काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ भाद्र २०८२
अ+
अ-

काठमाडौं। प्रधानन्यायधीश प्रकाशमान सिंह राउतले जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हकप्रति सम्मान गर्दै जस्तोसुकै परिस्थितिमा पनि न्यायको मार्गमा अविचलित रहने प्रतिबद्धता व्यक्त गरेका छन्। राउतले आज एक विज्ञप्ति जारी गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन्।

प्रधानन्यायधीश राउतले आम नागरिकहरूका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। सोहीअनुसार आगामी आइतबारदेखि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने काम सुरु हुने भएको छ।

प्रधानन्यायधीश राउतले २३ र २४ भदौको जेन-जीको आन्देलनका क्रममा मृत्युवरण गरेका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकटसमेत गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

राउतद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘भदौ २४ गते सर्वोच्च अदालतलगायत देशका अन्य अदालतहरूमा भएको आगजनी, ढुंगामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनहरूमा पुग्न गएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछौं। नागरिकहरूको आस्थाको केन्द्रको रूपमा रहेको अदालतहरूमा भएको आगजनी तथा विध्वंसात्मक आक्रमणले नागरिकहरूका महत्त्वपूर्ण दस्ताबेजहरू, अदालतमा रहेका उपकरणहरू, सवारी साधनलगायतमा अकल्पनीय क्षति पुग्न गएको छ। नेपालको न्यायिक इतिहासका महत्त्वपूर्ण दस्ताबेजहरू करिब करिब नष्ट हुन गएका छन्।’