काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

व्यक्तिवृत्त

मारवाडी व्यापारी समुदायबाट कठोर साधनाले संगीतमा सिद्धहस्त राजु अग्रवालको संघर्ष–कथा

२८ भाद्र २०८२
वरिष्ठ तबलावादक राजु अग्रवाल। तस्बिर : बिक्रम राई
अ+
अ-

७० वर्षीय तबलावादक राजु अग्रवालको बिहानी एकनाशे चक्रमा चल्छ। उनी बिहान ४ बजे उठ्छन्। गर्मी होस् वा जाडो चिसै पानीले नुहाउँछन्। गुह्येश्वरीमाथि उक्लेर मृगस्थलीमा एक घन्टा ध्यान र प्राणायाम गर्छन्। चराको चिरबिर, जंगलको साइँसुइँ र घन्टीको ट्याङटुङ सुन्दै पशुपति मन्दिर झरेर एक फन्को लगाउँछन्। र, मैजुबहाल घर फर्किन्छन्।

यो क्रम चलेको तीन दशक भयो। २०७० सालमा अवकाश पाएपछि ‘रेडियो नेपाल’ जाने क्रम टुटेको भने १२ वर्ष भयो। अवकाशपछि उनी स्टुडियोतिर फर्केनन्। अचेल उनी काठमाडौं, भक्तपुर र पाटनका आश्रम वा डबलीमा भेटिन्छन्। २८ असारमा उनी गौशालाको श्री रामयोग पशुपति संन्यास आश्रममा भेटिए।

हामी त्यहाँ पुग्दा उनी आलोपालो तबला र हार्मोनियम बजाएर आफ्नै संगीतमा रामा मण्डलले गाएको भजन गाउँदै थिए :

बाटो देखाइदेऊ कृष्ण,

बाटो देखाइदेऊ।

ठाउँ फेरिएजस्तै तबला बजाउने प्रयोजन पनि फेरिएको छ। भन्छन्, “पहिला अरूलाई सुनाउन तबला बजाउँथेँ। अचेल आफैंलाई सुनाउन बजाउँछु।”

६ दशकअघिका राजु अर्कै थिए। संगीत सिकेर अरूका अगाडि प्रस्तुत गर्न पाए क्या गजब हुन्थ्यो भन्ने लालसा थियो। यस्तो चाहना घरनजिकैको मच्छिन्द्रबहाल डबलीमा हुने सन्ध्याकालीन भजन र शास्त्रीय संगीतको माहोलले उत्पन्न गराएको थियो।

संगीतको लय–तालमा रमाउँदा मानिसले समय, परिस्थिति र आफैंलाई बिर्सन्छ। राजुलाई पनि संगीतले यसै गरी सम्मोहित गरेको थियो। संगीत सुन्दासुन्दै उनी घर जाने समय बिर्सन्थे। कहिलेकाहीँ बाटै बिर्सन्थे।

मच्छिन्द्रबहाल डबलीमा प्रस्तुति दिन एकसेएक उस्ताद आउँथे। मनोरञ्जनको खासै विकल्प नभएको त्यो समयमा संगीत सुन्नेको घुइँचो लाग्थ्यो। राजु पनि त्यही भीडमा मिसिएर संगीतको आनन्दमा डुब्थे।

उनले पहिलो पटक तबला देखेको त्यहीँ हो। आफूजस्तै त्यो फुच्चे बाजाले निकाल्ने ध्वनिको कम्पनले उनको हृदयमा अजीब तरंग दिन्थ्यो। हरेक दिन तबलाको बोल धा, ति, तिन, न…को ध्वनिमा लट्ठिने उनको आदत बनेको थियो। भन्छन्, “जति सुने पनि अझै सुनिरहूँ लाग्ने। म कहाँ छु, कति बजे घर पुग्नुपर्ने केही याद हुन्थेन।”

घर पुग्दा अभिभावकको ‘कहाँ गएको? के गरेर आएको?’ जस्ता प्रश्न बर्सन्थे, जसलाई उनी सुनेर पनि नसुनेझैं गरिदिन्थे।

बिस्तारै तबलाप्रति राजुको कौतूहल र आकर्षण उस्तादहरूले समेत चाल पाए। तीमध्ये उस्ताद दिलीपनाथ योगीले एक दिन राजुलाई स्टेजमै बोलाएर भने, “लौ बस, म तिमीलाई तबला बजाउन सिकाउँछु।”

