काठमाडौं। सोमबार बिहानैदेखि भएको जेन–जी प्रदर्शनको तस्बिर खिच्न बिहान ९ः३० बजे नै माइतीघर पुगेको थिएँ।
भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द र राजनीतिक बेथितिको अन्त्यको माग गर्दै सडकमा उत्रिएका जेन–जीहरूको पदर्शन माइतीघरबाट नयाँ बानेश्वर लाग्यो। म पनि त्यही भीड पछ्याउँदै गए।
प्रदर्शनकारीहरूमा नेता र व्यवस्थाप्रति नै तीव्र आक्रोश झल्किन्थ्यो।
शान्तिपूर्ण भनिएको प्रदर्शन १२ बज्दा नबज्दै मुठभेडउन्मुख भयो। प्रदर्शनकारी र प्रहरी आमने सामने भएपछि उत्तेजित हुँदै नाराबाजी गरेको भीड संसद भवनतर्फ अघि बढ्यो। प्रहरीको ब्यारिकेड युवा बलले ढाल्यो। त्यसपछि त भीड झनै आक्रामक देखियो।

संसद भवनलाई चारैतिरबाट घेर्दै नाराबाजी गरिरहेका बेला एक हुल प्रदर्शनकारी भवनको पश्चिम गेट पुग्यो। केही बेरको नाराबाजी र होहल्लापछि प्रहरीसँगको मुठभेड सुरु भयो। भवनको पश्चिम गेट भत्काउने प्रयास गरेपछि प्रहरीले प्रदर्शकारीमाथि टियर ग्याँस प्रहार गर्यो। प्रदर्शकारीले टियर ग्याँसको बदलामा ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले रबरको गोली चलायो।
यसैबीच १ बजेर २४ मिनेटमा संसद भवनको हरियो गेटभित्रबाट प्रहरीले चलाएको रबरको गोलीले एक जना युवा मेरै आँखा अगाडि ढले। गेट छेउकै रुखमुनि ढलेका युवा घोप्टो परेका थिए, जसलाई दुई जना युवाले जसोतसो घिसार्दै सडकमा पुर्याएपछि अरु केही युवा साथ दिन आए।
उनीहरूले बोकेर अस्पताल दौडाएका युवकको स्वास्थ्यबारे मलाई जानकारी छैन। तर, यसरी नै आजको प्रदर्शनमा प्रहरीको गोली लागी हालसम्म १७ जनाको निधन भइसकेको छ। यो संख्या अझै बढ्ने क्रममा छ।











