काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ भाद्र २०८२
अ+
अ-

काठमाडौं । जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर पुगेका व्यक्तिहरूको सङ्ख्या पहिलोपटक झण्डै एक लाख पुगेको छ। शुक्रबार सार्वजनिक तथ्याङ्कअनुसार शतायुको यो ऐतिहासिक उचाइमा करिब ९० प्रतिशत महिला रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार सेप्टेम्बर १ सम्म देशभर ९९ हजार ७६३ जना शतायु दर्ता भएका छन्। तीमध्ये ४ हजार ६४४ जनाको उमेर १०५ वर्षभन्दा माथि छ, जसमा महिलाको हिस्सा ८८ प्रतिशत रहेको छ।

जापानकी सबैभन्दा वृद्ध शिगेको कागावा ११४ वर्ष पुगेकी छिन्। नारा क्षेत्रमा बस्ने उनी ८० वर्षसम्म स्त्रीरोग विशेषज्ञ र सामान्य चिकित्सकका रूपमा सक्रिय थिइन्। “घर–घरमा गएर बिरामी जाँच गर्ने क्रममा धेरै हिँड्नुपर्ने हुन्थ्यो, जसले खुट्टा बलिया बनाए यही मेरो जीवनशक्तिको आधार हो,” कागावाले बताइन्।

विश्वकै सबैभन्दा वृद्धको उपाधि भने हाल बेलायती महिला एथेल क्याटरहमले पाएकी छन्। उनी अगस्टमा ११६ वर्षकी पुगेकी हुन्। ब्राजिलकी नन इना क्यानाबारो लुकासको निधनपछि क्याटरहमलाई यो उपाधि दिइएको हो।

शतायुको बढ्दो सङ्ख्याले जापानको जनसांख्यिकीय चुनौतीलाई अझ स्पष्ट पारेको छ। वृद्धजनको अनुपात बढ्दै जाँदा स्वास्थ्य सेवा र सामाजिक सुरक्षामाथि दबाब बढिरहेको छ भने घट्दो श्रमशक्तिले समस्यालाई गम्भीर बनाइरहेको छ।

अधिकारीहरूले जनाएअनुसार २०२४ मा मात्र जापानको कुल जनसङ्ख्या ९ लाखभन्दा बढीले घटेको छ। प्रधानमन्त्री शिगेरु इशिबाले यसलाई ‘शान्त आपतकाल’ को संज्ञा दिँदै लचिलो कार्यसमय र निःशुल्क डे–केयर जस्ता परिवारमैत्री नीति अघि सारेका छन्, तर अहिलेसम्म ठोस परिणाम प्राप्त भएको छैन।