राजुको खुसीको सीमा रहेन। पहिलो पटक तबला स्पर्श गरेको क्षण सझिन्छन्, “त्यो सोच्दै नसोचेको घटना थियो। तबला छुन पाए कस्तो होला भनेर सोच्थेँ, स्टेजमा बोलाउँदा नर्भस भएँ।”

वरिष्ठ तबलावादक राजु अग्रवाल। तस्बिर : बिक्रम राई

त्यसपछि उनी श्रोता र दर्शकमा सीमित रहेनन्। थोरै उत्साह र भयका साथ उनका कलिला औंला तबलामा नाच्न थाले। उस्तादहरूको निगरानीमा एक दिन, दुई दिन गर्दै थाहै नपाई उनको तबलावादक बन्ने यात्रा सुरु भयो।

त्यसबेला इन्द्रचोकदेखि पाटन, भक्तपुरसम्मका डबलीहरूमा मच्छिन्द्रबहालमा जस्तै सांगीतिक कार्यक्रम भइरहन्थे। नेपाल भाषामा संगीत सम्मेलन हुन्थ्यो। हिन्दी भाषाका भजन गाइन्थ्यो। राजुलाई उस्तादहरूले ती सबै ठाउँमा लिएर हिँड्न थाले। इन्द्रचोकमा हरेक शनिबार हुने कार्यक्रम, भैरवनाथ गुल्मअगाडिको रौनियार भजन मण्डलजस्ता ठाउँमा नियमित तबला बजाउन थाले। भन्छन्, “सबैतिर मलाई चिन्न थाले। त्यतिबेला म १०/१२ वर्षको थिएँ।”

शहीद शुक्र विद्यालयमा पढ्ने राजु हाफ टाइममा समेत टेबल ठटाएर बस्थे। तालको टाइमिङ याद भए पनि पढाइमा उनको ध्यान कम हुँदै गयो। एक वर्ष त पढाइ नै बिग्रियो।

राजुका बुवा भेडासिंहका कपडा व्यापारी थिए। व्यापारिक पृष्ठभूमि भएको मारवाडी परिवारका सदस्य राजु संगीतमा लाग्दा उनको परिवार असन्तुष्ट थियो। तबलाले पढाइमै असर पार्न थालेपछि घरमा कडाइ बढ्दै गयो। गाली खानु, कुटाइ खानु सामान्य बन्न थाल्यो।

हुन त आज पनि संगीतको कुरा गर्दा राजुको स्मृतिमा घरभित्रकै भजनको माहोलको झझल्को आउँछ। घरमा हजुरआमा, आमा, बुवा र घरका सदस्यहरू मिलेर ताली बजाउँदै भजन गाउँथे। उनी पनि रमाउँदै नक्कल गर्थे। तर, घरबाहिर भजन सुन्न जान थालेपछि भने घरका मान्छेले आपत्ति जनाउन थाले। उनको कलिलो मस्तिष्कले घरभित्र संगीत चल्ने, भजन चल्ने तर घरबाहिर तबला बजाउने छोरा घरमा नचल्ने कारण ठम्याउनै सकेन। “संगीतमा लागेकै कारण घरका मान्छेले मलाई अस्वीकार गरे,” मलिन स्वरमा उनी सुनाउँछन्।

हरेक दिनको कचकच र तिरस्कारले चित्त दुख्थ्यो, हृदय छियाछिया हुन्थ्यो। उनीसँग बन्द कोठामा भक्कानिएर रुनुको विकल्प थिएन। तर असहज परिस्थितिमा पनि उनले तबला बजाउन भने छुटाएनन्।

गाली वा पिटाइ खानुसम्म त उनले सहेकै थिए। अभिभावकले २०३२ सालमा एसएलसी परीक्षाको फारम भर्ने बेला ‘तँ पढ्दैनस्। फारम भर्ने पैसा किन दिनू ?’ सम्म भने। त्यसबेला फारम भर्न १५ रुपैयाँ चाहिन्थ्यो। उनले नजिकका साथीहरूसँग मागेरै फारम भरे।

राजुलाई धेरैले नारायणगोपालको गीतमा तबला बजाउने वादकका रूपमा समेत चिन्ने गरेका छन्। यसमा उनी गर्व गर्छन्।

त्यसपछिका दिन उनका लागि थप चुनौतीपूर्ण बने। घरका मान्छेले घोषणा गरिदिए, “जे गर्नु छ आफ्ना लागि आफैं गर।”

