१ हजार ४५५ पक्राउ, फर्किएनन् रवि लामिछाने
काठमाडौं। जेन-जी आन्दोलनका क्रममा देशभर कारागारबाट बिहीबारसम्म १२ हजार ८२५ जना कैदी फरार भएका छन्। मंगलबार नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाहिर निस्किएपछि देशव्यापी जेल तोडेर भाग्ने क्रम सुरु भएको थियो।
बिहीबार बिहान रामेछाप कारागारका कैदी भाग्न खोज्दा सेनाले गोली चलाएको छ। सेनाको गोली लागेर दुई जना कैदीको मृत्यु भएको छ भने १२ जना घाइते रहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए। घाइते ६ जनालाई धुलिखेल अस्पताल पठाइएको छ। अन्य ६ जना उपचारपछि ‘रेफर’ हुने अवस्थामा रहेको थापाले बताए। “अहिले स्थिति शान्तिपूर्ण छ,” थापाले भने।
प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म १२ हजार ८५२ जना कैदी भागेका छन्। एक हजार ४५५ जना पक्राउ परेका छन्। “भागेकाहरू पक्राउ गर्ने क्रम जारी छ,” केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले भने।
घिमिरेका अनुसार प्रहरी कार्यालयबाट ५७३ जना थुनुवा भागेका छन्, तीमध्ये धेरै काठमाडौंका प्रहरी कार्यालयहरूका छन्। उनका अनुसार, काठमाडौंको बानेश्वर, थानकोट, महाराजगन्ज वृत्त आगजनीबाट ध्वस्त छन्। “अहिलेसम्म सबै प्रहरीहरू समेत कार्यालय आउन नसकेको अवस्था छ,” घिमिरेले भने।
आन्दोलनका कारण कैलाली, सिरहा, कञ्चनपुर, सप्तरी, रौतहट, भीमफेदी, सिन्धुली, महोत्तरी कारागारबाट कैदी भागेका छन्। जिल्लागत विवरण प्रहरी र कारागार व्यवस्थापन विभागले आइनसकेको बताएको छ।
कतिपय ठाउँमा स्थानीयले भागेका कैदीलाई प्रहरीको जिम्मा लगाएका छन्। कतिपय आफैं पनि कारागार फर्केका छन्।
कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जिल्लागत विवरण आउने क्रममा रहेको बताए। “कारागारहरू जलेका छन्, डेटा संकलन भइरहेको छ, कतिपयलाई पक्राउ गरी ल्याइएको छ भने कतिपय स्वेच्छाले कारागार आइरहेका छन्,” शर्माले भने।
नख्खुको ध्यान केन्द्रमा बसेकाबाहेक सबै कैदी भागेका छन्। फरार नख्खु कारागारमा रहेका जनकपुर बम काण्डका नाइके सञ्जय शाह काभ्रेबाट पक्राउ परेका छन्।
सुन्धारा कारागारबाट साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’ पनि फरार भएका छन्।
सुरक्षामा नेपाली सेना खटिएपछि कारागारबाट कैदी भाग्ने क्रम केही रोकिएको छ। डिल्लीबजार कारागार तोडेर कैदी भाग्न खोजेपछि सेनाले रोकेको छ। “को, कस्ता व्यक्ति भागे भन्ने कुरा नामावली आएको छैन,” महानिर्देशक शर्माले भने।
प्रहरी प्रधान कार्यालयले भागेका कैदीहरूलाई सम्पर्कमा आउन अपिल गरेको छ। प्रवक्ता घिमिरेले विज्ञप्ति जारी गरी भागेकाहरूलाई नजिकको प्रहरी कार्यालयमा आएर सम्पर्क गर्न अनुरोध गरेका छन्।
भागेका कैदीबन्दीले अपराध गरेका घटना पनि सार्वजनिक हुन थालेका छन्। “जेलमा रहेका बन्दीले बाहिर गएर घटना घटाएको अवस्थामा जवाफदेही को हुने भन्ने ठेगान छैन, त्यसकारण त्यस्ता व्यक्ति समाजमा देखिए जनताले नै पक्राउ गरी प्रहरीको जिम्मा लगाउनु पर्ने परिस्थिति सिर्जना भएको छ,” पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीले भने।