काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौँ । ‘जेन-जी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ।

सरकारको आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समितिले काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये १४ जनाको निधन भएको समाचार बुलेटिन अपडेट गरेको छ।

यसैगरी, विभिन्न अस्पतालमा एक सय जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचाररत ६ प्रदर्शनकारीको मृत्यु भएको छ भने २५ जना घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरले बताएको छ । उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

सिभिल अस्पतालका अनुसार उपचाररत घाइते प्रदर्शनकारीमध्ये हालसम्म तीन जनाको मृत्यु भएको छ । काठमाडौँ मेडिकल कलेजमा उपचाररत २० घाइतेमध्ये एकको मृत्यु भएको छ । एभरेष्ट हस्पिटलमा ३४ जना उपचारत भने तीनको मृत्यु भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकको मृत्यु भएको छ । त्यहाँ घाइते १६ जनाको उपचार भइरहेको छ ।

उपचाररत घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । जेन-जी प्रदर्शनमा भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।