काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

“हामी जेन–जीले बगाएको रगत खेर नजाओस्, योगदानको कदर होस्”

२७ भाद्र २०८२
सिभिल अस्पतालमा उपचाररत जेन-जी आन्दोलनका घाइतेहरू। तस्बिरहरू : कल्पना भट्टराई/नेपालन्युज
अ+
अ-

२७ भदौ २०८२। मीनभवनस्थित निजामती (सिभिल) अस्पतालमा पुग्दा काभ्रेपलाञ्चोकका २५ वर्षीय प्रशन्न काफ्ले बेडमा पल्टिरहेका थिए। जेन–जी आन्दोलनले सत्ता उलटपुलट भएपछि अब के होला भन्ने चिन्ताले उनलाई सताइरहेको छ।

२३ भदौ २०८२ मा जेन–जीले सरकारको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलमा गरेको प्रदर्शनमा सहभागी भएका प्रशन्न त्यस दिनको हिंसात्मक घटनामा घाइते भए। शान्तिपूर्ण प्रदर्शनका लागि माइतीघरमा जम्मा भएका युवाहरूको भीड बानेश्वरस्थित संसद् भवनको गेटसम्म पुग्दा स्थिति एकाएक तनावग्रस्त बन्यो।

प्रदर्शनकारीले संसद् भवनको गेट भत्काउन खोजेपछि प्रहरीले अन्धाधुन्ध गोली चलायो। त्यस क्रममा हालसम्म ५१ जनाको मृत्यु भयो, १५ सयभन्दा बढी घाइते भए। प्रशन्न भने भाग्यवश बाँचे। उनको बायाँ खुट्टामा गोली लाग्यो। शल्यक्रियापछि गोली निकालिएको छ, र उनी पाँच दिनदेखि सिभिल अस्पतालको बेड नं. १२३ मा डिस्चार्जको पर्खाइमा छन्।

प्रशन्नको चाहना छ- अस्पतालको बेडमै भए पनि आन्दोलनले सार्थकता पाएको हेर्ने। तर, अन्तरिम सरकारको नेतृत्व चयनबारे भएको छलफल अझै टुंगोमा पुगेको छैन। “हामीले देश परिवर्तनका लागि खाएको गोली खेर नजाओस्,” प्रशन्न भन्छन्, “राजनीतिक दलभन्दा बाहिरका व्यक्तिले नेतृत्व गरोस्, युवाहरूले देशमै बसेर केही गर्ने वातावरण बनोस्।”

प्रशन्न काफ्ले

स्नातक पूरा गरेका प्रशन्न वैदेशिक रोजगारीमा जाने योजनामा थिए। तर, पछिल्लो समय उनको मन फेरियो। देशमै केही गर्नुपर्छ भन्ने सोचले व्यवसाय सुरु गर्ने तयारीमा थिए उनी। सामाजिक सञ्जाल टिकटकमार्फत जेन–जीको प्रदर्शनबारे थाहा पाएपछि उनी आन्दोलनमा सहभागी भए। गोली लागे पनि उनलाई दुःख लागेको छैन। “धेरै जेन–जी अहिले अस्पतालको बेडमा छन्, फ्रन्टलाइनमा बसेर गोली खाएका छन्,” उनी भन्छन्, “तर, अन्तरिम सरकार गठनको छलफलमा हामीलाई सहभागी नगराउँदा दुःख लाग्छ।”

घाइते भएपछि आफ्नो अवस्था सोध्न कोही नआएको उनको गुनासो छ। जेन–जी नेतृत्वकर्ताहरूले वास्तविक घाइतेको भावनालाई बेवास्ता गरेको र विभिन्न स्वार्थ समूहको चलखेलले आफूहरू उपेक्षामा परेको उनको आरोप छ।