उनको किशोर मन–मस्तिष्कमा परिवारको यो स्तरको अवहेलना सहने क्षमता विकास भइसकेको थिएन। उनले घरको साथको अपेक्षा बिस्तारै त्याग्दै गए। घरकाले पनि ‘निस्केर गइदिए हुन्थ्यो’ भनिरहे। राजुले पनि पटक–पटक घर छाड्ने प्रयास गरिरहे। केही वर्ष यत्तिकै बिते।

घरकाले साथ छोड्दा बाहिरकासँग आश बढ्छ। राजु पनि नजिकका केही साथीसँग आश्रित हुन थाले। भन्छन्, “मेरो एक जना गुजराती साथी थियो, पुराना भाँडा र कपडा बेच्थ्यो। उसैले मेरो कलेज फि तिर्दिन्थ्यो।”

अन्ततः राजुले २०३९ सालको एक दिन एकजोर लुगा र तबला ब्यागमा कोचेर १२ बजे राति घर छाडे। “कि संगीत छोड्नुपर्थ्यो कि घर, बरु संसारै छोड्दिन्छु, संगीत छोड्दिनँ भनेर मैले घर छाडेँ,” उनी भन्छन्।

घर छोडेर हिँडेपछिका दुई रात उनले मुटु चिस्याउने जाडोमा रत्नपार्कको बेन्चमा काटे। बिहानदेखि बेलुकासम्म भोकै हिँडे। धन्न केही असल मित्र थिए, जसले संकटमा सहयोग गरे। सबैभन्दा ठूलो साथीचाहिँ तबला नै भयो।

वरिष्ठ तबलावादक राजु अग्रवाल। तस्बिर : बिक्रम राई

उस्ताद दिलीपनाथ योगीले राजुलाई पहिलो पटक तबलामा हात राख्न सिकाएका थिए। राजुको क्षमता बुझेका उनले नै व्यवस्थित रूपमा तबला सिकाए। २०२६ सालतिर १४/१५ वर्षको उमेरमा राजु गुरुको पछि लागेर ‘रेडियो नेपाल’ जान थाले। उनले ‘नजिक भएर पनि’ बोलको गीतमा तबला बजाउने अवसर पाए। अरबिन्द मालाकारको स्वर र चन्द्रराज शर्माको संगीतमा रेकर्ड भएको त्यो गीत नै उनको पहिलो रेकर्डेड काम बन्यो। पारिश्रमिक नपाए पनि दंग परे।

केही समयपछि उनले ‘रेडियो नेपाल’मा एउटा गीतको पाँच रुपैयाँ पारिश्रमिक पाउने गरी करारमा काम गर्ने अवसर पाए। ‘रेडियो नेपाल’मा हरेक दिन कुनै न कुनै गीतको रेकर्डिङ हुन्थ्यो। त्यहाँ योगेश वैद्य, प्रेमध्वज प्रधान, अरूणा लामा, तारादेवी, शान्ति ठटाल, नातिकाजी, शिवशंकर, फत्तेमानलगायत सर्जक आउँथे।

बिहान १० बजेदेखि दिउँसो दुई–तीन बजेसम्मको समय रेडियोमै बित्न थाल्यो। काम गर्ने क्रममा मदन परियार, सीके रसाइली, प्रकाश गुरुङ आदि उनका मिल्ने साथी बने। रेडियोमा सबैभन्दा कम उमेरका सदस्य उनी नै थिए।

रेडियो छिरेपछि उनलाई नयाँ कुरा थाहा भयो। “बाहिर यत्तिकै बजाउनु र टिममा फ्रेममा बसेर बजाउनुमा धेरै फरक रहेछ। बाहिर बजाउँदा कहाँ के नमिलेको थाहा हुन्थेन,” भन्छन्, “रेडियोको स्टार्न्डड अनुसारको गुणस्तरका लागि आफूलाई तयार गर्नुपर्ने रहेछ।”

रेडियोमा काम गर्दा सुरुवाती चरणमा चुनौतीपूर्ण अवस्था भोगेको उनी बताउँछन्। कतिले यो मान्छे हुँदैन समेत भन्दिन्थे। तर, यस्तो बेला उनी गुरुवचन सम्झन्थे, ‘सिक्ने क्रममा बाधा आउँछ, मनमा ईर्ष्या नपाल्नू, तालिममा मख्ख नपर्नू।’

