काठमाडौं। नेकपा एमाले महासचिव शंकर पोखरेल र उप-महासचिव प्रदीप ज्ञवालीले आन्दोलनका क्रममा भएको घटनाहरुमा सुरक्षा निकायको भूमिकाको समीक्षा हुनुपर्ने बताएका छन्।
बुधबार फेसबुकमा संयुक्त रुपमा लेख्दै पोखरेल र ज्ञवालीले आयोजकहरुले शान्तिपूर्ण प्रदर्शन रहने घोषणा विपरित विध्वंसात्मक र विनाशकारी घटनाहरु कसरी कसबाट घटाइए त्यसको छानविन हुनुपर्ने पनि माग गरेका हुन्।
“प्रदर्शन शान्तिपूर्ण रहने आयोजकहरुको पूर्वघोषणा विपरीत र यसमा कुनै सङ्लग्नता नरहेको उहाँहरुको स्पष्टोक्तिका बाबजुद यस्ता विध्वंसात्मक र विनाशकारी घटनाहरु कसबाट र कसरी घटाइए, यसको यथार्थ छानबिन हुनैपर्छ। यस क्रममा राज्यका सुरक्षा निकायहरुको भूमिकाको पनि समीक्षा हुनुपर्छ” पोखरेल र ज्ञवालीले भनेका छन् ।
उनीहरुले घटनाको निष्पक्ष छानविन र दोषीमाथि कानुनबमोजिम कार्बाही हुनुपर्ने बताएका छन् । समग्र स्थितिको वस्तुनिष्ठ विश्लेषण र यस क्रममा हाम्रा कुनै कमी रहेका भए तिनको पनि समीक्षा उपयुक्त समयमा हुने उनीहरुले जनाएका छन्।
पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनीहरुले लखेका छन्, “यतिबेला सम्हालिनु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु बढी महत्वपूर्ण छ। राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलन सबैका सामु गम्भीर चुनौती उत्पन्न भएको प्रतिकूल अवस्थामा यिनको रक्षाका लागि कमरेडहरुको रचनात्मक भूमिका रहने छ भन्ने विश्वास लिएका छौँ।”
पोखरेल र ज्ञवालीले युवाहरुको आकाक्षाअनुसार संविधान संशोधनको बारेमा पहल लिन राष्ट्रपतिलाई आग्रह गरेका छन्।
“प्रधानमन्त्रीको राजिनामापछिको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ। सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट सुशासन, सहज सेवा प्रवाह र तीव्र विकासको आकाङ्क्षा लगायतका युवा पुस्ताका मागलाई संविधानसम्मत रुपमा संवोधन गर्न आवश्यक पहलका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ,” उनीहरुले भनेका छन् “लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर गर्नु हुँदैन र समाधानका प्रत्येक प्रयासले लोकतन्त्रलाई थप सुदृढ गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ।”
सुशासनको माग गर्दै आन्दोलन चर्कोपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिएका छन्। प्रधानमन्त्रीबाट राजिनामा दिएपछि ओली सार्वजनिक रुपमा देखिएका छैनन्।