काठमाडौँ। नेकपा माओवादी केन्द्रले अहिलेको संक्रमणकालीन अवस्थाको निकास संविधानसम्मत तरिकाले खोज्नु पर्ने बताएका छन्।
बिहीबार अध्यक्ष पुष्पकमल दाहालले विज्ञप्ती जारी गर्दै संविधान र व्यवस्थापिका संसदको शुन्यतामा खोजिने राजनीतिक निकासले प्रतगामी शक्तिलाई फाइदा पुर्याउने बताएका छन्।
“हाम्रो ठहर छ, कैयन् कमजोरीका वावजूद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान हो।
त्यसैले अहिलेको संक्रमणकालिन अवस्थाको निकास समेत संविधानसम्मत तरिकाले हुनुपर्दछ,” दाहालले भनेका छन्, “संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले अन्ततः प्रतिगमनलाई नै फाइदा पुर्याउने छ।
त्यसैले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरुको गम्भीर समिक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सके मात्रै हामी समुन्नत लोकतन्त्रको विकास गर्न सक्छौं। यो पक्षलाई अत्यन्तै संवेदनशील र गम्भीररुपमा लिएर आन्दोलनकारी पक्षले आफ्नो भावी रणनीति विकास गर्ने विश्वास लिएका छौ।”
जेनजीको आन्दोलन बढेपछि मंगलबारबाट सार्वजनिक रुपमा नदेखिएका दाहालको बिहीबार विज्ञप्ती सार्वजनिक भएको छ।
उनले गणतान्त्रिक व्यवस्थामा भएको कमीकमजोरीलाई सच्याएर अघि बढ्नका लागि पार्टी तयार रहेको बताएका छन्।
दाहालले अन्य राजनीतिक दलहरुमा भन्दा आफ्नो दल फरक रहेको समेत दावी गरेका छन्। “नेकपा (माओवादी केन्द्र) नेपाली समाज रुपान्तरणका पक्षमा अडिग भएर लड्दै आएको पार्टी हो। हामीले समानता, स्वतन्त्रता र स्वाधीनताको लागि लामो संघर्ष गर्यौं। त्यसैले हामी र अन्य पार्टी एउटै हो भन्ने भाष्य गलत भएको दोहोर्याउन चाहन्छौं।
गणतन्त्रका लागि मुक्ति या मृत्युको कसम खाएर लड्ने पार्टी र जनताको त्यस आन्दोलनलाई दमनका भरमा सिध्याउन चाहने पार्टीहरु एउटै होइनन्। गणतन्त्रको अभ्यासका क्रममा भएका कमीकमजोरीको निर्मम समीक्षा गर्दै अघि बढ्ने पार्टी हो हाम्रो,’ विज्ञप्तीमा भनिएको छ, “नयाँ र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने हाम्रो नीति हो।
हामी यथास्थितमा बस्न चाहन्नौं। त्यसैले परिवर्तनविरोधीहरुबाट माओवादी केन्द्रबारे भइरहेका झूटो प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्न चाहन्छौं। अग्रगामी परिवर्तनका पक्षमा हुने, नेपाली जनता अधिकारसम्पन्न हुने, सुशासन र सामाजिक न्याय कायम गर्न सकिने सबैखाले आन्दोलन र पहलकदमीमा हाम्रो साथ, समर्थन रहने छ।”
दाहालले जेनजी पुस्ताले उठाएको माग संविधान सम्मत तरिकाले पुरा गर्न राष्ट्रपतिबाट भइरहेको पहललाई सहयोग गर्ने जनाएका छन्।
“जेन जी पुस्ताले उठाएका मागहरु संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पुरा गर्न सम्मानित रास्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भुमिकाको सराहना गर्दै आवश्यक सहयोग पुर्याउन सबैसँग अपील गर्दछु।
साथै प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्णरुपमा निकासका पक्षमा लाग्न आव्हान गर्दछु।”