गुरुको माया र निर्देशन पालना गर्दै उनले ‘रेडियो नेपाल’मा ३४ वर्ष बिताए– करार, अस्थायी हुँदै स्थायी जागिरे भएर। वाद्यवादकहरूले संगीत संयोजकको निर्देशनमा काम गर्नु पर्थ्यो। दैनिक दुई–चार गीत रेकर्ड भइरहन्थे। त्यसरी काम गर्दा अघिल्लो गीतभन्दा पछिल्लो गीतमा ‘प्रिल्युड’ वा ‘इन्टरल्युड’मा तबला कति बजाउने, कसरी बजाउने भन्नेबारे सचेत भएर काम गरिन्थ्यो। ‘एनालग रेकर्डिङ’को जमानामा यस्तो परिमार्जन ठाउँको ठाउँ गर्न सक्नु पर्थ्यो। राजु यसमा सिद्धहस्त बने। पछि, उनले संगीत विभागका वरिष्ठ कर्मचारीका रूपमा संगीत निर्देशकको भूमिकासमेत निर्वाह गरे।

राजु जुन समयमा ‘रेडियो नेपाल’मा प्रवेश गरे, त्यो आधुनिक संगीतको उत्कर्षकाल थियो। त्यहाँ रेकर्ड भएका हजारभन्दा बढी गीतमा तबला बजाएका उनले थुप्रै गीतमा तबलामा साथ दिए।

धेरै कालजयी गीतमा उनको नाम अंकित छ। उकाली ओरालीहरूमा, तिमी जुन रहरले, एउटा मान्छेको मायाले कति, उडायो सपना सबै हुरीले जस्ता सदाबहार गीत केही उदाहरण मात्रै हुन्। नारायणगोपालको ७०/८० प्रतिशत गीतमा तबला बजाएको बताउने राजु भक्तराज आचार्यका अधिकांश आधुनिक गीत र भजनमा तबलावादकको भूमिका निर्वाह गरेका छन्। भक्तराज आचार्यको जीवनीमा बनेको सिनेमा ‘आचार्य’मा उनले तबला बजाएको दृश्यसमेत समेटिएको छ। के घर, के डेरा र २५ वसन्त जस्ता फिल्ममा समेत उनले तबला बजाएका छन्।

२०४५ सालमा काठमाडौंमा नारायणगोपालको पहिलो प्रत्यक्ष गायन कार्यक्रम ‘स्वर्णिम सन्ध्या’ आयोजना भएको थियो। नारायणगोपालको जीवनकै एउटा महत्त्वपूर्ण प्रस्तुति मानिने त्यस कार्यक्रमको भिडियो ‘नेपाल टेलिभिजन’को युट्युब च्यानलमा हेर्न सकिन्छ। त्यहाँ उनलाई सेतो सर्ट र चस्मा लगाएर नारायणगोपालको दाहिनेपट्टि बसेर तबला बजाइरहेको देखिन्छ। भन्छन्, “स्वर्णिम सन्ध्या भव्य भएको थियो। यसका लागि झन्डै दुई हप्ता अभ्यास गरेका थियौं।”

संगीत उनका लागि शोखमात्र थिएन, गर या मरको विषय बन्यो। “एकबारको जुनी छ, मसँग दुई बाटा थिए– मर या गर ! संगीतमा लागेर धेरैको मन जितेँ, परिवारको मन जित्न सकिनँ,” उनी भन्छन्।

राजुलाई धेरैले नारायणगोपालको गीतमा तबला बजाउने वादकका रूपमा समेत चिन्ने गरेका छन्। यसमा उनी गर्व गर्छन्। नारायणगोपालसँग उनको चिनजान रेडियो प्रवेशअघि नै भएको थियो। किलागलका नारायणगोपाल मच्छिन्द्रबहालको डबलीमा बेलाबखत झुल्किन्थे। नारायणगोपालको मुड चल्दा मेहदी हसनका गजल पनि गाइदिन्थे। उनी सम्झन्छन्, “त्यतिबेलासम्म उहाँ हिट भइसक्नुभएको थियो। उहाँ नजिक हुँदा वरिष्ठ कलाकारका सामु उभिएको छु भन्ने कुराले धक लाग्थ्यो।”

‘रेडियो नेपाल’को स्टुडियोमा नारायणगोपालका गीतहरू रेकर्ड गर्ने क्रममा धेरै पटक सँगै काम गर्दा पनि राजुको धक फुकेन। भन्छन्, “नारायणगोपाललाई मैले सधैं गुरुको स्थानमा राखेर हेरेँ। उहाँको आशीर्वाद छ ममाथि, जुन सधैं रहिरहन्छ।”