देश दुखेपछि आन्दोलनमा

काठमाडौंको गोंगबु बस्ने १८ वर्षीय कृष्ण दाहाल तीन महिनादेखि ब्रिटिस आर्मीको तयारीमा थिए। सामाजिक सञ्जाल टिकटकमा पाएको सन्देशले उनलाई आन्दोलनमा पुर्‍यायो। कक्षा ११ मा अध्ययनरत कृष्णले दिउँसो–दिउँसो आर्मीको तयारी गर्थे। आन्दोलनको दिन उनले आमा सरितालाई आन्दोलनमा जाने बताएरै घरबाट निस्केका थिए। आमाले रोक्न खोजे पनि उनी रोकिएनन्। दिउँसो १:३० बजे उनको दाहिने हातमा गोली लाग्यो। “दुईपटक शल्यक्रिया गर्दा पनि गोलीका सबै छर्रा निकाल्न सकिएको छैन,” कृष्ण भन्छन्, “अझै एकपटक शल्यक्रिया गरेपछि डिस्चार्ज हुन्छु।”

चिकित्सकले उनलाई दुई महिना घरमै आराम गर्न सुझाएका छन्। उनी यतिबेला सिभिल अस्पतालमा उपचाररत छन्। अस्पतालको बेडबाट उनले देशमा मौलाएको बेथिति, भ्रष्टाचार र बेरोजगारीका कारण आन्दोलनमा सहभागी भएको बताए। “हामी जेन–जीले खाएको गोली खेर नजाओस्, हाम्रो योगदानको कदर होस्,” उनको भनाइ छ।

गोली लागेको भोलिपल्ट मात्र परिवारले उनको अवस्था थाहा पाए। आन्दोलनमा सहभागी उनका तीन साथीहरू पनि सँगै थिए। उनकी आमा सरिता उनको हेरचाहमा छिन्। डरका कारण उनका साथीहरूले परिवारलाई खबर गर्नसमेत सकेका थिएनन्।

सिभिल अस्पतालमा उपचाररत अधिकांश जेन–जी घाइतेका परिवारलाई उनीहरूको अवस्थाबारे जानकारी छैन। साथीहरूले उनीहरूको हेरचाह गरिरहेका छन्। कतिपय घाइते डिस्चार्जपछि साथीको कोठामा बस्न बाध्य छन्। अस्पतालले निःशुल्क उपचार गरे पनि डिस्चार्जपछि एम्बुलेन्स आफैं खोज्नुपरेको उनीहरूको गुनासो छ। अधिकांश घाइते काठमाडौंमा पढ्न आएका जिल्लाबाहिरका विद्यार्थी छन्। गोली लागेर अस्पताल पुगेका उनीहरूसँग एकसरो कपडामात्र छ। कतिपयको कपडा रगतले लतपतिएको अवस्थामा छ। केही संघ–संस्थाले घाइतेलाई कपडा, खाना र खाजा वितरण गरेका छन्। डिस्चार्ज भएका घाइतेहरूलाई खाने–बस्ने समस्याले सताएको उनीहरू बताउँछन्।

जेन-जी आन्दोलनका क्रममा सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएकाहरू

पशुपति क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत २२ वर्षीय उत्तम चलेसी आन्दोलनको पहिलो दिनदेखि सहभागी थिए। पहिलो दिन १९ जनाको मृत्यु भएपछि दोस्रो दिनको आन्दोलन झन् उग्र बन्यो। केही समूहले एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरे। त्यसलाई रोक्न प्रहरीले अश्रुग्यास र गोली चलायो। भाग्ने क्रममा फुटेको सिसाले उत्तमको हात र खुट्टामा चोट लाग्यो। तीन दिनदेखि उनी अस्पतालमा उपचाररत छन्। उनको अवस्थाबारे परिवारलाई जानकारी छैन। “हामी स्वस्फूर्त रूपमा आन्दोलनमा सहभागी भएका थियौं,” उनी भन्छन्।

उनका अनुसार, आन्दोलनमा सहभागी केही समूहले पार्टी कार्यालय र सरकारी भवनलाई निशाना बनाएर तोडफोड र आगजनी गरे। “हामी त सहभागी मात्र थियौं,” उत्तम भन्छन्। काठमाडौंमा सीए अध्ययनरत मनीष गौतम पनि उनको कुरामा सहमत छन्। दोस्रो दिन संसद् भवनमा तोडफोड र आगजनीको क्रममा उछिट्टिएको सिसाले उनको हातमा चोट लाग्यो। “आन्दोलन यति उग्र हुन्छ भन्ने लागेको थिएन,” मनीष भन्छन्, “केही व्यक्तिले भीडलाई उत्तेजित बनाए, कोही हतियार बोकेरै आएका थिए।”

