काठमाडौँ
००:००:००
२२ माघ २०८२, बिहीबार

२६ भाद्र २०८२
अ+
अ-

काठमाडौं। पूर्वयोजनाकार मञ्चले संविधानअनुसार नै सरकार गठन प्रक्रिया सुरु गर्न राष्ट्रपति र सभामुखलाई आग्रह गरेको छ। मञ्चले एक अपिलपत्र जारी गर्दै वर्तमान जटिल परिस्थितिमा राष्ट्रपति र सभामुखको भूमिका मुख्य हुने भएकाले तत्काल सरकार गठनका लागि संविधानअनुसार प्रक्रिया सुरु गर्न आग्रह गरेको हो।

मञ्चले जननिर्वाचित प्रतिनिधिसभाले बनाएको संविधान जीवितै भएकाले संविधानले परिकल्पना गरेका राष्ट्रिय संरचनाहरूमार्फत समाधानको उपाय खोज्न पनि माग गरेका छन्।

जेन-जीको आह्वानमा भएको आन्दोलनका मागलाई सम्बोधन गर्न, त्यसक्रममा भएका आगजनी, तोडफोड र हिंसाका घटनालाई छानबिन गरी दोषीलाई कारबाही गर्न तथा लोकतन्त्रले दिएको नागरिक अधिकार, समावेशिता, वाक् तथा प्रेस स्वतन्त्रता र कानुनी शासनमा कुनै पनि सम्झौता नगर्न मञ्चले आग्रह गरेको छ।

‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, लोकतन्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको दिगोपना, संवर्द्धन र संरक्षणको बाटोमा परिस्थितिलाई थप जटिल बन्न नदिन हामी सबैलाई धैर्यता, संयमता अपनाउन, शान्ति र अमनचयन कायन गर्ने कार्यमा ध्यान पुर्‍याउन आन्दोलनरत जेन-जी पुस्ता र सम्बद्ध सबै पक्षसँग विशेष आग्रह गर्दछौं’, मञ्चले जारी गरेको अपिलपत्रमा भनिएको छ।