काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। खाडी मुलुकहरूको पेट्रोलियम निर्यात गर्ने राष्ट्रहरूको सङ्गठन (ओपेक) र सहयात्री मुलुकहरूको समूह ‘ओपेक प्लस’ ले आगामी अक्टोबर महिनाबाट दैनिक कच्चा तेल उत्पादन एक लाख ३७ हजार ब्यारेलले बढाउने निर्णय गरेको छ।

आइतबार सम्पन्न भर्चुअल बैठकमा साउदी अरेबिया, रसिया, इराक, संयुक्त अरब राष्ट्र, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानजस्ता आठ प्रमुख देशहरूले विश्व बजारको पछिल्लो अवस्था र भावी सम्भावनाको समीक्षा गरेपछि यो निर्णय लिइएको हो।

ओपेकको सूचनामा भनिएको छ, “२०२१ मार्चमा गरिएको १६ लाख ५० हजार ब्यारेल दैनिक स्वैच्छिक कटौतीमध्येबाट अहिले एक लाख ३७ हजार ब्यारेल उत्पादन फेरी सुरु गर्ने निर्णय गरिएको छ।”

ओपेकले विश्वको आर्थिक अवस्था हाल स्थिर रहेको र बजार सन्तुलित रहेको उल्लेख गरेको छ। तेलको भण्डारण न्यून भएकाले बजारमा सुधारको स्पष्ट संकेत देखिएको बताइएको छ।

यो उत्पादन वृद्धिलाई बजारको आवश्यकताअनुसार क्रमशः थप घटबढ गर्न सकिने ओपेकले जनाएको छ। सो कटौती सन् २०२६ को अन्त्यसम्म लागू हुने गरी लम्ब्याइएको थियो। ओपेक प्लस समूहले आगामी अक्टोबर ५ गते पुनः बैठक गर्ने जनाएको छ।