जेन–जीको नाममा भएको आन्दोलनमा विभिन्न खालका व्यक्ति सहभागी थिए। “सिंहदरबार, अदालत, प्रशासन र वाणिज्य बैंकजस्ता सरकारी कार्यालय जलाउने हाम्रो योजना थिएन, त्यो अरूले गरे, बदनाम हामी जेन–जी भयौं,” मनीष भन्छन्। बेथिति, भ्रष्टाचार र बेरोजगारीविरुद्धको आन्दोलनमा अराजक समूहले फाइदा उठाएको उनको आरोप छ। “अब देशले राजनीतिक दलहरूलाई दोहोर्‍याउनुहुन्न,” उनी थप्छन्।

कञ्चनपुरका २३ वर्षीय लोकराज उपाध्याय पनि प्रहरीको गोलीबाट घाइते भएर सिभिल अस्पतालमा उपचाररत छन्। देशमा अस्थिरता, बेथिति र बेरोजगारीले वाक्क भएर युरोपमा वैदेशिक रोजगारीको योजना बनाएका थिए। तर, जेन–जीको आन्दोलनले व्यवस्था परिवर्तन हुन्छ भन्ने आशाले उनी प्रदर्शनमा सहभागी भए। अस्पतालमा बसेपछि दलका संगठनका युवाहरू भेट्न आएर स्वतन्त्र नेतृत्वको कुरा नगर्न र दलबिना सरकार गठनको औचित्य नभएको भन्दै दबाब दिएको उनको भनाइ छ। “हामीले गरेको आन्दोलनको फाइदा लिन खोजेको महसुस भयो,” लोकराज भन्छन्।

भक्तपुरको ‘स्कुल अफ ल’ मा बीए एलएलबी अध्ययनरत केशव लिम्बूले देशमा काम गर्ने वातावरण नभएका कारण आन्दोलनमा सहभागी भएको बताए। “पहिलेकै व्यवस्था दोहोरिन नदिन गोली खाएका हौं, अब देश युवाको काँधमा आउनुपर्छ,” उनी भन्छन्। तर, दलका कार्यकर्ताले अस्पतालमा आएर घाइते जेन–जीहरूलाई प्रभावित गर्न खोजेको उनको गुनासो छ।

घाइतेहरू लोकराज उपाध्याय र केशव लिम्बू

चितवन, नारायणगढमा फेन्सी व्यवसाय गर्ने ४४ वर्षीय आकाश परियारलाई पनि आन्दोलन क्रममा गोली लाग्यो। दशैं नजिकिएसँगै पसलमा सामान थप्न काठमाडौं आएका उनलाई आन्दोलनको खबरले आकर्षित गर्‍यो। आन्दोलनको पहिलो दिन भएको जेन–जीको मृत्यु र घाइते भएको खबरले आक्रोशित भएर उनी आन्दोलनमा सहभागी भए। “म पनि जेन–जीका बुवा, उनीहरूमाथि भएको दमन सहन सकिनँ,” आकाश भन्छन्। सत्ता परिवर्तन भएकोमा उनलाई खुशी लागेको छ। “व्यवस्थाको फेरबदलका लागि गोली खाँदा पनि दुःख लागेको छैन, देशले छिट्टै निकास पाओस्,” उनको भनाइ छ।

जेन–जी प्रदर्शनमा प्रहरीको गोली लागेर सिभिल अस्पतालमा मृत्यु भएका ६ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। शवको पहिचान भएपछि पोस्टमार्टम सुरु भएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मीले बताए। हाल अस्पतालमा ३२ जना उपचाररत छन्, २६ जना डिस्चार्ज भइसकेका छन्। एक बिरामीको अवस्था गम्भीर छ।

भदौ २३ देखि २७ गतेसम्मको तथ्यांकअनुसार, आन्दोलनमा घाइते भएर सिभिल अस्पताल ल्याइएका ४५६ बिरामीमध्ये ४४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ। ३६३ जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।