) पुछ्ने अनुष्ठान गरिन्छ। यसरी परिवार, छिमेक र एकै वंशका याक्थुङहरू मिलेर यो अनुष्ठान वार्षिक रूपमा गर्ने गर्दछन्।

यस्ता अनुष्ठान गर्दा फेदाङमा तथा येबाहरूको सहायताले नाहेनको आँखा फुटाउने वा मार्ने गरिन्छ। यस्ता अनुष्ठान गर्दा घरमा भएका भाँडा–कुडा, गरगहना, हातहतियार र अन्य विभिन्न वस्तुलाई थानमा राखिन्छ। ती वस्तुहरूले नाहेन पैदा गर्ने हुँदा नाहेनलाई पनि मार्नुपर्छ भन्ने बुझाइ छ। थानमा पूजा गरिसकेपछि खोलामा गएर पनि पूजा गरिन्छ। नाहेन भएर अरूले आफूलाई गरेका गाली, सराप नलागोस् सबै पखालिएर जाओस् र आफ्ना तर्फबाट भएका नाहेनका कुरा पनि पखालियोस् भनी खोलामा पनि यो अनुष्ठान गरिन्छ। यी प्रतिकात्मक अनुष्ठानहरू हुन्।

यी अनुष्ठानले व्यक्ति र समाजलाई मानसिक रूपमा बलियो बनाउने काम गर्छ। यसले याक्थुङ परिवार र समाजलाई पनि बाँधेर राख्छ र आपसी कलहबाट बचाउँछ। मुन्धुममा समाजमा सन्तुलन हुन आवश्यक छ भन्छ। त्यो सन्तुलन बिगार्न नाहेनको महत्त्वपूर्ण हात छ भनी मुन्धुमले अनेक किसिमका आख्यानबाट मान्छेलाई सचेत गराएको छ।

–सुब्बा समाजशास्त्री हुन् ।