काठमाडौं- सरकारले फेसबुक, ह्वाट्सएप लगायत २६ वटा सामाजिक सञ्जाल निस्क्रिय गरेपछि जेन-जीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन्।
जेन-जीहरुले बिहान ९ बजेदेखि नै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनमा तीन हजारको संख्यामा जेन-जी भेला भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।
“जेन-जी समूहको प्रदर्शनका कारण माइतीघर क्षेत्रमा भिडभाड बढेको छ, सुरक्षा व्यवस्था कडा बनाइएको छ,” बोहराले भने।
युवाहरुले ‘फाइनल रिभोलुसन’ वा ‘इनफ इज इनफ’भन्ने नारासँग जोडेर देशव्यापी आन्दोलनको रूप दिइरहेका छन्।

प्रदर्शन माइतीघर मण्डलामा केन्द्रित छ। जेन-जीहरु स्वतन्त्ररुपमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका छन्। जसमा २८ वर्षमुनिका युवाहरूले भाग लिइरहेका छन्। प्रदर्शनमा सहभागी हुन स्कुल युनिफर्म र परिचय पत्र बोक्न आह्वान गरेका थिए। प्रदर्शनमा भाषणहरूको सट्टा गीत, कविता र मार्चहरू मात्र प्रस्तुत गरिने बताएका छन्। पोखरा, विराटनगर, बुटवललगायत अन्य सहरहरूमा पनि प्रदर्शन भइरहेका छन्।
राजनीतिक नेताहरूका सन्तानहरूको जीवनशैलीलाई जोडेर जेन–जीहरुले सोसल मिडियामा ‘नेपो बेबी’ ट्रेण्ड चलाइरहेका छन् । ट्रेन्डिङ ह्यासट्यागहरूले युवाहरूलाई एकजुट बनाएका छ, यद्यपि प्रतिबन्धका कारण अनलाइन समन्वय कठिन बनेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फेसबुक पोस्टमार्फत् प्रदर्शनको समर्थन गरेका छन्। उनले भनेका छन्, “यो जेन जेडको स्वतःस्फूर्त आन्दोलन हो। म उमेर सीमाका कारण भाग लिन सक्दिनँ, तर पूर्ण समर्थन छ। राजनीतिक दलहरूले यसलाई आफ्नो फाइदाका लागि नअपनाऊन्।”

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रतिबन्धलाई तानाशाही’ भनेर विरोध गरेको छ। उक्त पार्टीका सभापति रवि लामिछानेले नख्खु कारागारबाटै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्। कांग्रेस नेता डा. शेखर कोइरालाले युवाको आवाज सुन्न सरकारलाई चेतावनी दिएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले शान्तिपूर्ण प्रदर्शनलाई सुरक्षाकर्मीले बाधा नपुर्याउने बताएका छन्। १५ चैत २०८१ को तीनकुने घटनामा दुई जनाको मृत्युपछि काठमाडौंको प्रदर्शनमा सुरक्षा संवेदनशीलता बढेको छ।