काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

काभ्रेपलाञ्चोक। जिल्लामा अवैध रूपमा सञ्चालन हुँदै आएका कन्सल्टेन्सीहरूलाई जिल्ला प्रशासन कार्यालय धुलिखेलले ठगी मुद्दा चलाएर कारबाही गर्ने तयारी गरेको छ। गत बिहीबार गरिएको अनुगमनका क्रममा भेटिएका अवैध कन्सल्टेन्सीहरूलाई प्रशासनले कडाइ गर्ने भएको हो।

प्रारम्भिक अनुगमनमा जिल्लामा करिब एक सयभन्दा बढी कन्सल्टेन्सी सञ्चालनमा रहेको देखिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले भने, “मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याइएका कन्सल्टेन्सीहरूलाई तत्काल सेवा बन्द गर्न निर्देशन दिइने कानुनी व्यवस्था छ।”

शुक्रबारको अनुगमनमा बनेपा नगरमा अवैध रूपमा सञ्चालित ६ वटा कन्सल्टेन्सीलाई बन्द गर्न निर्देशन दिइएको छ। जिल्लास्तरीय अनुगमन समितिले करिब १५ कन्सल्टेन्सीको निरीक्षण गरेको थियो जसमा पाँचवटा मात्र दर्ता भएका छन् भने छवटा अवैध पाइएर बन्द गर्न भनिएको छ। साथै, चार कन्सल्टेन्सी संचालक फरार भएका छन्।

बन्द गर्न भनिएका कन्सल्टेन्सीहरूमा ग्लोबल हब एजुकेशनल कन्सल्टेन्सी, मिसन कम्प्युटर एन्ड एजुकेशनल कन्सल्टेन्सी, बनेपा हार्डफोर्ड एजुकेशनल कन्सल्टेन्सी, सार एजुकेशनल नेटवर्क लगायत छन्।

डिस्कभरी पाथवे एजुकेशनल कन्सल्टेन्सीलाई प्रमाणपत्र प्राप्त भएपछि मात्र सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ भने एसडिसी एजुकेशनल कन्सल्टेन्सीलाई दर्ता नभएकाले बन्द गर्न भनिएको छ। प्रशासनले जिल्लामा कन्सल्टेन्सी अनुगमनलाई अझ तीव्र पार्ने जनाएको छ।