काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।
बिहीबार साँझ ७ बजे उनीहरुबीच भेटवार्ता भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले नेपालन्युजलाई जानकारी दिए। सुरक्षा संवेदनशिलताका कारण उनीहरुबीच कहाँ भेट भएको हो भन्ने चाहिँ नेपालन्युजले नखुलाएको हो।
उनीहरुबीचको भेटवार्तामा संसदलाई कायम राखेर संविधानभित्रै बाट समस्याको समाधान खोज्ने बारेमा छलफल भएको छ। भेटमा सभामुखले संसद बोलाउने बारे राष्ट्रपतिलाई सुझाव दिएका छन् । राष्ट्रपतिले पनि संविधान भित्रै रहेर निकास खोज्न प्रयास गरिरहेको सभामुखलाई बताएको उनका सञ्चार विज्ञ अधिकारीले जानकारी दिए।
“राष्ट्रपतिले पनि विधिभन्दा बाहिरबाट अगाडि जान सकिदैन भन्नुभएको छ”, सभामुखलाई उदृत गर्दै अधिकारीले भने।
अन्तरिम सरकार गठनका लागि राष्ट्रपति पौडेलले सबै पक्षसँग छलफल अघि बढाएका छन्। राजनीतिक दलका नेताहरु सेनाको सुरक्षामा रहेको अवस्थामा राष्ट्रपति र सभामुखबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ।
जेन–जीको आन्दोलनमा समर्थन गरिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले संसद विघटन गर्नु पर्ने अभिव्यक्ति सार्वजनिक गरेका छन्। नागरिक समाजका अगुवा र कानूनविद्हरुले भने संविधान भित्रै बाट निकास खोज्नुपर्नेमा जोड दिएका छन्।
अन्तरिम सरकार गठनका बारेमा राष्ट्रपति पौडेलले आजै संविधान र कानूनका जानकार व्यक्तिहरुसँग पनि छलफल गरेका छन्। संविधानविद् विपिन अधिकारी, भीमार्जुन आचार्य र पूर्नमान शाक्यसँग राष्ट्रपतिले भेटेर सम्भावित संवैधानिक निकासका बारेमा सल्लाह लिएका छन्।
संविधानविद् र सभामुखसँग भेटेपछि राष्ट्रपति पौडेलले अन्तरिम सकारको प्रमुखको रुपमा प्रस्ताव गरिएको पूर्वप्रधानन्यायधीश सुशीला कार्कीसँग पनि छलफल गरेका छन्।
राष्ट्रपति पौडेलले कार्कीसँग पनि संविधानकै व्यवस्थाबाट अगाडि बढ्न सकिने सम्भावित उपायका बारेमा छलफल गरेको उनी निकट स्रोतले नेपालन्युजलाई जानकारी दिएको छ।