काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। सरकारले फेसकुक, ह्वाट्सएप लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेन-जी समूहले काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन्।

जेन-जी समूहले बिहान ९ बजेदेखि नै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन्। तीन हजारको संख्यामा भेला भएका जेन-जी समूहले प्रदर्शन गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।

“जेन-जी समूहको प्रदर्शनका कारण माइतीघर क्षेत्रमा भिडभाड बढेको छ, सुरक्षा व्यवस्था कडा बनाइएको छ,” बोहराले भने। आन्दोलन कतिबेलासम्म हुने भन्ने स्पष्ट छैन। बोहराका अनुसार कसैले दिउँसो ३ र कसैले अपराह्न ५ बजेसम्म जारी रहने भनिरहेका छन्।

यो प्रदर्शनलाई ‘फाइनल रिभोलुसन’ वा ‘इनफ इज इनफ’भन्ने नारासँग जोडेर युवाहरूले देशव्यापी आन्दोलनको रूप दिइरहेका छन्।

प्रदर्शन बिहान ९ बजे नयाँ बानेश्वरको संसद् भवन नजिकबाट सुरू भएर माइतीघर मण्डलामा केन्द्रित भएको छ। आयोजकका यो नेतृत्वविहीन र राजनीतिक दलहरूबाट स्वतन्त्र आन्दोलन हो, जसमा २८ वर्षमुनिका युवाहरूले भाग लिइरहेका छन्। उनीहरूले स्कुल युनिफर्म लगाउने र परिचय पत्र बोक्न आह्वान गरेका थिए। प्रदर्शनमा भाषणहरूको सट्टा गीत, कविता र मार्चहरू मात्र प्रस्तुत गरिने आयोजकहरूले बताएका छन्। पोखरा, विराटनगर, बुटवललगायत अन्य सहरहरूमा पनि समान प्रदर्शनहरू भइरहेका छन्।

यो आन्दोलनको सरकारको ‘सोसल मिडिया प्रयोग नियमन निर्देशिका-२०८०’ मा आधारित छ। जसअन्तर्गत फेसबुक, इन्स्टाग्राम, युट्युब, व्हाट्सएप, लिंक्डइन, रेडिट र एक्स (ट्वीटर)जस्ता २६ प्लेटफर्महरू दर्ता नभएको भन्दै बन्द गरिएका छन्।

युवाहरूले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण ठानेका छन्। यसबाहेक, राजनीतिक नेताहरूका सन्तानहरूको ‘नेपो बेबी’ जीवनशैली (डिजाइनर ब्रान्ड, विदेश यात्रा र बिलासिता) लाई सामाजिक सञ्जालहरूमा भाइरल भएका भिडिओहरूले आन्दोलनलाई थप बल पुर्‍याएको छ।

टिकटकमा ट्रेन्डिङ ह्यासट्यागहरूले युवाहरूलाई एकजुट बनाएका छ, यद्यपि प्रतिबन्धका कारण अनलाइन समन्वय कठिन बनेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फेसबुक पोस्टमार्फत् प्रदर्शनको समर्थन गरेका छन्। उनले भनेका छन्, “यो जेन जेडको स्वतःस्फूर्त आन्दोलन हो। म उमेर सीमाका कारण भाग लिन सक्दिनँ, तर पूर्ण समर्थन छ। राजनीतिक दलहरूले यसलाई आफ्नो फाइदाका लागि नअपनाऊन्।”

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रतिबन्धलाई तानाशाही’ भनेर विरोध गरेको छ। उक्त पार्टीका सभापति रवि लामिछानेले नख्खु कारागारबाटै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्। कांग्रेस नेता डा. शेखर कोइरालाले युवाको आवाज सुन्न सरकारलाई चेतावनी दिएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले शान्तिपूर्ण प्रदर्शनलाई सुरक्षाकर्मीले बाधा नपुर्‍याउने बताएका छन्। १५ चैत २०८१ को तीनकुने घटनामा दुई जनाको मृत्युपछि काठमाडौंको प्रदर्शनमा सुरक्षा संवेदनशीलता बढेको छ।