काठमाडौं। केही दिनदेखि काठमाडौंमा अलपत्र परेका बंगलादेश फुटबल टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। टोलीलाई बिहान ११:३० पछि विशेष उडानमार्फत ढाका फर्काइने लागिएको हो।
बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले काठमाडौंस्थित दूतावास र बंगलादेश सरकारले संयुक्त पहल गरेपछि कप्तान जमाल भुइयाँसहित टोली स्वदेश फर्किन लागेको हो। नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल कभर गर्न आएका पत्रकारहरू पनि यही उडानमार्फत फर्किनेछन्।
जेनजी आन्दोलन चर्किएपछि गत ९ सेप्टेम्बर सरकार ढलेको थियो। त्यसै कारण ९ तारिख दिउँसोदेखि बुधबार साँझसम्म सम्पूर्ण हवाई उडान स्थगित गरिएको थियो। साँझपछि पुनः उडान सुरु भएपछि बीएफएफले टोलीलाई स्वदेश फर्काउने निर्णय गरेको हो।
बंगलादेश टोली दुईवटा खेल खेल्न काठमाडौं आएको थियो। तर, ८ सेप्टेम्बरदेखि आन्दोलन सुरु भएपछि ९ सेप्टेम्बरको खेल रद्द भएको थियो। त्यस दिनै स्वदेश फर्कने तयारी भए पनि विमानस्थल बन्द भएकाले उनीहरू होटलमै अलपत्र परेका थिए।
८ सेप्टेम्बरमा आन्दोलन उत्कर्षमा पुगेपछि टोलीको अभ्यास समेत रद्द भएको थियो। स्थिति नियन्त्रणमा लिन सरकारले कर्फ्यू जारी गरेको थियो। त्यस क्रममा जमालसहितको टोली बसेको होटल नजिकै पनि तोडफोड र आगजनी भएको थियो। सुरक्षाको कारण टोली दुई दिनसम्म होटलमै बस्न बाध्य भएको थियो।
फुटबलरहरूको सुरक्षाका लागि बंगलादेश सरकार र बीएफएफले निरन्तर सम्पर्कमा रहेका थिए। होटलमा बन्दी अवस्थामा रहँदा खेलाडीहरूले त्यहाँको जिम प्रयोग गरेर समय बिताएका थिए।