काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि समर्थन गरेको जनाएका छन्। कार्कीको नाम जेनजी प्रतिनिधिहरूले प्रस्ताव गरेका थिए, जसमा मेयर बालेनले खुलेर समर्थन जनाउँदै संसद विघटनको माग समेत गरेका छन्।
बालेनले फेसबुक पोस्टमा राष्ट्रपतिलाई सम्बोधन गर्दै लेखेका छन्, ‘जेनजीहरूले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद विघटन अविलम्ब गर्नु होला।’ उनले अहिलेको विषम परिस्थितिमा धैर्य र संयम राख्न जेन-जी पुस्तालाई आग्रह गर्दै, अब बन्ने अन्तरिम सरकारको मुख्य काम चुनाव गराएर देशलाई नयाँ जनादेश दिनु रहेको स्पष्ट पारेका छन्।
अहिले नै नेतृत्वमा आउन चाहने युवाहरूलाई लक्षित गर्दै शाहले भनेका छन्, ‘तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन।’ उनले स्थायी नेतृत्वका लागि निर्वाचन अवश्यक हुने भएकाले हतार नगर्न आग्रह गरेका छन्।
