काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीयदेखि स्थानीय तहसम्मका नेताहरू सामाजिक सञ्जाल र विज्ञप्तिमार्फत धमाधम बोल्न थालेका छन्। भदौँ २३ र २४ को जेनजी प्रदर्शन त्यसबाट उत्पन्न परिस्थितिबारे उनीहरुले धारणा सार्वजनिक गर्न थालेका हुन्।
विज्ञप्तिमार्फत पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जेनजीको प्रदर्शनको क्रममा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्। उनले नहुनुपर्ने घटना भएको बताएका छन्।
देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको महतले विज्ञप्तिमा उल्लेख गरेका छन्। एक दिनको क्षति १० वर्षे माओवादी द्वन्द्वको बेलाभन्दा धेरै बढी भएको कांग्रेसले बताएको छ।
‘देश, जनता र लोकतन्त्र प्रति प्रतिबद्द नवयुवाहरूले अवश्य पनि यस्तो चाहेका थिएनन्। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘मलगायत धेरैको घर, निजी सम्पत्ति, उधोग व्यावसाय, सन्चार गृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ। यसले लगानीको वातावरणलाई पनि बिगारेको छ र क्षतिपुर्ती गर्न वर्षौँ र ठूलो लगानी लाग्ने निश्चित छ। पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य नेतामाथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भर्त्सना गर्दछु।’
यस्तै पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै ९ बुँदामा संवाद, संयम र एकताले शान्तिपूर्ण समाधान निकाल्न अपिल गरेका छन्। महामन्त्रीद्वयले संविधान र लोकतान्त्रिक बाटोबाट अहिलेको समाधान निकाल्न पनि अपील गरेका छन्। सामाजिक एकता र सद्भाव राख्न अनुरोध गर्दै उनीहरूले जेनजी पुस्ताहरूको समेत भावना समेटेर सशक्त दल बनेर कांग्रेस अगाडि आउने उल्लेख गरेका छन्।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि विज्ञप्ति मार्फत देश अचानक र अप्रत्यासित ढंगले आतंकित भएको उल्लेख गरेका छन्। अत्यन्त ठूलो कष्ट र पीडा देशवासीले बेहोर्नु परेको भन्दै उनले अत्यन्त दुःखद् घडिमा संयम र धैयर्ता अपनाउन महतले भनेका छन्। साथै, उच्च मनोबलसहित सतर्क, सजग र भावनात्मक रुपले एकताबद्ध रहन पनि उनले आग्रह गरेका छन्।
कांग्रेस केन्द्रीय सदस्य गोविन्द पोखरेलले पनि मुलुकको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डता जोगाउन सबैले हातेमालो गर्नुपर्ने उल्लेख गरेका छन्। सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणको भत्सर्ना गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा दल अनिवार्य हुने उल्लेख गरेका छन्।
यस्तै नेता अर्जुननरसिंह केसीले अहिलेको संकट समाधान गर्ने सुझावसहित सात सार्वजनिक गरेका छन्। उनले आज सामाजिक सञ्जालमार्फत ती सुझाव दिएका हुन्।
उनले नागरिकमा छाएको असन्तुष्टिका कारण देशमा अहिलेको अवस्था आएको उल्लेख गर्दै संकट समाधानका लागि सुझाव दिएका हुन्। सुझावमा उनले गोलमेच सम्मेलन, राष्ट्रिय सहमतिको सरकार, शक्तिशाली आयोग बनाएर भ्रष्टाचारको छानबिन जस्ता विषय समेटेका छन्।