नारायणगोपाल भने राजुलाई ‘साहुजी’ भनेर बोलाउँथे। साहुजी बन्न नसकेका राजु त्यो सम्बोधन सुनेर मुसुक्क हाँसिदिन्थे। राजा वीरेन्द्रको जन्मोत्सवमा नारायणगोपालसहित तत्कालीन समयका धेरै चर्चित कलाकारसँग नेपालका विभिन्न ठाउँमा गरेको यात्रा राजुका लागि आज पनि विशेष छ।

नेपालका धेरै दिग्गज संगीतज्ञसँग काम गरेका राजुले दीपक जंगमको संगीत र पाकिस्तानी गजल गायक गुलाम अलीको स्वरमा चर्चित नेपाली गीतमा समेत तबलावादनको सीप देखाएका छन्। धेरैको मुखमा झुन्डिने गाजलु ती, लोलाएका ती तिम्रा, किन किन तिम्रो तस्बिरके छ र दिऊँ जस्ता सदाबहार गीतमा उनको नाम र काम जोडिनु सामान्य कुरा होइन।

वरिष्ठ तबलावादक राजु अग्रवाल। तस्बिर : बिक्रम राई

“गुलाम अलीको गीतमा तबला बजाउनु असामान्य कुरा थियो। ममात्रै हैन, रेकिर्डिङ स्टुडियोभित्र प्रवेश गर्ने बेला मजस्ता सबै हच्किएका थिए,” उनी भन्छन्, “नातिकाजीले गुलाम अली पनि हामीजस्तै मान्छे हो। अर्कै ग्रहबाट आएको त होइन नि, डराउनु पर्दैन भन्दै हौसला दिनुभएको थियो।” चर्चित पिनाज मसानीको काठमाडौंमा भएको कन्सर्टमा तबलावादकका रूपमा राजु नै छनोट हुनुले पनि उनको क्षमता उजागर गर्छ।

संगीतकार दीपक जंगम राजुलाई कुशल तबलावादकका साथै सबैसँग मिलेर काम गर्न सक्ने गजबको खुबी भएको कलाकार मान्छन्। “संगीतमा रिदमको भूमिका महत्त्वपूर्ण हुन्छ। नेपालका लगभग सबै ठूला र राम्रा सर्जकको संगीतमा तबला बजाउनुभएको राजुजीको योगदान ती गीतहरूमा पनि हुने नै भयो,” जंगम भन्छन्, “मैले चिनेकै चार दशक भइसक्यो। उहाँको सांगीतिक योगदान इतिहास बनिसक्यो। अहिले पनि सानाठूला कार्यक्रम नभनी उहाँले धेरै भजन कार्यक्रमको नेतृत्व गरिरहनुभएको छ। वादकमात्र नभई भजन र गजल पनि राम्रो गाउनुहुन्छ।”

उनको प्रतिभाको कदर गर्दै उनलाई गएको ११ असारमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८१’ प्रदान गरियो। पुरस्कार ग्रहण गर्दैगर्दा राजुका आँखा रसाए। यसअघि राजुले ‘गोरखा दक्षिणबाहु’, ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान’, ‘तारादेवी पुरस्कार’ आदि प्राप्त गरिसकेका छन्।

यस्ता मानसम्मान प्राप्त गर्ने ठाउँसम्म पुग्न राजुले जीवनमा धेरै गुमाएका छन्। संगीत उनका लागि शोखमात्र थिएन, गर या मरको विषय बन्यो। “एकबारको जुनी छ, मसँग दुई बाटा थिए– मर या गर! संगीतमा लागेर धेरैको मन जितेँ, परिवारको मन जित्न सकिनँ,” उनी भन्छन्।

कठोर संघर्षका बाबजुद मारवाडी पृष्ठभूमिबाट संगीतमा लागेर सफलताको स्वाद चाख्ने राजु आफूलाई अपवाद मान्छन्। फरक संस्कृतिका उनी नेवाः संस्कृतिको प्रभावमा हुर्के। त्यसैले नेवारी गीतहरूमा पनि तबला बजाए। “अन्य समुदायले प्रशंसा र इज्जत दिँदा मारवाडी भएकैले मेरो परिवारले भने सधैं मानसिक यातना दियो। उनीहरू लक्ष्मीपूत्र, म सरस्वतीपूत्र!,” उनी मनलाई शान्त पार्दै भन्छन्।