काठमाडौं। अभिनेता राजेश हमालले जेनजी पुस्तालाई राष्ट्रको सम्पदा र संरचना संरक्षण गर्न आग्रह गरेका छन्। सोमबार प्रहरीको गोली प्रहारबाट मृत्यु भएका व्यक्तिहरूको सम्झनामा जेनजीले आयोजना गरेको दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुँदै उनले यस्तो धारणा राखेका हुन्।
हमालले सोमबारको घटनालाई नेपाली इतिहासकै कालो दिनका रूपमा उल्लेख गर्दै भने, “नेपालमा जेनजीले जुन कदम उठाएका छन्, त्यसको समर्थन हामी सबैले गरेका छौं। तर राष्ट्रको सम्पत्ति कुनै नेताको निजी सम्पत्ति होइन। ती हाम्रो साझा सम्पदा हुन्। तिनको नाश नगरौं, संरक्षण गरौं।”
उनले भोलि देशको नेतृत्व गर्ने जिम्मेवारी नयाँ पुस्तामाथि आउने भएकाले संरचना र सम्पदा आवश्यक हुने भन्दै संयमता अपनाउन अपिल गरे।
हमालका अनुसार यो आन्दोलन एक-दुई वर्षको आक्रोश नभई दशकौँदेखि उम्लिरहेको असन्तोषको विस्फोट हो। उनले अब नेपालीकै एकता र सचेतताले मात्र मुलुकलाई जोगाउन सक्ने बताएका छन्।