काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

जेन-जीका नाममा नेताका घर र सार्वजनिक सम्पत्ति तोड्फोड, लुटपाट र आगजनी गर्ने समूहविरुद्ध धरानमा ‘सर्वपक्षीय नागरिक बचाउ अभियान’ सुरु भएको छ।

२६ भाद्र २०८२
धरानमा भाटभटेनी सुपरमार्केटमा आगजनी गरिरहेका टोलीलाई रोक्न खोजिरहेका स्थानीय।
अ+
अ-

धरान। ‘जेन जी’ आन्दोलनका क्रममा सोमबार काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा गोली चलेर अशान्ति मच्चिँदा धरानमा भने तुलनात्मक रूपमा कम क्षति भयो।

सोमबार साँझसम्म काठमाडौं र इटहरीमा गोलीबाट १९ जनाको मृत्यु भइसकेको थियो भने चार सयभन्दा बढी घाइते भएका थिए। भोलिपल्ट मंगलबार बिहानैदेखि काठमाडौंमा नेताका घर, सरकारी र व्यक्तिगत भवनमा धमाधम आगजनी हुँदा समेत धरानमा जेन-जीको प्रदर्शन शान्तिपूर्ण थियो।

जेन-जीहरू साढे ४ बजे नै आफ्नो आन्दोलन सकिएको घोषणा गरेर घर फर्किए। त्यसपछि भने एकाएक धरानका नेताका घर छानीछानी तोडफोड र आगजनी सुरु भयो। जेन-जीको आन्दोलन सकिएपछि जेन-जीकै नाममा ४०–५० जनाको संख्यामा आएको अराजक समूहले धरानका पूर्वमेयर मनोजकुमार मेन्याङ्बोको बासस्थानसमेत रहेको होटल कञ्चनजंगा, पूर्वउपमेयर मञ्जु भण्डारी, पूर्वसांसद जयकुमार राई, नेपाली कांग्रेसका नेता सुजेन्द्र तामाङ, धरानकी कार्यपालिका सदस्य सिर्जना नेपालका घरमा र दलका कार्यालयहरूमा तोडफोड र आगजनी गरे। उनीहरुले नेताहरूका घरमा भाडामा बस्नेहरूका समान समेत निकालेर जलाइदिए।

धरानमा एकाएक त्रास फैलियो। एकपछि अर्को घरमा तोडफोड भइरहँदा धरानका केही जनप्रतिनिधि भने जेन-जीका नाममा भइरहेको आतंक रोक्न एकजुट भए। उनीहरूले तुरुन्तै दलका विभिन्न दलमा आबद्ध र स्वतन्त्र युवालाई जम्मा गरेर प्रतिकारका लागि ठाउँ ठाउँमा राखे। त्यसरी खटिएका युवाहरू चिन्नका लागि उनीहरूले सेतो फेटा र मास्क लगाउने व्यवस्था मिलाइयो।

धरान उपमहानगरपालिका वडा नं. १२ का सदस्य ब्रह्मज्ञ भट्टराईका अनुसार ती युवाहरूलाई जेन-जीका नाममा तोडफोड गरिरहेका अराजक समूह पुग्ने सम्भावित ठाउँहरूमा परिचालन गरियो। नेताहरूका घर फोड्दै हिँडेको समूह धरान–१७ का वडाअध्यक्ष मनोज भट्टराईको घरमा पुगेको खबर आयो। युवाहरू तुरुन्तै जम्मा भएर प्रतिकार गरेर लखेटे। वडाध्यक्षको घर र वडा कार्यालय जोगियो।

त्यसपछि धरानका पूर्वमेयर तिलक राईको धरान–१८, बुद्धचोकस्थित घरमा तोडफोड गर्न केही व्यक्ति पुगेका थिए। पहिलेदेखि नै तयार भएर बसेका युवाले उनीहरुलाई पनि लखेटे। चोकमा एकछिन झडप नै पर्‍यो। “त्यहाँ लखेटिएको समूहले पछि भाटभटेनीमा आगो लगाएछ,” वडा सदस्य ब्रह्मज्ञ भट्टराई भन्छन्, “त्यसपछि हामी दमकल बोलाएर भाटभटेनी पुग्यौं। आगो निभाउन सहयोग गर्‍यौं तर आगो नियन्त्रण गर्न सकिएन।”

जनप्रतिनिधिसहितका स्थानीय युवाहरूले राति विभिन्न नेताका घर र सरकारी कार्यालय निगरानी गरे। स्थानीय जागरुक भएपछि अन्य कार्यालय र घरमा तोडफोड र आगजनी गर्न पाएनन्। यसरी जेन-जीका नाममा तोडफोड गरेर आतंक मच्चाउने दिनभर आन्दोलनमा उत्रिएका जेन-जी थिएनन्। तोड्फोड र आगजनीका क्रममा खिचिएका भिडियो र फोटो हेर्दा उनीहरू मेयर हर्क साम्पाङको श्रमदानमा हिँड्ने उनका समर्थकहरू देखिएको धरानका पूर्वमेयर मनोजकुमार मेन्याङ्बो बताउँछन्।

मेन्याङ्बोले आफ्नो होटल कञ्चनजंघामा तोडफोड, आगजनी र लुटपाटको नेतृत्व गर्नेमा धरान–१६ का मिलन बान्तवा राई रहेको भेटिएको बताए। राई साम्पाङको श्रमदान अभियन्तासमेत हुन्। पूर्वमेयर मेन्याङ्वोले राईको फोटो र नाम सामाजिक सञ्जालमासमेत सार्वजनिक गरेका छन्।

धरान उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १७ का वडाध्यक्ष मनोज भट्टराई जेन-जीका नाममा नक्कली जेन-जीले आतंक मच्चाएको बताउँछन्। त्यसरी आगजनी गर्दै हिँड्नेहरूले श्रमदाताको टिसर्टसमेत लगाएको र २० जना जति पहिचान भइसकेको उनको भनाइ छ।

मंगलबार राति तोडफोड र आगजनी गर्ने समूहले त्यसपछि पनि विभिन्न टोलमा आतंक मच्चाउन थालेपछि पूर्वमेयर तिलक राई, धरान–१८ का वडाध्यक्ष प्रविण राई, धरान–१७ का अध्यक्ष मनोज भट्टराई, धरान–१० का अध्यक्ष विवेक राई, वडा नं.१२ का सदस्य ब्रह्मज्ञ भट्टराईलगायत धरानका २० वटै वडा समेटेर दुई सय जनाको ‘सर्वपक्षीय नागरिक बचाउ अभियान २०८२’ गठन गरिएको छ। सबै वडामा पाँच–पाँच जनाको नम्बर सार्वजनिक गरिएको छ। वडा सदस्य भट्टराई भन्छन्, “आतंक मच्चाउनेहरू आएमा ती नम्बरमा फोन आउँछ। खबर आएको १० मिनेटभित्र त्यहाँ पुग्ने व्यवस्था मिलाएका छौं।”

सर्वपक्षीय नागरिक बचाउ अभियानका सदस्यहरूको सम्पर्क नम्बर

धरानको सामाजिक समभाव, सहिष्णुता र शान्ति कायम राख्नका लागि जनप्रतिनिधिसहितको सर्वपक्षीय अभियान गठन गरिएको धरानका पूर्वमेयर तिलक राई बताउँछन्। भन्छन्, “जुनसुकै नाममा सार्वजनिक र व्यक्तिका सम्पत्ति लुटपाट गर्ने र आगो लगाउनेजस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाउने छौं। धरानमा शान्तिपूर्ण वातावरण बनाउन भूमिका खेल्नेछौं।”